अदालत

अरुण चौधरीलाई रिहा गर्न माग गर्दै परेको रिटमा आज सुनुवाइ हुँदै

इकागज |
माघ २३, २०७९ सोमबार ९:२२ बजे

कैलाली - कैलाली २ बाट निर्वाचित नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीलाई रिहा गर्न माग गर्दै परेको रिटमा आज सुनुवाइ हुँदै छ । हिजो उच्च अदालत दिपायलमा उत्प्रेषण परमादेश रिट दर्ता भएको थियो ।

१९ माघमा प्रहरीले बाँकेबाट पक्राउ गरेर २० गते चौधरीलाई जिल्ला अदालत पेश गरिएको थियो । सोही दिन अदालतले चौधरीलाई कारागार चलान गरेको थियो ।


२०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्र्याक्टर जलाएको भन्दै २०६७ भदौ २ गते कैलाली जिल्ला अदालतमा अरुण चौधरीसहित तीन जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । सोही मुद्दामा २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित पर्सराम चौधरी र वीरबहादुर चौधरीलाई जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो ।

छ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई प्रहरीले १९ गते पक्राउ गरेको हो । यता चौधरी पक्षमा कानुन व्यवसायीहरूले सुनुवाइको मौका समेत नदिए अन्याय पूर्ण फैसला भएको बताएका छन् ।

हिजो उच्च अदालतमा जिल्ला अदालतको फैसला बदर गर्न र धरौटी राखेर रिहा गर्न माग गर्दै रिट दर्ता गरिएको थियो ।आज १ नम्बरमा रहेको उक्त रिटमा सुनुवाइ हुने भएको छ ।


Author

थप समाचार
x