सिनेमा

रुसविरुद्ध मैदानमा हलिउड, फेसबुक र ट्वीटर पनि विरोधमा

इकागज |
फागुन १७, २०७८ मंगलबार १४:१४ बजे

काठमाडौँ - रुसले युक्रेनमाथि गरेको आक्रमणमा युक्रेनलाई साथ दिने अपेक्षा गरेको अमेरिकालाई अन्तिम समयमा आएर धोका दिएको चर्चा छ । यही कारण सामरिक युद्धमा बलियो मानिएको रुससँग युक्रेन एक्लै युद्ध लडिरहेको छ । तर अमेरिकी सरकारले साथ नदिए पनि हलिउडले रुसविरुद्ध शीतयुद्ध सुरु गरेको छ ।

हलिउडका तीन ठूला फिल्म निर्माण कम्पनी व्रार्नर ब्रोज, डिज्ने र सोनीले रुसमा आफू निर्मित फिल्म सार्वजनिक नगर्ने घोषणा गरेका छन् ।  आउँदा केही हप्तामै रुसमा ‘दि ब्याटमेन’, ‘टर्निङ रेड’ र ‘मोर्बियस’ जस्ता फिल्म रिलिज हुँदै थिए । तर यी तीनै फिल्म अब रुसमा प्रदर्शन हुने छैनन् । वार्नर ब्रोजले आउँदा हप्ता ‘दि ब्याटमेन’ रुसमा रिलिज गर्दै थियो तर उसले युक्रेन मानवीय संकट छाएको भन्दै रुसमा फिल्म प्रदर्शन नगर्ने घोषणा गरेको छ ।


‘युक्रेनमा देखिएको मानवीय संकटलाई मध्यनजर गर्दै वार्नर मिडियाले रुसमा फिल्म प्रदर्शन स्थगित गरेको छ,’वार्नरका प्रवक्ताले भनेका छन् । यसैगरि, डिज्नेले पनि एनिमेटेड फिल्म ‘टर्निङ रेड’ रुसमा तत्काल प्रदर्शन नगर्ने घोषणा गरेको छ । घोषणामा उसले मानवीय सहायतका लागि सहयोगी संस्थासँग सहकार्य गर्न तयार रहेको पनि जनाएको छ । 

यता ओटिटी प्लेटफर्म नेटफ्लिक्सले पनि रसियन सामाग्री प्लेटफर्ममा सामेल नगर्ने घोषणा गरेको छ । फेसबुक र ट्वीटरले पनि रसियन सरकारद्धारा सञ्चालित मिडियालाई प्लेटफर्म उपलब्ध नगराउने घोषणा गरेका छन् । 
 


Author

थप समाचार
x