सिनेमा

सारुक प्रकरणमा नयाँ खुलासा : नम्रताले मध्यरातमा मसानघाट लगेकी थिइन् सारुक र निर्देशकलाई

इकागज |
असार ३०, २०८० शनिबार १६:५ बजे

काठमाडौँ- सारुक ताम्राकारको आत्महत्याको सत्यतथ्य छानबिनको माग चलिरहँदा फिल्म युनिटले नयाँ रहस्य उद्घाटन गरेको छ । युनिटका एक सदस्यका अनुसार ६ महिनाअघि अभिनेत्री नम्रता श्रेष्ठले सारुक र ‘ह्यासट्याग माया’का निर्देशक राजीव गुरुङलाई मध्यरातमा दोलालघाटको मसानघाटमा लगेर बुटी बाँधिदिएकी थिइन् । त्यो बुटी बाँधेपछि सारुक र राजीव गुरुङ नम्रताप्रति नतमस्तक हुने गरेको प्रत्यक्षदर्शीको भनाइ छ ।

‘यो ६ महिनाअघिको कुरा रहेछ । उहाँहरू मध्यरात १२ बजे दोलालघाट गएर कालो बोको पूजा गरेर बुटी बाँधेर फर्कनु भएको रहेछ । त्यसयता दुवैमा हामीले अर्कैखाले परिवर्तन देखेका थियौँ । सारुकले आत्महत्या जस्तो कदम चाल्नमा कतै यो कुराको पनि भूमिका छ कि भन्ने हामीलाई लागिरहेको छ,’ ती सदस्यले इकागजसँग भने ।


उनका अनुसार मध्यरातमा कालो बोको पूजा गरेर तीनैजना त्यसको मासु खाएर फर्किएका थिए । फिल्म युनिटका सदस्यको यो कुरालाई सारुकका बुबा सानु ताम्राकारले पनि पुष्टि गरे । उनले आफूले केही समय पहिले छोरालाई सुनको सिक्री लगाउन दिएको तर आत्महत्याका बखत सिक्रिको ठाउँमा बुटी मात्र भेटेको उनले जनाए ।

‘हामीलाई पनि थाहा थिएन उसले बुटी लगाइरहेको रहेछ । कहाँ के कसरी आयो थाहा भएन तर अन्तिममा समयमा उसको घाँटीमा त्यो बुटी चाहिँ थियो,’ सानुले इकागजसँग भने । निर्देशक राजीव गुरुङले सारुकको घटनापछि त्यो बुटी खोलामा मिल्काएका छन् । युनिटका सदस्यले आफूले यो कुरा थाहा पाएपछि तुरुन्तै खोलेर मिल्काउन लगाएको जानकारी गराए ।

‘निर्देशकले दोलालघाटको कुरा सुनाएपछि तुरुन्तै मैले निकालेर धोबीखोलामा मिल्काउन लगाएको थिएँ । यसपछि उहाँ पहिलेभन्दा धेरै स्वस्थ भएको महसुस गरेका छौँ,’ ती सदस्यले भने । सारुकको आत्महत्याको आज दसौँ दिन पुगेको छ । पिता सानु ताम्राकारले आफूले कसैविरुद्ध किटानी जाहेरी नदिएको भए पनि छोराको दुर्घटनाको कारण थाहा पाउने इच्छा रहेको बताएका छन् ।

‘भर्खरै भोजमा आउँछु भनेको मान्छे, त्यस्तो गर्न पुगेछ । मेरो छोरा त गइहाल्यो तर पनि कारण जान्न पाए हुन्थ्यो भन्ने लागेको छ । प्रहरीले मोबाइल लगेर अनुसन्धान गरिरहेको छु भनेको छ । भाइभतिजहरू लागेका छन् । केही रहस्य खुल्छ कि,’ सानुले भने ।

 निर्देशक राजीव गुरुङले पनि नम्रताको भनाइमा लागेर दोलालघाट गएको स्वीकार गरे । उनले भने, ‘ नम्रताले हामीलाई फाइनान्सियल्ली पनि राम्रो हुन्छ । अरु कुरा पनि राम्रो हुँदै जान्छ भनेर भनेपछि हामी कन्भिन्स भयौँ । हामी त्यही ५–६ महिनाअघि एक दिन साँझ ५ बजेतिर दोलालघाट पुग्यौँ । यसरीमा जानेमा सारुक, नम्रता र मबाहेक गुरु पनि हुनुहुन्थ्यो । बेलुकी नजिकैको शिव मन्दिरमा पूजा गर्यौँ । उनीहरूले मलाई तपाईँ होटलमै बस्नु, पहिलोचोटि गाह्रो हुन्छ भनेर भन्यो । त्यसैले म होटलमै बसेँ । उनीहरू मध्यरातमा बोका लिएर गयो र के गर्यो थाहा भएन । पछि हामी बोका होटलमा खाएर फर्किएको हो । उनीहरूले तपाईँका लागि भनेर मलाई पनि एउटा बुटी दिएको थियो जुन मैले अस्ति भर्खरै मिल्काएँ ।’

राजीवले बुटी लगाएपछि केही फरक पर्यो कि परेन भन्ने कुरा चाहिँ आफूले भन्न नसक्ने बताए । ​यसैबीच नम्रता भने क्यानडा उड्न लागेको चर्चा चलेको छ । उनी केही समयपछि क्यानडा उड्ने कार्यक्रम भए पनि उनले टिकट सारेर भारतबाट उड्न लागेको चर्चा छ ।


Author

थप समाचार
x