अदालत

ललितपुर जिल्ला अदालतकाे विवाद चर्कंदै

इकागज |
असार १८, २०८० सोमबार १५:२८ बजे

काठमाडौँ- ललितपुर जिल्ला अदालतमा कर्मचारी र कानुन व्यवसायीबीच भएको विवाद चर्कंदै गएको छ ।

अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङमाथि कुटपिट गरेको विरोधमा देशभरिका अदालतका कर्मचारीले काम रोकेपछि कानुन व्यवसायीहरूले पनि बहस पैरवी छाडेर घटनाको सत्यतथ्य सार्वजनिक हुनुपर्ने भन्दै विरोध प्रदर्शन गरेका छन् । उनीहरूले सोमबार ललितपुर जिल्ला अदालतको प्राङ्गणमा कानुन व्यवसायीमाथिको आक्रमण, झूठा मुद्दा, अदालतमा भएका विकृति विसंगति, घुसखोरी र भ्रष्टाचारको विरुद्धमा भन्दै विरोध सभा गरेका हुन् ।


उनीहरूले उक्त घटनाको छानबिन हुनु पर्ने, दोषीलाई कारबाही गर्नु पर्ने र कानुन व्यवसायी अमिर लामिछानेमाथि लगाइएको झुटो मुद्दा फिर्ता हुनु पर्ने माग राखेर प्रदर्शन गरेका हुन् । त्यस्तै कानुन व्यवसायीहरूले सेवा लिन गएका कानुन व्यवसायीमाथि कर्मचारीबाट हातपात भएकाले सिसिटिभी देखाउन चुनौती समेत दिएका छन् ।

विरोध प्रदर्शनमा नेपाल बार एसोसिएसनका अध्यक्ष गोपाल कृष्ण घिमिरेले आफूहरूको अभियान अदालतको कर्मचारी र न्यायाधीश विरुद्धको अभियान नभएको र भ्रष्टाचारविरोधीको अभियान भएको बताए । उनले कानुन व्यवसायी पनि घुसखोर छ भने निर्मम भएर लाग्ने जिकिर गरे । घिमिरेले उक्त घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गरे । उनले अदालतभित्र हुने भ्रष्टाचारीलाई कसैले पनि जोगाउन नसक्ने स्पष्ट पारे ।

गत असार १३ गते बुधबार जिल्ला अदालत ललितपुरमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङ र कानुन व्यवसायी अमिर लामिछानेबीचको विवाद भएको थियो । अधिवक्ता लामिछानेले उच्च अदालत पाटनको फाँटमा काम गर्ने तामाङसँग सक्कली मिसिल माग्दा विवाद भएको र हातपात भएको बताउँदै आएका छन् । १३ गते नै अदालत परिसरबाट पक्राउ परेका लामिछाने आइतबार मात्रै प्रहरी हिरासतबाट साधारण तारेखमा रिहा भएका हुन् ।

कर्मचारी तामाङले अधिवक्ता लामिछानेलाई कारबाहीका लागि अदालतमा पनि निवेदन दिएका छन् । दुई पक्षको विवादका कारण अदालतको कामकारबाही नै प्रभावित भएको छ ।


Author

थप समाचार
x