नेपाली कांग्रेस १४औँ महाधिवेशन

कांग्रेस प्रदेश २ अधिवेशन- प्रतिनिधि नामावली दर्ता सुरु, मनोयन दर्ता आजै

इकागज |
पुस ६, २०७८ मंगलबार १३:१७ बजे

जनकपुरधाम - नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनको बन्द सत्र आजदेखि जनकपुरधाममा सुरु भएको छ । अधिवेशनको बन्दसत्र स्थल गोपाल धर्मशालामा बिहान ८ बजेदेखि प्रतिनिधि दर्ता  सुरु भएको छ । प्रतिनिधि दर्ता सम्पन्नपछि आजै बेलुकासम्म मनोयन दर्ता प्रक्रिया सुरु हुनेछ । प्रतिनिधि दर्ता प्रक्रिया दिउँसो ४ बजेसम्म चल्ने निर्वाचन अधिकृत प्रहलाद गौतमले जानकारी दिए ।

अधिवेशन अन्तर्गत आज मनोनयन दर्ता गर्ने कार्यक्रम छ भने बुधबार निर्वाचन गर्ने कार्यक्रम रहेको अधिकृत गौतमले बताए । उनले भने, 'केही जिल्लाबाट अधिवेशन प्रतिनिधिको नामावली अहिलेसम्म न आईपुगेको कारण दिउँसो ४ बजेसम्म बाटो कुर्नेछौं । त्यसपछि पनि आउन सकेन भने सहमतीय आधारमा मनोयन दर्ता प्रक्रिया अघि बढाइनेछ ।'


यता बन्दसत्रको प्रतिनिधि दर्तासँगै उम्मेदवारहरु सहमतीय प्रयासमा रहेका छन् । सहमती हुन नसके भोली निर्वाचन प्रक्रियामा जानेछ । प्रदेश २ को नेतृत्वका लागि सभापति देउवा समूहबाट कृष्ण यादव र प्रदेशका भौतिक पुर्वाधार मन्त्री समेत रहेका रामसरोज यादवले दाबी गरेका छन् ।

केन्द्रीय महाधिवेशनसम्म रामसरोज यादव उपसभापति निधि समूहबाट उम्मेदवार थिए । तर केन्द्रीय महाधिवेशनमा पराजयपछि देउवालाई निधिले समर्थन गरिसकेपछि अहिले रामसरोज यादव स्वतन्त्र उम्मेदवारको रुपमा उभिएका छन् ।

नेतृत्वका दाबेदार दुवै नेता पछि हटने संकेत देखिएको छैन । शेखर कोइराला समूहबाट नरेश यादव समेतले नेतृत्व दाबी गर्ने कुरा आइरहेको छ । तर हालसम्म उनको औपचारिक घोषणा भएको छैन ।

देउवा पक्षबाट पार्टीका रौतहट जिल्ला सभापति कृष्णा यादवको नाम प्रदेश सभापति पदका लागि पार्टीका केन्द्रीय सदस्य रमेश रिजालले घोषणा गरेका थिए भने निधि समूहमै रहेको बेला रामसरोज यादवले आफ्नो उम्मेदवारी घोषणा गरेका थिए । 

कृष्णा यादवको पक्षमा नै आफूले समर्थन जनाएको भन्दै महोत्तरी जिल्लाका सभापतिले समेत समर्थन जनाई सकेका छन् । रिजालले अरु पदमा सम्झौता गर्न सकिएपनि प्रदेश सभापतिमा कुनै हालतमा पनि सम्झौता नगर्ने प्रतिक्रिया दिँदै आएका छन ।

प्रदेश अधिवेशनका लागि केन्द्रीय नेताहरू जनकपुरधाम पुगिसकेका छन् । नेता विमलेन्द्र निधि, गृहमन्त्री बालकृष्ण खाँड, केन्द्रीय सदस्य उदयशम्शेर राण, कोइराला पक्षबाट गुरूराज घिमिरे, भूपेन्द्रजंग शाही लगायतका नेताहरु जनकपुरधाम आईपुगेका हुन् ।

प्रदेश अधिवेशन सर्वसम्मतिमै सम्पन्न गराउने प्रयास अहिले पनि भइरहेको गृहमन्त्री बालकृष्ण खाणले प्रतिक्रिया दिएका छन् । उनले नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी रहेकाले सर्वसम्मतिमा नेतृत्व चयन नभए निर्वाचनकै माध्यम अपनाउने बताए ।

अधिवेशनबाट प्रदेश सभापति, २ उपसभापति, महामन्त्री २, एक महिलासहित तीन सहमहामन्त्री र सदस्यहरू चयन गरिनेछ ।


Author

थप समाचार
x