क्रिकेट

नेपाल २०२४ को टी- ट्वान्टी विश्वकपमा छनोट भए आश्चर्य नमान्‍नुस् !

सञ्जीव शाह |
कात्तिक १५, २०८० बुधबार १२:२० बजे

तस्बिर : क्यान

काठमाडौँ- सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपअन्तर्गतको एसिया क्षेत्रको अन्तिम चरणको छनोटका खेलहरू नेपालमा जारी छ ।

नेपालमा जारी छनोटको फाइनलमा प्रवेश गर्ने दुई टोलीले अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा स्थान सुरक्षित गर्नेछन् ।


टी-ट्वान्टी विश्वकपमा २० टिमको सहभागिता रहने छ । आयोजकको नाताले अमेरिका र वेस्ट इन्डिजसँगै अस्ट्रेलिया, इंग्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्यूजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, अफगानिस्तान, बंगलादेश, आयरल्यान्ड, स्कटल्यान्ड, पपुवा न्यूगिनी र क्यानाडाले विश्वकपमा स्थान सुरक्षित गरिसकेका छन् ।

नेपालमा जारी छनोटबाट २ तथा नामिबियामा नोभेम्बर २२ देखि ३० तारिखसम्म हुने छनोटबाट थप दुई टिमले विश्वकपमा स्थान बनाउने छन् ।

नेपालको छनोट प्रतियोगिताअन्तर्गत आयोजक नेपालसँगै ओमानले समूह ‘ए’ बाट सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् । यस समूहमा रहेका सिंगापुर र मलेसिया भने प्रतियोगिताबाट बाहिरिएका छन् ।

समूह ‘बी’ मा रहेका युनाइटेड अरब इमिरेट्स (यूएई) सँगै बहराइन र हङकङको सेमिफाइनल पुग्ने सम्भावना कायमै रहँदा कुवेत भने प्रतियोगिताबाट बाहिरिएको छ ।

छनोटअन्तर्गत बिहीबार हुने चार वटा खेलले सेमिफाइनलमा नेपालविरुद्ध खेल्ने टिमको टुंगो लाग्नेछ । अर्कोतर्फ नेपालले समूह विजेता बन्‍नका लागि बिहीबारको खेलमा ओमानलाई पराजित गर्नुपर्नेछ ।

तर सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका कारण ओमानविरुद्धको खेल नेपालका लागि आफ्ना खेलाडीको क्षमता परीक्षण तथा आगामी खेलका लागि तयारीको रुपमा रहने निश्चित छ ।

किनभने फाइनलमा स्थान सुरक्षित गर्न तथा विश्वकपमा स्थान बनाउन नेपालले सेमिफाइनल खेल जित्नैपर्ने हुन्छ । अन्यथा सन् २०२२ को टी-ट्वान्टी क्रिकेट विश्वकपका लागि भएको छनोटअन्तर्गत सेमिफाइनलमा यूएईसँग ६८ रनको पराजय भोगेपछि नेपालले विश्वकपमा स्थान बनाउन नसकेको अवस्था आउन सक्ने सम्भावना रहन्छ ।

ओमानमा आयोजना भएको उक्त छनोट प्रतियोगिताअन्तर्गत नेपालले समूह चरणमा ओमान, क्यानाडा र फिलिपिन्सलाई हराउँदै समूह चरणका तीन वटै खेल जितेको थियो । तर विश्वकप छनोटका लागि महत्वपूर्ण मानिएको सेमिफाइनलमा नेपाल यूएईसँग स्तब्ध हुन पुगेको थियो ।

तर अहिलेको अवस्था भने फरक छ । ओमानमा भएको टी-ट्वान्टी विश्वकप छनोटपछि नेपालले अहिलेसम्म २० वटा टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलिसकेको छ ।

नेपालले खेलेका पछिल्ला २० मध्ये १६ वटा टी-ट्वान्टी खेलमा जित हात पार्दा केवल ४ खेलमा मात्र पराजय भोगेको छ ।

चीनमा भएको १९ औँ एसियन गेम्सअन्तर्गत भारतसँग केवल २३ रनको पराजय भोगेको थियो भने अक्टोबर २७ मा भएको त्रिकोणात्मक टी-ट्वान्टी सिरिजको फाइनलमा यूएईसँग ४ विकेटको पराजय भोगेको थियो । त्यसबाहेक नेपालले गत वर्ष अगस्टमा केन्यासँग उसैको घरेलु मैदानमा २ खेल हारेको थियो ।

त्यसैगरी नेपालले २० मध्ये १२ वटा खेल आफ्नै घरेलु मैदानमा खेलेको छ । घरेलु मैदानमा खेलेका १२ मध्ये नेपालले केवल एक खेलमा मात्र पराजय भोगेको छ ।

घरेलु मैदानमा नेपालले यूएईसँग एक खेलमा पराजय भोगेको थियो । त्यो पनि त्रिकोणात्मक सिरिजको फाइनलमा । तर त्यसअघि लिग चरणमा नेपालले यूएईलाई दुवै खेलमा पराजित गरेको थियो । त्रिकोणात्मक सिरिजअन्तर्गत नै नेपालले हङकङलाई पनि दुवै खेलमा पाखा लगाएको थियो ।

त्यसैले घरेलु मैदानमा नेपालले पछिल्ला १२ टी-ट्वान्टी खेलमा गरेको प्रदर्शन हेर्दा नेपाल फाइनलमा पुग्दा आश्चर्य मान्‍नुपर्ने अवस्था छैन र फाइनलमा पुगेसँगै नेपालले विश्वकपमा स्थान बनाउँदा पनि आश्चर्यजनक सफलता हुने छैन ।

तर १० वर्षपछि टी-ट्वान्टी विश्वकपमा छनोट भएको खण्डमा नेपाली क्रिकेटले थप नयाँ उचाइ चुम्ने र सरकार तथा नीजि क्षेत्रको ध्यानाकर्षण गर्ने निश्चित छ ।

यसअघि नेपालले पहिलो पटक सन् २०१४ मा बंगलादेशमा आयोजना भएको टी-ट्वान्टी विश्वकप खेलेको थियो ।

बंगलादेशमा भएको विश्वकपमा नेपालले अफगानिस्तान र हङकङलाई पराजित गरेको थियो भने बंगलादेशसँग मात्र पराजित भएको थियो ।

बंगलादेशमा भएको विश्वकपमा १६ टिमको सहभागिता रहेको थियो भने वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने विश्वकपमा २० टिमको सहभागिता हुँदैछ ।

विश्वकप खेल्ने टिम संख्या र नेपालले पछिल्लो समय क्रिकेटमा गरेको प्रदर्शन र प्रगति हेर्दा नेपाल विश्वकपमा छनोट हुनु आवश्यक छ तर छनोट भए आश्चर्य मान्‍नुपर्ने अवस्था भने हुने छैन ।


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x