सिनेमा

तेस्रो हप्तामा ‘अगस्त्य च्याप्टर १’, दर्शक भन्छन् : फिल्म गज्जब लाग्यो

इकागज |
चैत २, २०८० शुक्रबार २२:२ बजे

काठमाडाैँ- दर्शकको उच्च साथ सहित फिल्म ‘अगस्त्य च्याप्टर १’ तेस्रो सातामा प्रवेश गरेको छ । दर्शकबाट राम्रो वर्ड अफ माउथ पाएसँगै यो फिल्मले दोस्रो हप्ताको शोलाई यथावत् राख्दै तेस्रो सातामा प्रवेश गरेको हो ।

प्रदर्शनकै दिनदेखि दर्शकको चौतर्फी तारिफ पाइरहेको फिल्मको दोस्रो सातामा कम शोहरू भए पनि तेस्रो सातामा दर्शकको चाप भने घट्न दिएको देखिँदैन । फिल्मले पाएको शोजमा दर्शकको अकुपेन्सी सुखद रहेको छ ।


फागुनको १८ गतेबाट प्रदर्शनमा आएको एक्सन–थ्रीलर फिल्म ‘अगस्त्य’को उच्च ‘वर्ड अफ माउथ’ले व्यापार पनि उत्साहजनक निरन्तरता पाइरहेको छ । विशेषगरी फिल्मको दिवा र रात्रि शोजमा दर्शकको चाप उच्च रहेको छ भने कति शोज हाउसफुल भइरहेका छन् । फिल्मको यही हिसाबको अकुपेन्सी अनुपात हेर्दा ‘अगस्त्य’ले भोलिका दिनबाट यो यात्रालाई अझै निरन्तरता दिने देखिएको छ भने.बक्स अफिसमा उत्कृष्ट कमाइ गर्ने अड्कल लगाउन सकिन्छ ।

प्रदर्शन अगावैबाट उच्च ‘हाइप’ मिलेको यस फिल्मको मेकिङ, कथावस्तु, कलाकारको अभिनय, एक्सनलाई दर्शकले निकै रुचाएका छन् । कतिले फिल्म बुलन्द भनेका छन् भने कतिले मेकिङ, क्लाइमेक्सको सस्पेन्स र कलाकारको अभिनय रुचाइएका छन् । यही कारण हलमा दर्शक पनि बढिरहेका छन् ।

यस्तै, नेपालपछि ओभरसिज बजारमा समेत प्रदर्शन भएको यो फिल्मलाई विदेशी दर्शकहरूले नेपाली फिल्म क्षेत्रमा नयाँ खालको कथामा उच्च मेकिङका साथ नयाँ स्वाद दिएको प्रतिक्रिया दिएका छन् । यो फिल्मले अष्ट्रेलिया, संयुक्त राज्य अमेरिका, क्यानडा लगायतका अन्य देशहरूमा समेत हाउसफुलको निरन्तरता पाइरहेको छ ।

दर्शकले 'अगस्त्य च्याप्टर १' हेरेर निस्कँदै गर्दा फिल्मको अन्त्य तिर को हो गणेश ? भन्ने सस्पेन्सले दर्शकहरू माझ थप एकखालको चासोको विषय बनाइदिएको पाइन्छ ।

यतिबेला हलमा स्वदेशी र विदेशीसहित ६ फिल्मसँग प्रतिस्पर्धा गरिरहेको छ । यसका बाबजुद पनि फिल्म व्यापारमा कमजोर देखिएको छैन । फिल्मको पहिलो र दोस्रो हप्तामा देशभरका हलमा फिल्मको अकुपेन्सी ७० प्रतिशतमाथि रहेको छ । कति हलहरूले अन्य फिल्मलाई भन्दा बढी शोज ‘अगस्त्य’लाई प्रदान गरेका छन् ।

सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको ‘अगस्त्य’लाई समीक्षकबाट कमजोर समीक्षा पाउँदा पनि फिल्मको व्यापार स्थिर रहनु निर्माण टिमका लागि ठूलो जीत देखिएको छ । विशेषगरी फिल्मले युवापुस्तालाई हलमा तानेको देखिन्छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह आफ्नो टिम सहित फिल्म ‘अगस्त्य’ हेरेका थिए । उनले फिल्म हेरेर निर्देशको चौधरीको सोच, कलाकारहरूले गरेको मेहनत र छायांकन पक्षको प्रशंसा गर्दै राम्रो लागेको प्रतिक्रिया दिएका थिए ।

डार्क हरिस इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झा, बेन बस्नेत, शिशिर वाङ्गदेल, सिम्रन खड्का, प्रकाश दाहाल, गजेन्द्र त्रिपाठी लगायतको अभिनय छ ।

दर्शकबाट पाएको उत्सपूर्वक प्रतिक्रिया र व्यापार राम्रो भएपछि निर्माण पक्ष ’च्याप्टर २’ का लागि उत्साहित भएको छ । जसलाई सन् २०२६ भित्र सार्वजनिक प्रदर्शन गर्ने जनाइएको छ ।


Author

थप समाचार
x