सिनेमा

अविनाशको ‘एलिफेन्ट इन द फग’लाई ह्युबर्ट र बर्लिनालेको १ करोड ४० लाख बराबरको फन्ड

इकागज |
साउन २६, २०८० शुक्रबार १३:५६ बजे

काठमाडौँ - अविनाश विक्रम शाहले निर्देशन रहने चलचित्र ‘एलिफेन्ट इन द फग’ले बर्लिनको वर्ल्ड सिनेमा फन्ड जितेको छ । चलचित्रले ४० हजार युरो बराबरको रकम जितेको हो । फिल्मका निर्माता अनुप पौडेलले नेपालीमा यो रकम रुपान्तरण गर्दा ५२ लाख हुन आउने जानकारी गराए । 

बर्लिनाले वर्ल्ड सिनेमा फन्ड भनिने यो कार्यक्रमको ३८ औँ संस्करणमा जुरीले १३ वटा फिल्मलाई सहयोग गर्ने घोषणा गरेका हुन् । जसमा नेपालबाहेक, भुटान, ब्राजिल, इन्डोनेसिया, इजरायल, प्यालेस्टाइन, सोमालिया, सुडान, टर्की आदि देश रहेका छन् । जुरीले १० फिल्मलाई प्रडक्सन फन्ड र तीन वटालाई वितरणको रकमका लागि सिफारिस गरेका हुन् ।


बर्लिनाले वर्ल्ड सिनेमा फन्डले ५० देशका १ सय ४० फिल्मबाट १३ वटा उत्कृष्ट चलचित्र छानेको जानकारी गराएको छ । निर्माता अनुप पौडेलले जर्मनीबाट प्राप्त रकमले फिल्म निर्माणमा सुविधा भएको बताए ।

‘अफकोर्स यो राम्रै रकम हो । तर, यो रकम एकैचोटि प्रयोग गर्न चाहिँ पाइँदैन,’ उनले स्पष्ट पारे, ‘यो फन्ड प्राप्त गर्न जर्मन निर्माता अनिवार्य हुनुपर्छ र उहाँहरूले साढे ७ प्रतिशत जति रकम लिनुहुन्छ । तर किस्ताबन्दीमा आए पनि यसले हामीलाई निर्माणमा राम्रै सहयोग हुन्छ ।’ अनुपले पहिलो किस्तामा ५० प्रतिशत आउने र बाँकी कामको विकाससँगै प्राप्त हुँदै जाने बताए ।

चलचित्रले नेदरल्यान्डको ६० हजार युरोको ह्युबर्ट बल्स फन्ड पनि जितिसकेको छ । नेपालीमा यो रकम लगभग ७८ लाख हुन आउँछ । चलचित्रले  माइनोरोटी को- प्रडक्सन अन्तर्गत यो रकम जितेको यसको अफिसियल पेजमा उल्लेख छ । चलचित्रले सन्डान्स ल्याबबाट डेभलपमेन्ट फन्ड पनि पाएको थियो ।

अविनाश विक्रम शाहको लेखनसमेत रहेको चलचित्रले अर्को एउटा देशको फन्ड पनि जितेको छ । तर अनुपले यसको घोषणा नभई सकेकोले उल्लेख नगर्ने बताए ।  शाहको यो फिल्म भेनिसको 'ग्याप फाइनान्सिङ मार्केट'मा पनि छनौट भएको छ । भेनिसको यो संस्करण यही अगस्ट ३० बाट सुरु हुँदैछ ।

आउँदो जनवरी महिनामा सुटिङ गर्ने लक्ष्य राखिएको फिल्मले प्रेमीसँग विवाह गरेर ढुक्कको जीवन बिताउने पिरती नामकी पारलैंगिक महिलाको छोरी हराएपछिको उथुलपुथललाई चित्रण गरिएको छ ।  अनुपका अनुसार फिल्मको कुल बजेट ८ करोड हाराहारी रहेको छ । 


Author

थप समाचार
x