अदालत

सर्वोच्चको गेटमै ‘अन्याय’

विष्णु विश्‍वकर्मा |
कात्तिक १०, २०७८ बुधबार २०:२८ बजे

काठमाडौँ : कार्यपालिकामा भागबण्डा खोजेको, न्यायिक अवरुद्ध र विचलनको आरोप लागेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध न्यायाधीशहरू आन्दोलनमा छन् । न्यायाधीशसँगै वरिष्ठ अधिवक्ता, अधिवक्ता, बार पदाधिकारी, सर्वोच्च बार पदाधिकारी सबैले प्रधानन्यायाधीश राणाको क्रियाकलाप ‘अति’ भएको जिकीरसहित तत्कालै राजीनामा दिनुपर्ने माग राखी इजलास बहिष्कारमा छन् ।

यसले सोझा निमुखा सेवाग्राही सबैभन्दा ठूलो मारमा छन् । सोमबारदेखि राणाविरुद्ध एक स्वरले ‘राजीनामा’को माग चर्काइरहेका न्यायाधीश र कानुनविद्ले बुधबार पनि त्यसलाई जारी राखेका छन् ।


तर प्रधानन्यायाधीश र कानुनविद्को लडाईंले न्यायको धरोहर सर्वोच्चको गेटमा पुगेका सर्वसाधारण भने अन्यायमा परेका छन् । इजलास नबस्दा सेवाग्राहीले न्याय पाउन सकेका त छैनन् नै । सर्वोच्च अदालतको घटनाक्रमबारे रिर्पोटिङ गर्न पुगेका पत्रकारसमेत अन्यायमा परेका छन् ।

बुधबार बिहानै ११ बजे पुगेका पत्रकारलाई सोमबार, मंगलबार जस्तै सहजै प्रवेश दिइयो । तर त्यसपछि सर्वोच्च पुगेका पत्रकारलाई प्रवेश दिइएन । सुरुमा मिडियाको परिचय पत्र, सूचना विभागको परिचय–पत्रलाई आधार मानेर प्रवेश दिए पनि त्यसपछि प्रहरीले कडाइ गर्‍यो ।

सर्वोच्च अदालतमा प्रवेश पत्र पाएका पत्रकार बाहेकलाई गेटमै रोकियो । सूचना विभागको कार्ड देखाएर प्रवेश पाउने प्रतीक्षामा रहेका पत्रकारमाथि दुर्व्यवहार गर्न प्रहरी उत्रियो । तर प्रवेश दिइएन ।

केही घण्टाअघि सबै पत्रकारलाई प्रवेश दिने सर्वोच्च प्रशासनले केही घण्टामै भित्री कुरा सार्वजनिक डरले प्रवेशमा रोक लगाइयो । सँगै प्रहरीको संख्या थपियो । पत्रकारलाई प्रवेशमा कडाईं गरेपछि सर्वसाधारणको हालत झनै खराब हुने भयो । प्रवेश नपाएका पत्रकारले गेटबाटै आफ्नो मिडिया हाउसमा सूचना टिपाए । टेलिभिजनले गेटबाटै ‘लाइभ’ अपडेट दिए । रेडियो पत्रकारले फोनमै सर्वोच्चको सकस स्रोतालाई सुनाए ।

विवादबीच बुधबार प्रधानन्यायाधीश राणाले आफ्नै एकल इजलासमा पाँच मुद्दाको सुनुवाइ गरे । सर्वोच्चका न्यायाधीश भने प्रधानन्यायाधीश राणाको राजीनामा माग राख्दै इजलासमा प्रवेश गरेनन् । 

न्यायालयभित्रको झगडा हेर्दै न्यायका सेवाग्राहीहरू भने सर्वोच्च गेटबाटै फर्किए । तर पत्रकार प्रवेश पाउनुपर्ने मागसहित भनसुनमा लागे । कसैले सर्वोच्चका प्रवक्ता, सञ्चारविज्ञदेखि मुख्य रजिष्ट्रारलाई फोन घुमाए । कसैले आफ्नै मिडिया हाउसका सम्पादकसँग प्रवेश नपाएको विवशता सुनाए ।

पत्रकारको गुनासो बढेपछि लामो समयदेखि अदालती रिर्पोटिङ गरिरहेका पत्रकार दुर्गा दुलालले सर्वोच्चका मुख्यरजिष्ट्रार लालबहादुर कुँवरसँग आक्रोश पोखे । संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका अध्यक्षसमेत रहेका दुलालले अरु पत्रकारको पीडा सुनाए ।

उनले सर्वोच्च अदालत प्रवेशपत्र भएका पत्रकारलाई मात्रै प्रवेश दिइएको आश्वासनसहितको जवाफ फर्काएको सुनाए । यद्यपि हिजो सबैलाई सहजै प्रवेश दिने, तर आज समाचार संकलन गर्न पुगेका पत्रकारलाई रोक्ने सर्वोच्च प्रशासनको रवैयाप्रति असन्तुष्टि जनाए ।

‘हामीले भित्र पनि आपत्ति जनाएका छौँ । समाचार संकलनका लागि आएका पत्रकारलाई रोक्न हुन्‍न भनी मुख्यरजिष्ट्रारलाई भेटेरै ध्यानाकर्षण गराएका छाैँ,’ उनले इकागजसँग भने, ‘प्रवेशपत्रका आधारमा मात्रै प्रवेश दिइने र नभएकालाई प्रवेशका लागि परिचयपत्र बनाउने प्रक्रिया सुरु गर्ने आश्वासन दिइएको छ ।’

सोमबार, मंगलबारपछि बुधबार पनि सर्वोच्च परिसरको दृश्य फेरिएको छैन । प्रधानन्यायाधीश राणाले ‘जबर्जस्त’ एकल इजलासमार्फत अदालतको वातावरण फेर्ने प्रयत्न गरिरहेका छन् । 


Author

थप समाचार
x