सिनेमा

यी हुन् गत आर्थिक वर्षमा सर्वाधिक व्यापार गर्ने १० नेपाली चलचित्र

इकागज |
साउन ४, २०८० बिहीबार १६:१३ बजे

काठमाडौँ - चलचित्र विकास बोर्डले गत आर्थिक वर्षमा सार्वजनिक भएका फिल्मको सूचीले तिनले गरेको व्यापारको आँकडा सार्वजनिक गरेको छ । 
बोर्डले बिहीबार सूची जारी गर्दै गत आर्थिक वर्षमा ५७ वटा नेपाली चलचित्र प्रदर्शन भएको र यसरी सार्वजनिक भएका चलचित्रले ७६ करोड ७२ लाख ५७ हजार रुपैँयाको ग्रस कारोबार गरेको जनाएको छ । 

विदेशीतर्फ भने ७८ वटा चलचित्र प्रदर्शन भएको र विदेशी चलचित्रले ७९ करोड ४३ लाख ४ हजार ग्रस गरेको जनाएको छ । यसैगरी बोर्डले सार्वजनिक गरेको सूचीमा यो वर्ष सर्वाधिक व्यापार गर्ने सूचीमा ‘छक्का पञ्जा ४’ रहेको छ । यो फिल्मले १७ करोड ५२ लाख ग्रस गरेको छ ।  दोस्रोमा ‘जारी’ रहेको छ । सयौँ दिन मनाउने तरखरमा रहेको चलचित्रले १७ करोड १७ लाख ग्रस गरेको आँकडा छ ।


सर्वाधिक कमाइ गर्ने सूचीको तेस्रो स्थानमा ‘प्रेमगीत ३’ रहेको छ । यो चलचित्रले ७ करोड ७० लाखको कारोबार गरेको छ । नवौँ स्थानमा रहेको यही फिल्मको हिन्दी भर्जनले २ करोड २७ लाख व्यापार गरेको छ । सर्वाधिक कमाइ गर्ने फिल्मको चौथो नम्बरमा ‘महापुरुष’ रहेको छ । यो चलचित्रले ७ करोड ३८ लाख ग्रस गरेको आँकडाले देखाउँछ । 

५ औँ स्थानमा दीपेन्द्र लामा निर्देशित ‘दुई नम्बरी’ रहेको छ । यो चलचित्रले बक्स अफिसमा तीन करोड ८४ लाख ग्रस गरेको थियो । सूचीको छैटौँ स्थानमा रामबाबु गुरुङ निर्देशित ‘फूलबारी’ रहेको छ । विपिन कार्की र अरुणा कार्कीको मुख्य भूमिका रहेको यो चलचित्रले ३ करोड ५३ लाख ग्रस गरेको थियो । सातौँ र आठौँ स्थानमा भने क्रमशः ‘झिंगेदाउ’ र ‘के घर के डेरा’ रहेका छन् ।  ‘झिंगेदाउ’ले ३ करोड ४१ लाख ग्रस गरेको थियो भने ‘के घर के डेरा’ले २ करोड ६५ लाख ग्रस गरेको थियो । 

दसौँ स्थानमा भने प्रदीप खड्का अभीनित ‘प्रकाश’ रहेको छ ।  यो फिल्मले १ करोड ७५ लाख ग्रस गरेको विकास बोर्डको तथ्यांकले देखाउँछ । सर्वाधिक कमाइ गर्ने फिल्मको सूचीमा दयाहाङ  राई अभीनित ४ फिल्म परेका छन् ।  दयाहाङले अभिनय गरेका ‘जारी’, ‘दुई नम्बरी’, ‘फूलबारी’ र ‘के घर के डेरा’ले उत्कृष्ट १० मा ठाउँ पाएका छन् । दयाहाङपछि प्रदीप खड्का अभीनित ‘प्रेमगीत ३’ र ‘प्रकाश’ले दस फिल्ममा स्थान बनाएका छन् ।

विकास बोर्डको यो डाटामा  १० देखि १५ प्रतिशत तथ्यांक कम हुने बताइने गरेको छ । कतिपयको सिनेमाघर बक्स अफिस सिस्टममा नजोडिएको र कतिपय अवस्थामा टिक बेच्ने सिस्टम बिग्रिएर म्यानुएल्ली बेच्ने कारणले तथ्यांकमा १० देखि १५ प्रतिशतको विचलन हुन सक्ने बोर्डले बताउने गरेको छ । 
 


Author

थप समाचार
x