सिनेमा

कार्म र मेनुका अभीनित 'महानगर' भदौ ८ मा

इकागज |
साउन ९, २०८० मंगलबार १५:१४ बजे

काठमाडौँ - नेपाली कथानक चलचित्र ‘महानगर’ (वान् नाइट इन् काठमाडौं) भदौ ८ मा सार्वजनिक प्रदर्शनमा आउने भएको छ । एक साँझ दुई अपरिचित व्यक्तिको अनायस हुने भेट र त्यसपछिको घट्नाक्रमको कथालाई लिएर बनेको सो चलचित्रमा कार्म र मेनुका प्रधानको मुख्य भूमिका रहेको छ । ’महानगर’को लेखन तथा निर्देशन मोहन राईले गरेको हुन् ।

सन् २०२१ म कोलकाता अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा विश्व प्रिमियर भएको यस चलचित्र अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिभल, नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल, वासिङ्गटन डी.सी. साउथ एसियन फिल्म फेस्टिभल, स्पेनको एसियन फिल्म फेस्टिभल बार्सिलोना र नेपालको पामे अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल र नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)मा अफिसियल स्क्रिनिङ्ग भइसकेको छ । यसका साथै इण्डस भ्याली इन्टरन्याश्नल फिल्म फेस्टिभल तथा हालै भारतको जागरण फिल्म फेस्टिभलमा पनि ’महानगर’ छनौट भएको छ ।


चलचित्रले निफमा राष्ट्रिय चलचित्रको क्याटगोरीमा उत्कृष्ट चलचित्र, उत्कृष्ट पटकथा, अभिनय तथा निर्देशनको अवार्ड प्राप्त गरेको थियो भने नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा नेपाली पानोरामअन्तर्गत अनरेवल मेन्सन प्राप्त गरेको थियो । साथै इण्डस भ्याली इन्टरन्याश्नल फिल्म फेस्टिभलमा चलचित्रले ‘मोस्ट इन्सिपिरेश्नल थीम’ अवार्ड तथा कार्मले अभिनयका लागि स्पेशल जुरी मेन्सन अवार्ड प्राप्त गरेका थिए ।

निर्देशक राईले विभिन्न देशका फेस्टिभलको यात्रा पछि घरेलु दर्शकका लागि चलचित्र प्रदर्शन गर्न लागेको जनाएका छन् । उनले चलचित्रले विभिन्न सपना बोकेर महानगर भित्रिने युवाको सपना र यथार्थलाई फिल्ममार्फत अभिव्यक्त गर्ने प्रयास गरेको जनाए ।

‘महानगरको मुख्य पात्रझैँ नेपालको पूर्वी जिल्लाको एउटा सानो गाउँबाट एउटा सपना बोकेर म पनि वर्षौं पहिला काठमाडौँ आएको थिएँ । काठमाडौँमा बाहिरिया भएर बाँच्नु र सङ्घर्ष गर्नुको मेरो आफ्नै भोगाइ छ । मेरो यही अनुभव र भोगाइलाई क्यामरामार्फत पर्दामा उतारुँ भन्ने सोचले महानगर बनाएको हो । तर खासमा यो चलचित्र ‘ह्युमन कनेक्सन्’ र ‘होप’ बारेको चलचित्र हो,’ उनको भनाइ छ ।

माउन्टेन रिभर फिल्मस् तथा गो विन् प्रोडक्सन्स सँगको सहकार्यमा मिडलवे फिल्मस्ले निर्माण गरेको भने चलचित्रमा नरेन्द्र मैनालीको छायाङ्कन, परिक्षित झाको सम्पादन, किशोर आर्चायको ध्वनि सम्पादन तथा पुष्पासंगमको संगीत रहेको छ । चलचित्रको कार्यकारी निर्माता गोविन्द पराजुली हुन भने क्रियटिभ निर्माता नवनिधि दाहाल रहेका छन्।  सिनेमामा अनोज पाण्डे, शोविता अधिकारी, जीवन बराल, परीक्षितविक्रम राणा, चन्द्र पाण्डे लगायतका कलाकार पनि अभिनय रहेको छ ।


Author

थप समाचार
x