कर्पोरेट

बीएमडब्लूको इलेक्ट्रीक एसएभी ‘आईएक्स–३’ नेपालमा

इकागज |
साउन १, २०८० सोमबार १५:५२ बजे

काठमाडौँ –  जर्मन प्रिमियम कार ब्रान्ड बीएमडब्लूको सफल मोडल आइएक्स–३ नेपालमा सार्वजनिक भएको छ । 

नेपालमा पेट्रोलबाट चल्ने मोडल एक्स–३ को सफलतापछि लक्ष्मी प्रिमियम मोटर्सले प्योर इलेक्ट्रीक मोडल आईएक्स–३ नेपाल ल्याएको हो । 


बीएमडब्लूको स्पोर्टस् एक्टिभिटी भेहिकल (एसएभी) आईएक्स–३ कम्पनीको सर्वाधिक बिक्री हुने मोडल हो । 

नेपालमा विगत ३ वर्षदेखि बीएमडब्लूका प्रिमियम उत्पादन बिक्री गर्दै आएका र बढ्दो विद्युतीय कारको बजारलाई ध्यानमा राख्दै शून्य कार्वन उत्सर्जन गर्ने विद्युतीय भेहिकलको माग बमोजिम अल–इलेक्ट्रीक एसएभी आईएक्स–३ सार्वजनिक गरेको कम्पनीले जनाएको छ । 

निकै प्रिमियम फिचर, सुरक्षामा अब्बल र उत्कृष्ट रेञ्ज आईएक्स–३ को बलियो पक्ष हो । ८० किलोवाट पावर क्षमताको लिथियम आयोन ब्याट्री, २१० किलोवाट क्षमताको रियर ह्वील ड्राइभ मोटर यसमा पाउन सकिन्छ । 

कम्पनीले यसमा ५.० इ–ड्राइभ टेक्नोलोजी प्रयोग गरेको छ । यसको अधिकतम पावर २८५ पीएस र टर्क ४०० न्यूटन मिटर रहेको छ । 

यसमा रहेको ८० किलोवाट आवरको ब्याट्रीले सिंगल चार्जमा ४६० किलोमिटर रेञ्ज प्रदान गर्ने डब्लूएलटीपीको परीक्षणले प्रमाणित गरेको छ । 

उक्त ब्याट्रीलाई १५० किलोवाट क्षमताको डिसी चार्जरले ३४ मिनेटमा शून्यबाट ८० प्रतिशत चार्ज गर्ने क्षमता राख्छ । 

पेट्रोलियमबाट चल्ने एक्स–३मा बलियो उपस्थिति बनाएको बीएमडब्लूले आईएक्स–३ को सहयोगले प्रिमियम इलेक्ट्रिक भेहिकल सेगमेन्टमा पनि आफूलाई बलियो बनाउने अपेक्षा कम्पनीले गरेको छ । 


Author

थप समाचार
x