सिनेमा

विपिन फरक देखिएको 'एक भगवत् गीता' ट्रेलर

इकागज |
भदौ १५, २०८० शुक्रबार १६:३९ बजे

काठमाडौँ-  आगामी भाद्र २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा 'एक भगवत् गीता'को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा ​अल्पसंख्यक लैंगिक समुदाय र मधेशको विषयलाई उठाइएको छ ।  विभेद, समानता र न्यायको सन्देश दिने दाबी गरिएको चलचित्रमा विपिन कार्की लैंगिक अल्पसंख्यक समुदायको नेता बनेको महसुस हुन्छ । 

पारालैंगिक चरित्रमा देखिएका विपिनले लैंगिक अहमता राख्ने  चरित्र विरुद्ध विद्रोह गरेका  देख्न सकिन्छ । योबाहेक सुहाना थापा र धीरज मगरको प्रेम सम्बन्धलाई समेत सिनेमाको सार्वजनिक ट्रेलरमा ठाउँ दिइएको छ । विपिन र सुहानाको मित्रता पनि यसमा समावेश छ । जनकपुरको सेटिङमा खिचिएको सिनेमामा अनुरागमान सिंह कुँवर, कविर खड्का र संजोग रसाईली खलपात्रको चरित्रमा देखिएका छन् ।


सिनेमामा विपिन कार्की, धिरज मगर, सुहाना थापा, कबीर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुरको पनि अभिनय छ । सुनिल कुमार थापाको निर्माण रहेको सिनेमाको कन्सेप्ट अभिनेत्री सुहाना थापा र कथा निर्देशक झरना थापाको हो । झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको पटकथा रहेको सिनेमामा परिक्षेद र पुरुषोत्तमले संवाद लेखेका छन् ।

सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनको व्यानरमा निर्माण भएको सिनेमामा राजेश श्रेष्ठको छायांकन, मित्र डि गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी तथा शैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर, हर्कुलस बस्नेत, आशिष अविरल, प्रवेश मल्लिक र बाबुल गिरीको संगीत तथा शंकर अधिकारी घायलको शब्द रचना रहेको छ ।

सुनिल कुमार थापाको निर्माण तथा झरना थापाको  सहकार्यमा निर्माण भएको चौथो सिनेमा हो । सिनेमालाई काठमाडौं उपत्यकामा गोविन्द शाहीको काफिया फिल्मस् र काठमाडौं बाहिर केदार पराजुलीको श्री कृष्ण फिल्मस्ले वितरण गर्दैछन् ।

 


Author

थप समाचार
x