सिनेमा

कस्तो छ मुकुन–मेनुकाको ‘गणपति’ ?

इकागज |
भदौ १५, २०८० शुक्रबार १२:५७ बजे

काठमाडौँ - बिहीबारबाट जनैपूर्णिमाको बिदा सदुपयोग गर्न हलमा लागेको ‘गणपति’चलचित्रले गणपति नामक चरित्रको विभिन्न कालखण्डको जीवनकथा प्रस्तुत छ । नामले यो धार्मिक चलचित्र जस्तो लागे पनि यो गणेशको आशीर्वाद पाएर जन्मिएको ठानिएको पात्रको कथा हो । उनको चरित्रले सहर उन्मुख गाउँका युवाको मनोदशा र दैनिकीलाई प्रस्तुत गरेको छ । 

बुढेसकालमा गणेशको पूजा गर्दा गर्दा प्रकाश घिमिरे र सूर्यमाला शर्माको कोखबाट गणपतिको जन्म हुन्छ । तर जन्म यस्तो स्वरुपमा हुन्छ कि ठ्याक्कै गणेश जस्तो । सुँड भएको । गणेश जन्मिएको भन्ठानेर सारा गाउँलेले पूजा गर्छन्,खुट्टा ढोग्छन् । तर एक दिन डाक्टरले गणपतिको सुँढ भगवान नभएर ट्युमर भएको बताउँछन्, गाउँ, समाज र परिवार पनि गणपतिबाट टाढिँदै जान्छ । हिजोसम्म पूज्य गणपति बेकार मानिन थाल्छ । 


यसको असर गणपतिले न पढ्न सक्छ न अरु कुनै काम नै । घरमा बाउ छोराको द्वन्द्व बढ्दै जान्छ । अझ यही बीचमा गणपतिको भाइ जन्मिएपछि त बाबुले गणपतिलाई फुटेको आँखाले पनि देख्न सक्दैनन् । तर परिवारका लागि भगवानबाट जिरोमा झरेकोे गणपति कसरी हिरो बन्छ ? चलचित्रको मोटामोटी कथा यही हो । 
चलचित्रको सुरुवात र अन्त्य सशक्त छ । बीचमा दृश्यहरू सुन्दर छन् तर अधिकांश दृश्यहरूले कथा अगाडि बढाउँदैनन् । चलचित्रको कथा बिना कुनै लक्ष्य र अवरोध साढे दुई घन्टा तन्किएको छ । यो कुरामा ध्यान दिन सकिएको भए ‘गणपति’ सुन्दर सिनेमा बन्थ्यो । तर पनि लेखक समेत रहेका निर्देशक सविन अधिकारीले पहिलो सिनेमाबाट प्रशस्त सम्भावना देखाएका छन् । 

चलचित्रमा मुख्य चरित्रको लक्ष्य स्थापित छैन । बाबुले पनि गणपतिलाई हरदम गाली गरिरहन्छन् तर पर्दामा गणपतिले गाली खाने काम गरेका दृश्यहरु स्थापित छैनन् । यसले कथामा भएको एउटा मात्र द्वन्द्वलाई पनि गहिराईमा पुर्याउन सकेको छैन । गणपति र साथीबीचका दृश्यले मज्जाले हँसाउँछन् तर तिनको उपस्थिति पनि मूलकथामा जोडिन पाएको भए सिनेमा अझ रोचक हुन्थ्यो । यसैगरी मेनुका प्रधानको चरित्र पनि कथामा यत्तिकै छुटेको छ ।

दृश्यलाई स्वेटर झैँ नबुनिएको भए पनि निर्देशक सविन अधिकारीले एक दृश्य सुन्दर बनाएका छन् । कलाकारले बोल्ने संवाद चोटिला छन् र मौलिक पनि । चरित्रको विविधिकरण पनि रोचक छ । कलाकारको अभिनय पनि राम्रो छ । फिल्मभरी छाएका मुकुन भुसालले प्रभावकारी अभिनय गरेका छन् । राजाराम पौडलले सदाझैँ हँसाउँछन् । समग्रमा ‘गणपति’ एक पटक हेर्न लायक छ । उत्ताउलो गतिका चलचित्र हेर्नेले अलि धैर्य गर्नसक्नुपर्छ र त्यति गर्न सकियो भने यो फिल्म हेरेर निस्कँदा गुनासो चाहिँ रहन्न ।  


Author

थप समाचार
x