सिनेमा

रत्‍नपार्कमा देखिने हरेक युवामा ‘जुलेबी’ को ‘छमान’ भेटिन्छ

इकागज |
साउन ३०, २०८० मंगलबार १५:५ बजे

काठमाडौं - ‘राम्रो अभिनय गर्ने कलाकार’का रुपमा चिनिएका अभिनेता सुशील सिटौला नयाँ फिल्मका साथ हलमा आउँदैछन् । उनको अभिनय रहेको फिल्म ‘जुलेबी’ यही शुक्रवारदेखि प्रदर्शनमा आउँदैछ । फिल्ममा मुख्य भूमिकामा ७ पात्रहरु छन् । सुशील यिनै सात मध्येका एक हुन् । 

सुशीलले फिल्ममा डोटीबाट काठमाडौं आएको ‘छमान’ नामक पात्रको भूमिका निर्वाह गरेका छन् । सुशील फिल्म हेरिरहँदा त्यहाँका पात्रलाई कतिपय दर्शकले आफ्नो जीवनसँग रिलेट गर्न सक्ने विश्वास लिएका छन् । ‘रत्नपार्कमा भिडभाड देख्छौं । कसैले कसैलाई चिन्दैनौं । त्यही रत्नपार्क हुँदै ओहोरदोहोर गर्ने, बागबजारमा काम गर्ने केटा हो छमान । जसले आफ्नै फरक कथा बोकेर आएको छ’ सुशील फिल्ममा आफ्नो भूमिका प्रष्टयाउँछन् ।

निर्देशक गणेशदेव पाण्डेको यसअघिको फिल्म ‘गाँजाबाजा’मा पनि थिए सुशील । उनै पाण्डेले एक दिन ‘जुलेबी’ अफर गरे। क्यारेक्टरबारे बताए । यसअघि क्यारेक्टर उस्तै–उस्तै भएर सुशीलले केही फिल्म छाडेका थिए ।  तर ‘जुलेबी’ मा निर्देशक पाण्डेले सुनाएको भूमिका बिल्कुलै फरक थियो । उनले ल भन्‍न कत्तिबेर पनि लगाएनन् ।   सुशील दाबीका साथ भन्छन् – ‘नेपाली फिल्ममा मलाई अहिलेसम्म नदेख्नुभएको क्यारेक्टर यसमा देख्नुहुनेछ ।’

फिल्मको छायांकन गुरिल्ला स्टाइलमा भएको सुशील बताउँछन् । रत्नपार्कमा उपस्थित मानिसहरुले सुटिङ चलिरहेको खास्सै पत्तो पाएनन् । कलाकारहरु निश्चित ठाउँमा गएर उभिन्थे, निर्माण टिमको एकजना साइडबाट एक्सन भनेर क्रस हुन्थे । टाढाबाट क्यामेराले खिचिरहेको हुन्थ्यो ।
‘यसरी काम गर्दाका अनुभव चखिलो रह्यो । दर्शकलाई कस्तो लाग्छ,हामी पनि जान्‍न उत्सुक छौँ ’ उनले भने ।

'होस्टेल रिटर्नस्' अभिनेता सुशीलको पहिलो फिल्म हो । यद्यपि, त्यसपछि उनका धेरै फिल्म प्रदर्शनमा आइसके । ती फिल्ममा उनले फरक फरक क्यारेक्टर निर्वाह गरे । आफूले हरेक फिल्ममा फरक–फरक भूमिका निर्वाह गर्ने प्रयास गरिरहेको उनी बताउँछन् ।


‘जुलेबी’मा सुशीलका अलावा सुरक्षा पन्त, उषा रजक, नीशा अधिकारी, पुश्कर कार्की, तुफान थापा, मोनिका थापा लगायतको अभिनय छ । सबै कलाकारहरुले फिल्ममा राम्रो अभिनय गरेको सुशील बताउँछन् । फिल्मको टिजर, ट्रेलरलाई लिएर दर्शकहरुबाट एक खालको सकारात्मक प्रतिक्रिया मिलिरहेको छ । नयाँ स्वादको फिल्म आएको भन्दै दर्शकले रुचि देखाएका छन् । अब व्यापार कस्तो गर्ने हो ? त्यसका लागि भने केही दिन कुर्नुपर्ने छ । ‘मुख्य भनेको दर्शक हो । फिल्म उहाँहरुलाई मन पर्नुपर्यो । कतिपय फिल्मको ट्रेलरले त्यति बज गरिरहेको हुँदैन । तर, प्रदर्शनमा आइसकेपछि माउथ पब्लिसिटीका कारण राम्रो भएका कतिपय फिल्महरु पनि छन्’ सुशील भन्छन्, ‘'जुलेबी’को सन्दर्भमा पनि राम्रो हुने भाइब्स आइरहेको छ । एकपटक हेरिसकेका दर्शकले दोहोर्याई तेर्याही हेर्छन् जस्तो लागिरहेको छ ।’ 


Author

थप समाचार
x