अदालत

न्यायालयको शुद्धीकरणका लागि कानुन व्यवसायीकाे मंगलबार पनि प्रदर्शन

इकागज |
असार १९, २०८० मंगलबार १६:२३ बजे

काठमाडौँ- कानुन व्यवसायीहरूले न्यायालयको शुद्धीकरणका लागि भन्दै मंगलबार पनि प्रदर्शन गरेका छन् । ललितपुर अदालतमा कार्यरत नायव सुब्बा प्रेमिका तमाङ र अधिवक्ता अमीर तामाङबीचको विवादलाई लिएर कानुन व्यवसायीले मंगलबार पनि आन्दोलनलाई कायमै राखेका हुन् ।

नेपाल बार एशोसिएसन परिसरमा उनीहरूले प्रदर्शन गर्दै उक्त घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग राखेका छन् । उनीहरूले न्यायभित्रको भ्रष्टाचार, विकृति , विसंगति अन्त्य गर्नुपर्ने, अधिवक्ता अमिर लामिछाने विरुद्ध दायर सम्पूर्ण मुद्दाहरू अविलम्ब फिर्ता गर्नुपर्ने, पूर्ण स्वचालित पेसी व्यवस्थापन प्रणाली लागू गर्नुपर्ने लगायतका माग राखेका छन् ।


ललितपुर बारले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग गरे पनि अदालत प्रशासनले सिसिटिभी फुटेज निकाल्न नमान्दा विवाद उत्कर्षमा पुगेको हो । नासु तामाङविरुद्ध प्रमाण रहेको भन्दै अदालत प्रशासनले फुटेज निकाल्न नमानेको कानुन व्यवसायीहरूको आरोप छ ।

यता ललितपुर अदालतका न्यायाधीश र कर्मचारीहरू भने सुरक्षाको माग राख्दै मंगलबार सर्वोच्च अदालत आएका छन् । 


Author

थप समाचार
x