अदालत

प्रधानन्यायाधीशसँग छलफल सकिएलगत्तै फेरि छलफलमा जुटे १३ न्यायाधीश

विष्णु विश्‍वकर्मा |
कात्तिक ९, २०७८ मंगलबार १२:३५ बजे

छलफल सकेर बाहिरिँदै न्यायाधीश । तस्बिर : इकागज

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र १३ जना न्यायाधीशबीच छलफल सकिएको छ । निकास खोज्‍न भन्‍दै १३ न्यायाधीश प्रधानन्यायाधीश राणासँग छलफल गरेका थिए । प्रधानन्यायाधीश राणासँग छलफल सकेर १३ न्यायाधीश फेरि छलफलमा जुटेको एक न्यायाधीशले बताए । उनले  प्रधानन्यायाधीश राणासँग के के छलफल भयो भन्‍नेबारे खुलाउन चाहेनन् । 'प्रधानन्यायाधीशसँग छलफल सकेर हामी फेरि छलफलमा जुटेका छौँ' ति न्यायाधीशले इकागजसँग भने ।

काठमाडौंबाहिर रहेका दुई न्यायाधीश अनिलकुमार सिन्हा र सपना मल्ल प्रधानले पनि आफूहरूको सहमति भएको इमेल पठाएका छन् । वरिष्ठ न्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा प्रधानन्यायाधीश राणासँग छलफल सुरु भएको हो । छलफलमा न्यायाधीश डा. आनन्दमोहन भट्टराईले निकास खोज्‍न प्रस्ताव राख्‍ने तयारी छ ।


यदि प्रधानन्यायाधीश राजीनामा नदिएको खण्डमा प्रधानन्यायाधीशविरुद्ध पत्रकार सम्मेलनगरी इजलास बहिष्कार गर्ने औपचारिक धारणा राख्‍ने तयारी छ । प्रधानन्यायाधीश राणाको राजीनामा नआएसम्म बहिष्कार निरन्तर रहनेछ ।

प्रधानन्यायाधीशबाहेक काठमार्डौ उपलब्ध १३ जना न्यायाधीशले सोमबार नै इजलास र फूलकोर्ट बहिष्कार गरिसकेका छन् । आइतबारसँगै रहेका न्यायाधीश नहकुल सुवेदी भने सोमबार अनुपस्थित रहेका थिए । न्यायाधीश इश्वर खतिवडा अमेरिका भ्रमणमा छन् ।
 


Author

थप समाचार
x