सिनेमा

नयाँ वर्षको अवसरमा ओटिटीमा आयो ‘यौटा सपनाको अवसान’

इकागज |
बैशाख १, २०८१ शनिबार २१:३९ बजे

काठमाडौँ- गत वर्ष चैत्र १० देखि वैशाख १३ गतेसम्म मण्डला नाटक घरमा मञ्चन भएको नाटक ‘यौटा सपनाको अवसान’ नयाँ वर्षको अवसर पारेर आजैदेखि वेब सिरिजको रूपमा प्रिमियर भएको छ ।

महिना दिनसम्म हाउसफुल रहेको नाटक कान्तिपुर सिनेमाजमा प्रसारण भएको हो । निर्माण कम्पनी गोविन प्रोडक्सन र पौराणिक पिक्चर्सको शुक्रबार ट्रेलर सार्वजनिक गर्दै शनिबारदेखि सिरिज प्रसारणमा आउने जानकारी गराएको थियो । निर्माण टिमले यसअघि पोस्टर सार्वजनिक गर्दै नाटकलाई नयाँ दर्शकमाझ लैजाने प्रयास स्वरूप यसलाई ओटिटीमा रिलिज गर्न लागिएको जनाएको थियो । ट्रेलरमा सिरिजका मुख्य कलाकारहरू दीया मास्के, मेनुका प्रधान, दिव्य देव, विकास जोशी, शेखर चापागाई अटाएका छन् ।


नाटकका निर्माता गोविन्द पराजुलीले नयाँ दर्शकको खोजी गर्ने क्रममा नयाँ माध्यममा आउने निर्णय गरेको जनाए । ‘नाटकलाई चलचित्र जस्तो धेरै समय हलमा चलाउन मिल्दैन किनकि नाटकमा कलाकारको प्रत्यक्ष उपस्थिति चाहिन्छ । यही कारण हामीले दर्शकको चाहना हुँदा हुँदै पनि एक महिनाभन्दा बढी समय मञ्चन गर्न सकेका थिएनौँ । उसबेला हेर्न छुट्नु भएका नाट्यप्रेमीसँगै संसारभरका दर्शकका लागि सिरिजको माध्यम छानेका हौँ,’ निर्माता गोविन्दले बताए ।

वरिष्ठ नाटय निर्देशक अनुप बरालले निर्देशन गरेको यस नाटकले आर्थिक मन्दीमा फसेको एक परिवारको कथा प्रस्तुत गर्छ । १ महिनासम्म चलेर ६ हजार दर्शकले प्रत्यक्ष हेरेको यस नाटकमा दिया मास्के, दिव्यदेव, मेनुका प्रधान, रोय, विकाश जोशी, शेखर चापागाईंको मुख्य अभिनय रहेको छ । नाटकमा न्हयु बर्जाचार्यको संगीत संयोजन, विप्लव प्रतिकको ट्रान्सक्रियसन र गीत रहेका छन् । सिरिज कान्तिपुर सिनेमाजमा ७ भागमा प्रसारण हुनेछ ।

नाटकलाई सिरिजको रुपमा प्रस्तुत गरेर एउटा प्रयोग गर्न लागेको र यसले राम्रो नाटकलाई डिजिटल्ली जोगाएर राख्ने प्रयासले पनि सार्थकता पाएको निर्माता पराजुली बताउँछन् । कालान्तरमा यसले नाटकको डिजिटल बजार निर्माणमा पनि ठोस सुरुवात गर्ने उनको अपेक्षा छ । 


 


Author

थप समाचार
x