कर्पोरेट

टेलिकमको फोरजी ग्राहक बढे

इकागज |
जेठ ९, २०७९ सोमबार १०:५४ बजे

काठमाडौँ- नेपाल टेलिकमको फोरजी सेवाका ग्राहक संख्या १ करोड भन्दा बढी पुगेको छ । टेलिकमको २०७८ चैत महिनाको विवरण अनुसार फोरजी ग्राहक आधार १ करोड ४ लाख २१ हजार ९ सय ७६ पुगेको हो । यस अवधिमा कम्पनीका थ्रिजी ग्राहक आधार ९४ लाख ८२ हजार ५ सय ८० रहेको छ । समग्रमा कम्पनीका मोबाइल सेवा प्रयोगकर्ता २ करोड २० लाख ९१ हजार ७ सय ८५ भएकोमा बाँकी २१ लाख ८७ हजार २ सय २९ टुजी प्रविधिका ग्राहक रहेको कम्पनीले जनाएको छ ।

टेलिकमले नेपालमा नै पहिलो पटक २०७३ पौष १७ गतेबाट काठमाडौं र पोखराबाट शुरु गरेको फोरजी-एलटीई सेवालाई २०७६ असोज १५ गतेदेखि अत्याधुनिक प्रविधिमा अपग्रेड गरी देशभर विस्तार गरिरहेको छ ।  फोरजी सेवा प्रयोग गर्नका लागि उपयुक्त मोबाइल फोन सेटका साथै सिम कार्ड पनि सेवा चल्ने (सपोर्ट गर्ने) हुनु पर्ने र फोरजी नेटवर्क उपलब्ध भएको क्षेत्र आवश्यक पर्छ । आफ्नो मोबाइल फोनबाट *444# डायल गरी प्राप्त निर्देशन अनुरुप फोरजी सेवा प्रयोग गर्न सिम परिवर्तन गर्नुपर्ने वा नपर्ने थाहा पाउन र फोरजी एक्टिभेट गरी सेवा सुचारु समेत गर्न सकिन्छ । 


कम्पनीले हाल उपलब्ध गराइरहेको फोरजी डाटा सेवामार्फत अधिकतम फाइदा लिनका लागि १८०० तथा ८०० मेगाहर्जका दुवै ब्यान्डमा चल्ने मोबाइल सेट प्रयोग गर्नु आवश्यक हुन्छ । मोबाइल सेट खरिद गर्दा उक्त सेटको प्राविधिक विवरण   (स्पेसिफिकेसन) हेरेर कुन मेगाहर्जमा चल्ने मोबाइल सेट हो भनी थाहा पाउन सकिन्छ । त्यसैगरी मोबाइल चलाउँदा सेटको सेटिङमा नेटवर्कलाई जहिले पनि फोरजी नेटवर्क प्राथमिकतामा राख्नुपर्छ ।

मोबाइल इन्टरनेटको क्षेत्रमा एलटीई अर्थात् लङ टर्म इभ्यालुसन भनिने फोरजी प्रविधि मोबाइलमार्फत उच्च गतिको इन्टरनेटका साथै उच्च गुणस्तरको भ्वाइस कल सेवा (भिओएलटीई) पनि उपयोग गर्न सकिने अत्याधुनिक प्रविधि हो । यसबाट तीब्र गतिको इन्टरनेट प्राप्त हुने भएकाले गुणस्तरीय श्रव्य–दृश्य सामाग्रीहरु, गेम लगायत बढी ब्याण्डविथ आवश्यक हुने सामग्रीहरु सजिलै प्रयोग गर्न सकिन्छ । साथै नेपाल टेलिकमको फोरजीमा भिओएलटीई (भ्वाइस ओभर एलटीई) पनि रहेकोले यसबाट उच्च गुणस्तरीय भ्वाइस कल सेवा प्रयोग गर्न सकिन्छ ।
 


Author

थप समाचार
x