अदालत

बारले अदालती कामलाई असर नपर्ने गरी विरोध गर्ने

इकागज |
असार १८, २०८० सोमबार २१:१८ बजे

काठमाडौँ- नेपाल बार एसोसिएसनले अदालतभित्रै कर्मचारी कुटेको आरोपमा कानुन व्यवसायीलाई पक्राउ गरिएको विरोधमा मङ्गलबार अदालतको कामलाई असर नपर्ने गरी विरोध गर्ने भएको छ ।

बारको आन्दोलनका कारण आज सर्वोच्च अदालतदेखि देशभरका अदालतमा बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस पैरवी भएन । अदालतको कामलाई असर नपर्ने गरी विरोधलाई यथावत् राख्ने आज निर्णय गरेको हो ।
    
बारका महासचिव अञ्जिता खनालका अनुसार आन्दोलन जारी रहने तर अदालतको कामलाई असर नपर्ने गरी आफ्ना मागहरू यथावत् रहेको जानकारी दिए । बारले सेवाग्राहीलाई असर नपर्ने गरी मङ्गलबार खाजा समयमा विरोध गर्ने जनाएको छ ।


जिल्ला अदालत ललितपुरकी कर्मचारी प्रेमिका तामाङलाई हातपात गरेको आरोपमा कानुन व्यवसायी अमिर लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । सोही विरोधमा बारले आज देशभर बन्दीका मुद्दा बाहेकमा बहस पैरवी नगरेको हो ।

बारले थुनामा रहेका अधिवक्ता लामिछानेलाई २४ घण्टाभित्र रिहा गर्नुपर्ने, सिसी टिभी फुटेज सार्वजनिक गर्नुपर्ने र लामिछानेले दिएको जाहेरी दर्ता गर्नुपर्ने माग गरेको छ ।

यही असार १३ गते जिल्ला अदालत ललितपुरमा नासु तामाङलाई काम गरिरहेको अवस्थामा लामिछानेले आक्रमण गरेको भन्दै प्रहरी पक्राउ गरेको हो । लामिछानेविरुद्ध नासु तामाङले घटना भएकै दिन जिल्ला अदालत ललितपुरमा अदालतको अवहेलनामा कारबाही गर्न माग गर्दै निवेदन दिएपछि अधिवक्ता लामिछानेलाई पक्राउ गरिएको थियो ।


Author

थप समाचार
x