सिनेमा

संसारभर ‘आरआरआर’को कमाइ हजार करोड

इकागज |
चैत २७, २०७८ आइतबार १३:५३ बजे

मुम्बई -  एसएस राजामौली निर्देशित फिल्म ‘आरआरआर’ले विश्वभरबाट हजार करोड कमाइ गरेको छ । निर्माण टिमले आइतबार हजार करोड कमाएको पोस्टर सेयर गर्दै यो जानकारी बाँडेको हो । भारतबाट हजार करोड कमाउने यो तेस्रो फिल्म हो । यसअघि राजामौली निर्देशित ‘बाहुबली २’ र नितेश तिवारी निर्देशित ‘दंगल’ले विश्वभरबाट हजार करोड बढी कमाइ गरेका थिए । 

फिल्मले पहिलो हप्ता ७ सय करोड कमाइ गरेको थियो भने दोस्रो २ सय ६० करोड कमाइ गरेको थियो । तेस्रो हप्ता थप कमाइ गर्दै फिल्मले हजारको आँकडा छोएको हो । फिल्ममा रामचरण र जुनिएर एनटीआरको मुख्य भूमिका छ । यो फिल्मले हिन्दी भाषामा मात्र २ सय ५० करोड कमाइ गरेको थियो जुन ‘बाहुबली २’को भन्दा आधा कम हो ।


तेलगु भाषाको यो चलचित्रले दक्षिण भारतबाट मात्र ३ सय ५० करोड भन्दा बढी व्यापार गरेको बताइएको छ । ब्रिटिशकालीन समयको मित्रताको कथामा आधारित यो फिल्ममा अजष् देवगन र आलिया भट्टको छोटो भूमिका छ । 


Author

थप समाचार
x