सिनेमा

‘एक भगवत् गीता’सँग किन रुष्ट छन् धिरज मगर ?

इकागज |
भदौ १७, २०८० आइतबार १५:३५ बजे

काठमाडौँ - निर्देशक झरना थापाले धिरज मगरलाई ट्रेलर सार्वजनिक कार्यक्रममा आँखाको बिरामी बनाइन् । कलाकार र फिल्मका लागि महत्वपूर्ण मानिने ट्रेलर सार्वजनिक कार्यक्रममा फिल्मका मुख्य कलाकार नै उपस्थित नहुनु शंकाको विषय थियो र कार्यक्रममा उपस्थित पत्रकारले प्रश्नोत्तेर सेसनमा निर्देशक झरना थापालाई प्रश्न पनि गरिहाले । पत्रकारको जिज्ञासामा झरना थापाले धिरज बिरामी भएको र खासगरी उसको आँखा पाकेकाले नआएको जानकारी दिइन् । तर झरनाले धिरज बिरामी भएको बताइरहँदा उनी भने कुलेखानीमा घुमिरहेका थिए । आँखा पाकेको मान्छे, यसरी घुम्न जाने कुनै सम्भावनै थिएन । 

मानियो, ट्रेलर रिलिजको केही समयपछि नै धिरजको आँखा ठीक भयो र उनी घुम्न पनि गए रे । तर मोबाइल चलाइरहने उनले फिल्मको ट्रेलर सामाजिक सञ्जालमा सेयर गर्ने कष्ट पनि गरेनन् । उनले केही दिनअघि आफैँले अभिनय गरेको गीत पनि बासी भइसकेपछि सेयर गरेका थिए । अहिले ट्रेलर पनि तीन दिन बितेपछि बल्ल गरेका छन् । यसले धिरज र निर्माण टिमबीच खटपट अनुमानलाई बल पुर्याउँछ ।


स्रोतका अनुसार धिरज एउटा कथा सुनाएर अर्कै चलचित्रमा साइन गराएकोमा  निर्माण टिमसँग सुरुदेखि नै खुसी थिएनन् । अनुबन्धित भइसकेपछि आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ भनेर सेटमा गएका उनी पछिल्लो समय भने आश गरिएको गीत नै नखिचेपछि थप रुष्ट भएको चर्चा छ । योभन्दा पहिला टिजर रिलिजको समयमा पनि आफूले नराख्नु भनेको सट राखेको भन्दै धिरजले केही नजिकका फिल्मकर्मीसँग असन्तुष्टि पोखेको स्रोत बताउँछ । 

टिजरमा धिरजलाई झल्याकझुलुक मात्र देखाइएको थियो । तर धिरजले कम समय देखाएको भन्दा पनि नराख्नु भनेका सट राखेको भन्दै निर्माण टिमसँग असन्तुष्टि जाहेर गरेको पनि स्रोतको दाबी छ । ट्रेलर रिलिज अघि नै निर्माण टिमले सिटी सेन्टरमा केही युट्युबरसँग अन्तर्वार्ता गरेको थियो । धिरज मगर यहाँ पनि उपस्थित थिएनन् । यसले पनि धिरज र निर्माण टिमबीच ‘अल इज वेल’ नरहेको संकेत गर्छ । 

विपिन कार्की व्यस्त हुने र धिरज मगर प्रमोसनमै नहुने भएपछि ‘एक भगवत् गीता’लाई यो पटक दर्शक बोलाउन गाह्रो पर्ने अनुमान गरिन थालेको छ । त्यसमाथि एक हप्ताअघि रिलिज हुन लागेको शाहरुख खानको ‘जवान’को हाइपले पनि नेपाली फिल्मको सो प्रभावित गर्ने आँकलन छ । 


Author

थप समाचार
x