नेपाली कांग्रेस १४औँ महाधिवेशन

कांग्रेस प्रदेश २: पदाधिकारीहरूमा पनि संस्थापन समूह नै विजयी

सुभाष कर्ण |
पुस १०, २०७८ शनिबार ८:३६ बजे

जनकपुरधाम - नेपाली कांग्रेस प्रदेश २ नयाँ नेतृत्वको पदाधिकारीमा संस्थापन पक्ष देउवा समूहले नै कब्जा जमाएको छ ।

उपसभापतिमा देउवा समूहका वीरेन्द्रप्रसाद सिंह र चन्द्रशेखर यादव विजयी भएका छन् । सभापतिमा देउवा समूहका कृष्ण यादव यसअघि नै विजयी भइसकेका छन् ।


चन्द्रशेखर यादवले ८९५ मत र वीरेन्द्रप्रसाद सिंहले १०१९ मत ल्याई निर्वाचित भएको निर्वाचन समितिका सदस्य अरूण यादवले जानकारी दिएका छन् । उपसभापति विमलेन्द्र निधि र कोइराला समूहका समर्थन पाएका धनलाल ठोकरले ६३६ विनोद कुमार खनालले ७४० र राधा प्रसाद यादव १२४ मत ल्याएका थिए । 

त्यसै गरि महामन्त्रीमा उपेन्द्र कुमार यादव र बृहस्पति कृष्ण श्रेष्ठ विजयी भएका छन् । सहमहामन्त्री खुल्ला तर्फ दुई सिटका लागि भएको मतदानमा जय नारायण प्रसाद यादव र परशुराम चौधरी विजयी हुँदा सहमहामन्त्री महिला तर्फ बिन्दु कुमारी यादव विजयी भएको निर्वाचन समिति सदस्य यादवले जनाएका छन् ।

महामन्त्रीमा उपेन्द्र कुमार यादवले ९५९, बृहस्पति कृष्ण श्रेष्ठले ७८८, सहमहामन्त्रीमा जय नारायण प्रसाद यादव ८७९,  पशुराम चौधरीले ८२२, सह महामन्त्री महिलातर्फ बिन्दु कुमारी यादव ८८९ मत ल्याई र्निवाचित भएका हुन् ।

असन्तुष्ट पक्षद्वारा उजुरी 

महामन्त्रीमा १३ मतान्तरले पराजित भएका कोइराला समूहका नरेश यादवले मतपरिणाम प्रति आपति जनाउँदै उजुरी दिएका छन् । 

उनलाई पहिला विजयी भनेर घोषणा गरिएको थियो तर पछि उनको स्थानमा बृहस्पति कृष्ण श्रेष्ठ निर्वाचित भएको घोषणा गरेपछि उनले पुनः मतगणनाको माग गर्दै निर्वाचन समितिमा उजुरी दिएका छन् । 

अन्तिम मतपरिणाम अनुसार विजयी भनिएका श्रेष्ठको मत ७८८ छ भने यादवको मत ७७५ रहेको छ । सुरुमा नरेशका समर्थकहरुले विरोध जनाएको र पछि निर्वाचन समितिमा उजुरी दिएका छन् ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x