सिनेमा

आफैँ प्रेमी सो गर्ने अनि आफैँ मिडियाले प्राइभेसी दिएन भन्ने ?

इकागज |
माघ १६, २०७८ आइतबार १४:४१ बजे

काठमाडौँ - सबैभन्दा विराधाभास जिन्दगी बाँच्ने प्राणी नै कलाकार हो । पर्दामा एक थोक देखाउनु छ अनि निजी जिन्दगीमा अर्कै बन्नुछ । तर कलाकारको यो दोधारेपन पर्दामा मात्र सीमित चाहिँ हुन्न । पर्दाबाहिरको जिन्दगीमा पनि बारम्बार अभिव्यक्त भइरहन्छ । कलाकार अझ सामाजिक सञ्जालमा खुबै आदर्शका कुरा गर्छन्, व्यवहारमा भने ठीक उल्टो ।

यो धेरै जसो कलाकारमा लागू हुन्छ । तर कलाकार आफ्नो इतिहास नहेरी, कुनै कुरा बिग्रियो भने सिधै दोष थुपाछर्न मिडियामा । पछिल्लो समय अभिनेत्री वर्षा सिवाकोटी यही अभियानमा छिन् । शुक्रबार मात्र उनले लामो स्ट्याट्स लेख्दै कलाकारको व्यक्तिगत जिन्दगी हुने र यसलाई मिडियाले नबुझी निर्मम तरिकाले सार्वजनिक व्यक्तित्वको नाममा प्रहार गर्ने गुनासो गरेकी छिन् । उनले कलाकारले व्यक्तिगत जिन्दगीको बारेमा बोल्दिनभन्दा धर नपाउने ? भन्दै प्रश्न पनि गरेकी छिन् । 
वर्षाले भनेको कुरा शत प्रतिशत सही हुन् । कलाकारको व्यक्तिगत जिन्दगी हुन्छ र त्यसलाई मिडियाले अनुमतिविना लेख्न पाउँदैन । कलाकारले बोल्दिनभन्दा बाध्य पार्न पनि सक्दैनन् । तर के वर्षाले कलाकारको रुपमा राख्नुपर्ने गोप्यता राख्ने गरेकी छिन् ? उनले जुन व्यक्तिगत जिन्दगीमा मिडियाले धावा बोलेको कुरा गरेकी छिन् के वर्षा स्वयंले मिडियामा यस्ता कुरा दिएकी छैनन् ? 


वर्षालाई अचानक मिडियाले निजी जिन्दगीमा धावा बोलेको महसुस भएको हो, एउटा टेलिभिजन प्रस्तोताले ब्वाइफ्रेन्डले अपार्टमेन्ट किन्दिएको रिपोर्ट प्रसारण गरेपछि । त्यसयता वर्षा मिडियासँग असन्तुष्ट भएकी हुन् । यो प्रकरण सुरु भएको हो, ब्वाइफ्रेन्डका कारण । तर, अहिलेसम्म वर्षाको कमजोरी नै देखिएको छ कि व्वाइफ्रेन्ड बनाएपछि वर्षा नै यो कुरा सार्वजनिक गर्न लालायित हुन्छिन् । 

निराजन प्रधानदेखि राज कटुवालसम्म उनीसँग नाम जोडिएका कलाकार हुन् । यो क्रममा उनको नाम मिलन चाम्स र सविनजंग थापासँग पनि जोडिएको थियो । तर यी सबै नामसँग वर्षा नजिकिएको कुनै पत्रकारले पत्ता लगाएका हैनन्, वर्षा स्वयंले जानकारी दिएकी हुन् । जस्तो कि ‘वीर विक्रम २’को सुटिङको समयमा वर्षा सिवाकोटी मिलन चाम्स लेखेको कपमा पानी खाएर मिलनसँग अफेयरमा रहेको जनाऊ दिन्थिन् भने सविनजंग थापासँग अमेरिकामा घुमघाम गरेका तस्बिर अरु कसैले हैन वर्षा स्वयंले मिडियामा दिएकी हुन् ।

यता पछिल्लो समय राज कटुवालसँग हिमचिमको खबर पनि दुवैले अन्तर्वार्ता दिएर नै संकेत गरेका हुन् । मनोरञ्जन क्षेत्रमा बोलिएका शब्दको मात्र अर्थ हुँदैन कलाकारले देखाउने व्यवहारको पनि अर्थ हुन्छ । त्यसैले कलाकारले मैले मुखले बोलेको छैन भनेर मात्र सत्यलाई असत्य बनाउन सक्दैनन् । त्यसैले मिडियालाई संवेदनाको व्यापार गर्न बन्द गर्न अनुरोध गर्ने वर्षाले आफैँ पनि के गरेँ भनेर विचार गर्नु राम्रो हुन्छ । यसो भयो भने वर्षाले मिडियालाई अर्ति दिनै पर्दैन ।  


Author

थप समाचार
x