सिनेमा

‘टाइटानिक’मा केटले लगाएको कोट लिलामीमा

इकागज |
साउन २८, २०८० आइतबार १५:३० बजे

लसएन्जल्स - ‘टाइटानिक’मा अभिनेत्री केट विन्स्लेटले लगाएको ओभरकोट लिलामीमा राखिने भएको छ । फिल्मभित्र जहाज डुब्नुअघि केटले लगाएको गुलाबी रङको कोट लिलामीमा राखिने भएको हो । लिलामीमा यसले कम्तिमा १ लाख डलर पाउने अपेक्षा गरिएको छ । 

गोल्डिन हाउसले यसको लिलामी गर्न लागेको हो र कोट कमसेकम १ लाख डलरमा बिक्री हुने दाबी गरेको छ । लिलामी हाउसका प्रमुख केन गोल्डिनले लिलामीको सूचना सार्वजनिक भएसँगै ५ जना ग्राहक आइसकेको र उनीहरूमध्ये एकले ३४ हजार डलरमा किन्ने इच्छा व्यक्त गरिसकेको बताएका छन् । 


यो कोट डिबोरा लिनले तयार गरेकी हुन् । सन् १९९७ मा रिलिज भएको यो फिल्मबाट उनले कस्ट्युयम विधाको ओस्कार अवार्ड पनि जितेकी थिइन् । गुलाबी उनमा बनेको कोटको अगाडिको भागमा कालो रङको इम्ब्रोइडरी गरिएको छ ।

केनले आफूसँगै लिलामीका लागि रहेका हजार वटा सामानमध्ये केटले लगाएको यो कोट महत्वपूर्ण रहेको बताएका छन् । उनले यो कोट घरमा राख्न अथवा प्रेमिका वा श्रीमतिलाई उपहार दिन उपयुक्त हुने बताएका छन् ।

‘आफ्नो श्रीमतिलाई उपहार दिन वा महिला स्वयंले किनेर पनि लगाउन सक्ने बहुमूल्य सामान हो,’केनको भनाइ छ, ‘ यो लगाएर देख्यौ त यो केट विन्स्लेटले टाइटानिकमा लगाएको कोट हो भन्न पनि कम मज्जा आउँछ जस्तो लाग्दैन ।’ जेम्स क्यामरुन निर्देशित यो फिल्मले ओस्कारमा दस वटा अवार्ड जितेको थियो ।


Author

थप समाचार
x