कोभिड-१९

भारतबाट फर्किनेहरूमा देखिन थाल्याे कोभिड, सीमा क्षेत्रमा जोखिम बढ्यो

इकागज |
चैत १३, २०७९ सोमबार २०:२७ बजे

फाइल तस्बिर

बैतडी- भारतबाट स्वदेश फर्किने नेपाली नागरिकमा कोभिड-१९ सङ्क्रमण देखा पर्न थालेको छ । सीमा नाकाहरूमा परीक्षण गर्दा भारतबाट स्वदेश फर्किएकाहरूमा सङ्क्रमण देखिन थालेको हो ।  

सुदूरपश्चिमका भारतसँग जोडिएका सबै नाकाहरूमा नियमित रूपमा कोभिड-१९ परीक्षणको कार्य जारी रहेको छ । यहाँका सीमा नाकाहरूमा परीक्षण गर्दा दैनिक रूपमा कोभिड-१९ सङ्क्रमण देखिरहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए । चैत महिना सुरु भएयता मात्रै यस प्रदेशमा भारतबाट फर्किएका ४३ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।    


उनले भने, 'यो महिना कोभिड-१९ सङ्क्रमण बढ्दै गएको छ । सङ्क्रमित सबै भारतबाट फर्किएका रहेका छन् । भारतबाट फर्किनेमा कोभिड-१९ देखिन थालेपछि सीमा क्षेत्रमा जोखिम बढेको छ ।' भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका झुलाघाट, पुलघाट, जौलजीवी, गड्डाचौकी र त्रिनगर नाकाबाट हाल दैनिक रूपमा  स्वदेश फर्किनेको क्रम पनि  बढेको हो ।

नयाँ वर्ष नजिक आइरहेका बेला यहाँका नाकाहरूमा भारतबाट स्वदेश फर्किनेको सङ्ख्या पनि बढ्दै गएको छ । नयाँ वर्ष तथा बिशु पर्व मनाउन गाउँ फर्किनेको सङ्ख्या बढेकाले सङ्क्रमणदर पनि वृद्धि भएको जोशीले बताए । नाकामा हेल्थ डेस्क स्थापना गरेर एन्टीजेन परीक्षणको व्यवस्था गरिएको छ । 

भारतमा सङ्क्रमण तीव्र रूपमा फैलिरहेकाले यहाँका नाकामा स्वास्थ्य चेकजाँचमा कडाइ गरिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति जोशीले बताए । भारतका विभिन्न कोभिड-१९ सङ्क्रमण देखिन थालेकाले त्यसको प्रभाव सुदूरपश्चिम प्रदेशमा पनि देखिन थालेको हो । उनले भने, 'भारतमा दिन प्रतिदिन सङ्क्रमण फैलिरहेको त्यसको प्रभाव यहाँ पनि परेको छ, सुदूरपश्चिम प्रदेश पनि जोखिममा छ ।'  

जोखिम बढेसँगै सीमा नाकामा स्वास्थ्य जाँचमा कडाइ गर्नाका साथै खोप अभियानलाई पनि निरन्तरता दिइएको जोशीको भनाइ छ । सीमा नाकामै हेल्थ डेस्क स्थापना गरी एन्टीजेन परीक्षणमार्फत परीक्षणको काम भइरहेको  छ । सङ्क्रमितलाई सम्बन्धित पालिकाको समन्वयमा होम आइसोलेसनमा बस्न भन्ने गरिएको छ । प्रदेशभरि नै हाल ५५ वर्षमाथिका सबैलाई बुस्टर डोज लगाउने क्रम जारी रहेको निर्देशनालयले जनाएको छ । 

भारतमा सङ्क्रमण देखिएका सहरहरूसित दूरीका हिसाबले यो प्रदेश नजिक भएकाले उच्च जोखिम रहेको र सतर्कता अपनाउन आवश्यक  रहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । उनले भने, 'भारतमा कोभिड-१९ सङ्क्रमण बढेपछि सुदूरपश्चिममा नै त्यसको प्रभाव पर्न जाने भएकाले सतर्कता अपनाई स्वास्थ्यका मापदण्ड पालना गर्न जरुरी छ ।'  

सुदूरपश्चिम प्रदेशमा हालसम्म छ लाख ४४ हजार चार सय ५४ जनाको कोभिड-१९ परीक्षण गरिएकामा ६१ हजार नौ सय २७ जनामा सङ्क्रमण भइसकेको छ । सङ्क्रमणकै कारण यस प्रदेशमा छ सय ३५ जनाको ज्यान गइसकेको छ ।


Author

थप समाचार
x