सिनेमा

‘नाङ्गो गाउँ’ मा दयाकी ‘ सुन्दरी’ मिरुना

इकागज |
भदौ १४, २०८० बिहीबार १२:१ बजे

काठमाडौँ- नायक दयाहाङ राई र नायिका मिरुना मगरको जोडी नेपाली फिल्म क्षेत्रमा पछिल्लो समय सर्वाधिक रुचाइएको जोडी हो । यो जोडीले अभिनय गरेको तेश्रो फिल्म ‘नाङ्गो गाउँ’ भदौको २९ गतेबाट रिलिज हुँदैछ ।

फिल्ममा समावेश एक गीत सार्वजनिक भैसकेको छ । फिल्मको टिजर र ट्रेलरले दर्शकमाझ चर्चा कमाएको छ । यसैबिच, यसको निर्माणपक्षले फिल्म रिलिजका लागि ३ हप्ता बाँकी रहेको समयमा एक रोमान्टिक गीतको भिडियो छायांकन गरेको छ ।


३ दिन लगाएर चित्लाङका रमणीय स्थानमा खिचिएको भिडियोमा दया र मिरुना रोमान्टिक देखिएका छन् । ‘सुन सुन सुन्दरी’ बोलको गीतमा अन्जु पन्त र एस डी योगीको स्वर, सुष्मा सिग्देलको शब्द र सुशान्त गौतमको संगीत छ ।

रामजी लामिछानेले कोरियोग्राफी गरेको भिडियोमा आलोक शुक्लाको छायांकन छ । यो फिल्मको लेखन तथा निर्देशन दीपेन्द्र लामाले गरेका हुन् । निर्देशक लामाले केही दिनमै गीतको भिडियो सार्वजनिक गर्ने बताए ।

फिल्मका मुख्य २ कलाकार दया र मिरुना अर्को एक फिल्ममा व्यस्त भएकाले यो फिल्मको प्रचारमा समय दिन पाएका थिएनन् । अब, उनीहरुले पूर्ण रुपमा यो फिल्मको प्रचारमा समय दिने निर्मापक्षले बताएको छ । हिमाल शर्माको प्रस्तुतिमा तयार भएको यो फिल्ममा जय श्रेष्ठको लगानी छ । फिल्मका कार्यकारी निर्माता रामहरि श्रेष्ठ हुन् । यो फिल्ममा बनिष शाहको सम्पादन छ ।

यो फिल्ममा दयाहाङ राई, शिशिर वाङ्देल, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, मिरुना मगर, बुद्दि तामाङ, रविन्द्र झा, विशाल पहारी, राज थापा, कमलमणि नेपाल, अंकित खड्का, पुष्कर गुरुङ लगायतका कलाकारको अभिनय छ । 


Author

थप समाचार
x