क्रिकेट

क्रिकेटले नेपालीको मुहारमा खुसी भरिदिएको वर्ष २०७९

सञ्जीव शाह |
चैत २४, २०७९ शुक्रबार १६:४७ बजे

काठमाडौँ- वर्ष २०७९ को अन्त्यतिर नेपाली क्रिकेटले समग्र नेपालीकै मुहारमा खुसीको सञ्चार गरिदियो । कारण थियो, कुनै समय असम्भव झै देखिएको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगिनु तथा विश्वकप छनोटका लागि स्थान सुरक्षित गर्नु ।

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमले रुपमा आगामी चार वर्षका लागि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतामात्र जोगाएन, जिम्बाब्वेमा जुन १८ देखि जुलाई ९ तारिखसम्म आयोजना हुने २०२३ क्रिकेट विश्वकप छनोटमा स्थान सुरक्षित गर्‍यो । जुन केही महिना अघिसम्म लगभग असम्भव नै देखिन्थ्यो ।


खासमा आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत शीर्ष ३ मा परेपछि नेपालले विश्वकप छनोटमा स्थान सुरक्षित गर्‍यो । एकदिवसीय मान्यता जोगाउँदा तथा विश्वकप छनोटमा स्थान बनाउने क्रममा नेपालले आश्चर्यजनक रुपमा आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को अन्तिम १२ मध्ये ११ खेलमा जित हात पारेको थियो ।

लिग-२ अन्तर्गत ३६ मध्ये नेपालले २४ एकदिवसीय अन्तर्राष्ट्रिय खेल २०७९ मै खेल्यो । २४ मध्ये नेपालले नेपालले १३ खेलमा भने जित हात पार्दा ९ खेलमा पराजय भोग्यो । नेपालले दुई खेलमा भने एक-एक अंक बाँड्नु पर्‍यो । समग्रमा नेपालले ३६ मध्ये १९ खेल जित्नुका साथै दुई खेलमा अंक बाँडेर ४० अंकसहित लिग-२ को सात टिममध्ये शीर्ष ३ मा स्थान सुरक्षित गर्‍यो ।

नेपालले लिग-२ अन्तर्गतको पछिल्ला १२ मध्ये ११ खेल जित्दा आठ खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जित्यो त्यो पनि हजारौ दर्शकसामु ।

नेपालको खेल हेर्न दर्शकहरु मैदानभित्रबाट मात्र नभएर त्रिवि क्रिकेट मैदान वरपर रहेका रुख चड्नसमेत भ्याए । त्रिवि क्रिकेट मैदानमा नेपालले कायम गरेका कैयौं कीर्तिमानको साक्षी समेत नेपाली दर्शकहरु हुन पाए । समग्रमा भन्नु पर्दा कैयौ उतारचढावबाट गुज्रिरहे पनि नेपाली क्रिकेटले नेपालीको मुहारमा मुस्कान भरिदियो ।

एकदिवसीय मान्यता जोगाउने तथा विश्वकप छनोटमा स्थान सुरक्षित गर्ने क्रममा युनाइटेड अरब इमिरेट्स (युएई) माथि कीर्तिमानी १ सय ७७ रन पराजित गर्दा नेपालले युएईलाई ७१ रनमै समेटेको थियो । त्यसैगरी, पपुवा न्यूगिनी (पीएनजी) लाई ९ विकेटले पराजित गर्दा ९५ रनमै समेटेको थियो ।

नेपालले पीएनजीविरुद्धको एक खेलमा २ सय ९७ रन बनायो, जुन नेपालका लागि एकदिवसीयमा सर्वाधिक रन थियो । सोही खेलमा आशिफ शेखले १ सय १० रन बनाए ।

यसै वर्ष नामिबियाविरुद्ध कीर्तिमानी २ सय ८६ रनको लक्ष्य पूरा गर्दा कुशल भुर्तेलले १ सय १५ रन बनाए । करण केसीले भने कीर्तिमानी ५ विकेट हात पारे ।

२०७९ भित्र एकदिवसीयमा नेपालका दुई ब्याट्सम्यानले शतक पूरा गरे । शतक पूरा गर्नेमा आशिफ शेख र कुशल भुर्तेल थिए ।

नेपाली टिमका विकेटकिपर ब्याट्सम्यान आशिफ शेखले खेल भावना प्रदर्शन गरेपछि इंग्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) र बीबीसीले प्रदान गर्ने ‘क्रिस्टोफर मार्टिन जेन्किन्स स्पिरिट अफ क्रिकेट अवार्ड’ सँगै आईसीसीको ‘आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड २०२२’ समेत प्राप्त गरे ।

यता लेग स्पिनर सन्दीप लामिछाने एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो १०० विकेट लिने खेलाडीको विश्व कीर्तिमान नजिक पुगे । उनले ४१ खेलमा ९९ विकेट हात पारिसकेका छन् । कम्तिमा पनि आगामी दुई खेलमा एक विकेट हात पारे सन्दीप एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो १०० विकेट लिने खेलाडी बन्ने छन् । अफगानिस्तानका राशिद खानले ४४ खेलमा १०० विकेट हात पारेका छन् । ​सन्दीपले टी-ट्वान्टी अन्तर्राष्ट्रियमा पनि ४३ खेलमा ८५ विकेट हात पारिसकेका छन् ।

२०७९ मा नेपालले घरेलु मैदानमा यूएईविरुद्धको ३ खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज पनि २-१ ले जित्यो ।

नेपालले २०७९ मा केवल पाँचवटा टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल मात्र खेलेको थियो । नेपालले घरेलु टोली केन्याविरुद्धको पाँच खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज ३-२ ले जित्दा ३ खेलको एकदिवसीय सिरिज क्लिन स्विप गर्‍यो ।

अर्कोतर्फ, नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिमले श्रीलंकामा हुने एकदिवसीय विश्वकपमा समेत स्थान बनायो । नेपालले युएईमा भएको छनोटका सबै खेल जित्दै विश्वकपमा स्थान सुरक्षित गर्‍यो । छनोटका क्रममा कुवेतविरुद्ध कप्तान देव खनालले १ सय २५ रन तथा अर्जुन कुमालले १ सय ८ रनको शतकीय योगदान गरे ।

युएईविरुद्धको निर्णायक खेलमा दिपेश कंडेलले ५ विकेट हात पार्दा महत्वपूर्ण ह्याट्रिक पूरा गरेका थिए । उनको ह्याट्रिककै मदतमा नेपालले यू-१९ विश्वकपमा स्थान सुरक्षित गर्‍यो । नेपालले २०१६ पछि पहिलो पटक यू-१९ विश्वकप खेल्ने भएको हो ।


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x