सिनेमा

भेनिस फिल्म फेस्टिभलको प्रतिस्पर्धामा फिडेल देवकोटा निर्देशित ‘दि रेड सुटकेस’

इकागज |
साउन ९, २०८० मंगलबार १५:५० बजे

काठमाडौँ -  फिडेल देवकोटा निर्देशित ‘दि रेड सुटकेस’ भेनिस फिल्म फेस्टिभलमा छनौट भएको छ । आइसफल प्रडक्सनका लागि रामकृष्ण पोखरेलले निर्माण गरेको फिल्म भेनिसको दोस्रो मुख्य प्रतिस्पर्धा होराइजन विधामा छनौट भएको हो । वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावको कथा बयान गर्ने फिल्मलाई फिडेल स्वयंले लेखेका हुन् । 

विदेशी निर्माता र छायांकार बिना नै विश्वको प्रतिष्ठित फेस्टिभलमा छनौट हुने ‘दि रेड सुटकेस’ पहिलो फिल्म बनेको छ । नेपालको प्रतिनिधित्व गरेर यसअघि भेनिस पुगेका ‘कालो पोथी’ र ‘सेतो सूर्य’ दुवैमा निर्माता तथा छायांकार विदेशी थिए । जर्मनीको युनिभर्सिटीमा भिज्युवल एन्थ्रोपोलोजी प्राध्यापन गर्ने फिडेलको यो डेब्यू फिल्म हो । 


निर्देशक फिडेल देवकोटा (बीच) का साथ निर्माता रामकृष्ण पाेखरेल र छायाँकार सुशन प्रजापती 

फिल्ममा सौगात मल्ल, विपिन कार्की, प्रविन खतिवडा, सृष्टि श्रेष्ठ आदि कलाकारको अभिनय रहेको छ । विपिनले यही फिल्मका लागि एक पैसा नलिई काम गरेको अन्तर्वार्ता दिएका थिए । इटलीको भेनिस सहरमा हुने फेस्टिभलको ८० औँ संस्करण अगस्ट ३० देखि सुरु भएर सेप्टेम्बर ९ सम्म चल्नेछ । 


Author

थप समाचार
x