सिनेमा

टोरन्टोमा छानियो सगरमाथा आरोही लाक्पा शेर्पामाथि बनेको डकुमेन्ट्री

इकागज |
साउन ११, २०८० बिहीबार १६:९ बजे

काठमाडौँ  - १० पटककी सगरमाथा आरोही लाक्पा शेर्पामाथि बनेको डकुमेन्ट्री ‘माउन्टेन क्विन : दि समिट अफ लाक्पा शेर्पा’ टोरन्टो इन्टरनेसनल फिल्म फेस्टिभलमा छनौट भएको छ । फेस्टिभलले बुधबार डकुमेन्ट्रीतिरको लाइनअप सार्वजनिक गरेको थियो । ‘माउन्टेन क्विन’ दुई दुई पटक यही विधामा अस्करमा मनोनयनमा परेकी लुसी वाकरले तयार गरेकी हुन् । 

अशिक्षित लाक्पाले अमेरिका उड्नु अघि जीविकाका लागि दस पटकसम्म सगरमाथा आरोहण गरेकी थिइन् । १० पटकसम्म सगरमाथा आरोहण गर्ने उनी पहिलो महिला हुन् । बुधबार टम पावर्सले डकुमेन्ट्रीको लाइनअप सार्वजनिक गर्दै दुनियाँले चाल नपाएका ठूला स्टार डकुमेन्ट्रीमा हुने र तिनको बारेमा फिल्म हेरिसकेपछि मात्र चाल पाइने बताउँदै लाक्पाको चर्चा गरेका थिए । ‘जस्ता कि माउन्टेन क्विन,’ उनले सम्बोधनका क्रममा भनेका थिए, ‘ सगरमाथा आरोही लाक्पा शेर्पा, म दाबाका साथ भन्न सक्छु कि फिल्मको प्रदर्शनपछि उनी दर्शकको जीवनमा ठूलो स्टारको रुपमा यादगार रहनेछिन् ।’


निर्देशक लुसी वाकरले पनि एकल महिलाको रुपमा छोरीहरू हुर्काउन उनले गरेको संघर्ष प्रेरणादायी रहेको बताएकी छिन् ।टोरन्टोको ४८ औँ संस्करण आउँदो सेप्टेम्बर ७ देखि १७ सम्म क्यानडामा सुचारु हुनेछ । फिचर फिल्म तर्फको लाइनअप सोमबार सार्वजनिक गरिएको थियो । जसमा पहिलो चरणमा ६० वटा फिल्मको नाम घोषणा गरिएको छ । 


Author

थप समाचार
x