सिनेमा

‘बगान’को सफलताबाट के सिक्‍ने ?

इकागज |
साउन २२, २०८० सोमबार ९:४४ बजे

काठमाडौँ -  सरोज खनालको डेब्यू निर्देशन रहेको ‘बगान’ अहिले चौथो हप्तामा चलिरहेको छ । ‘जारी’पछि कुनै पनि फिल्म हलमा दुई दिन पनि टिक्न मुस्किल भइरहेको समयमा ‘बगान’ चार हप्ता टिक्नु, सफलताको संकेत हो । योसँगै फिल्मले गरेको व्यापारको आँकडाले जलप लगाएको छ । चौथो हप्तामा आइपुग्दा फिल्म एक करोड ५० लाख बराबरको व्यापार गरेको छ । 

सानो बजेटको यो फिल्मले हल प्रदर्शनबाटै लगानी सुरक्षित गरेको अनुमान गर्न सकिन्छ । किनकि यो फिल्ममा न त महंगा सेट छन् न खर्चिला कलाकार । पारिवारिक कथामा बनेको फिल्मको खिचाइमा पनि तडकभडक छैन । ‘बगान’को व्यापारले दिएको सन्देश हो, महंगा कलाकार वा खर्चिला गीत बिना पनि दर्शकलाई हलमा बोलाउन सकिन्छ । अनि यसको सफलताले दिएको अर्को ठूलो सन्देश हो, पारिवारिक कथामा फिल्म बनाउनू, दर्शक ओइरिन्छन् ।


‘बगान’ले एकल महिलाको विवाहको कथालाई प्रस्तुत गरेको छ । चलचित्रले प्रचार प्रसारमा एकल महिलालाई निःशुल्क फिल्म देखाउने स्किम ल्याएको थियो । यो स्किमले यो कलेक्सनमा कत्तिको योगदान गर्यो, आउँदो दिनमा स्पष्ट हुनेछ । किनकि हलमा एकल महिलाको आइडी देखाउनेलाई हलले टिकट दिएको छ जसको रकम निर्माताले हललाई फिर्ता गर्नुपर्नेछ । काठमाडौँका वितरक करण श्रेष्ठका अनुसार काठमाडौँमा निर्माताले डेढ लाख बराबरको टिकटको रकम हललाई तिर्नुपर्नेछ जुन उति ठूलो रकम होइन । तर काठमाडौँबाहिर यो रकम धेरै हुनसक्छ । यसले फिल्मको नेट कमाइमा तलमाथि पार्ला तर नेपाली फिल्मको प्रभाव यस्तो छ कि निःशुल्क नै फिल्म देखाउँछु भन्यो भने पनि धेरै जसो फिल्मले दर्शक पाउँदैनन् । यस्तो अवस्थामा निःशुल्क नै सही एकल महिला फिल्म हेर्न आएका हुन् भने यो फिल्मको सफलता हो । किनकि गृहिणीलाई हलमा लैजान सजिलो छैन ।

नेपालमा अहिले कस्ता फिल्म चल्छन् भन्यो भने धेरैको उत्तर हुन्छ कि ‘छक्का पन्जा’ जस्ता कि दयाहाङ राई र सौगात मल्ल भाका । यो भनेको कमेडी फिल्म चल्छन् भनेको हो । तर ‘बगान’को व्यापारले दर्शकमा पारिवारिक कथामा बनेका चलचित्र हेर्ने तृष्णा रहेको बताउँछ । कमेडी नभेटिरहेका वा दयाहाङ–सौगातको डेट नपाएका निर्माता तथा निर्देशकले यो फिल्मबाट विकल्पको खोजी गर्न सक्छन् । 

परम्परागत शैलीमा फिल्म बनाउनेहरू अहिले पनि ‘लुट’पछि नेपाली सिनेमाका दर्शक भड्किएको दाबी गर्छन् । उनीहरूको आलोचनामा सत्यताको अंश छ किनभने ‘लुट’ त्यो दर्शकलाई हलमा ल्यायो जुन नेपाली फिल्मका दर्शक हुन्थेनन् । तर यो फिल्मलाई पछ्याउँदै बनेका अन्य फिल्मपछि नेपाली फिल्मले ती दर्शक गुमायो जो नेपाली फिल्मका नियमित दर्शक थिए । यसमा पारिवारिक फिल्ममा आउने हिस्सा ठूलो थियो । आज त्यो दर्शक ‘छक्का पञ्जा’ चल्दा वा मह जोडीका फिल्म चल्दा आउँछ, नत्र आउँदैन । ‘बगान’ थोरै सही त्यस्ता दर्शक फर्काएको छ ।

यो फिल्म अहिले पनि देशभरका ३८ वटा हलमा चलिरहेको छ । जसमा काठमाडौँको हलसंख्या १५ रहेको छ भने बाहिरको २३ । यसको असर फिल्मको कलेक्सनमा पनि देखिएको छ । अर्था् यो फिल्मको ग्रस कमाइमा काठमाडौँको भन्दा काठमाडौँ बाहिरको योगदान धेरै छ । काठमाडौँ वितरक करण श्रेष्ठका अनुसार काठमाडौँमा यो फिल्मले अहिलेसम्म ६० लाखको व्यापार गरेको छ । १ करोड ५० लाखको व्यापार गरेको मान्ने हो भने यो फिल्मले काठमाडौँबाहिरबाट मात्र ९० लाखको व्यापार गरेको छ ।

काठमाडौँको व्यापारमा प्रभावित हुनमा ‘बगान’सँगै रिलिज भएका ‘बार्बी’ र ‘ओप्पनहोइमर’को योगदान छ । तर काठमाडौँ यी फिल्मको जति प्रभाव थियो, काठमाडौँमा त्यति नै कम । फलतः काठमाडौँबाहिर फिल्मले ज्यादा कमाइ गरेको हो जुन विरलै हुनेगर्छ ।


 


Author

थप समाचार
x