सिनेमा

'एक्स नाइन'मा नजुरेको अनमोल- नीतिको जोडी  जुर्‍यो 'रावायण'मा

इकागज |
साउन १८, २०८० बिहीबार १३:७ बजे

काठमाडौँ - कुनै समय मल्पी स्कुलका सहपाठी अनमोल केसी र नीति शाह अन्ततः एउटै फिल्ममा देखिने भएका छन् । सुदर्शन थापाको निर्देशन रहने ‘रावायण’मा निर्देशक थापाले अनमोलसँगै नीति शाहलाई फाइनल गरेका हुन् । अनमोल र नीति दुवैसँग औपचारिक सम्झौता भएको निर्माता सुप्रिया कटुवालले जनाएकी छिन् । उनले बजारमा धेरै खाले हल्ला चलेको भन्दै दुई कलाकार फिल्ममा अनुबन्ध भएको जानकारी गराएकी हुन् । यसअघि दुवैले 'एक्स नाइन'साइन गरेका थिए । तर बेलामा फ्लाेरमा नगएपछि दुवैले यो फिल्म छाडेका थिए ।

मुम्बईमा अभिनयको कोर्स गरिरहेकी नीति यही फिल्मका लागि फर्किएकी हुन् । उनले अभिनयमै जम्नका लागि अनुप बरालसँग पनि तीन महिने कोर्स गरेकी थिइन् । 
यही बीचमा नीतिले प्रदीप खड्कासँग जोडी बाँध्ने गरी ‘कामिनो’ साइन गरेकी थिइन् तर बेलामा सुटिङ नभएपछि उनले यो फिल्म छाडेकी थिइन् । 


अनमोलले ‘रावायण’ साइन गरेसँगै उनको कुन फिल्म पहिला सुटिङमा जाने भन्ने चाहिँ अन्यौल सिर्जना भएको छ । भदौमा जाने गरी उनले रोहित अधिकारीको निर्माण रहने ‘फर्की फर्की’ साइन गरेका थिए । यही बीचमा अभिनेता भुवन केसीले पनि होम प्रडक्सनबाट फिल्म बनाउने घोषणा गरेका थिए र फ्लोरमा जाने समय भदौ–असोज रहने बताएका थिए । 

यही बीचमा ‘रावायण’को प्रवेश भएपछि ‘फर्की फर्की’ र ‘रावायण’बीच कुन फिल्म पहिला जाने भन्ने दौड सुरु भएको छ । निर्माता कटुवालले यही हल्लालाई संकेत गर्दै हल्ला चिर्नलाई जानकारी गराएको बताएकी छिन् ।

फिल्म ‘रावायण’मा अनमोल दोहोरो भूमिकामा रहने चर्चा छ । निर्देशक थापा सुटिङको तयारीका लागि हाल लोकेसनको खोजीमा तराईका जिल्ला घुमिरहेका छन् । उनले जनकपुर र वीरगन्जतिर सुटिङ गर्ने तयारी गरिरहेको चर्चा छ । 
 


Author

थप समाचार
x