सिनेमा

हलिउडमा लेखकपछि कलाकार पनि हडतालमा, हडतालले भेनिस र टोरन्टो खाली हुने डर

इकागज |
असार २९, २०८० शुक्रबार १६:४३ बजे

लसएन्जल्स- बिहीबार साँझबाट हलिउडमा कलाकार पनि हडतालमा उत्रिएका छन् । कलाकारहरूको संस्था स्क्रिन एक्टर्स गिल्ड र अमेरिकन फेडरेसन अफ टेलिभिजन एन्ड रेडियो आर्टिस्टले बिहीबारदेखि आफूहरूले राखेका माग अलायन्स अफ मोसन पिक्चर एसोसिएसन एन्ड टेलिभिजन प्रोड्युसर्सले पूरा नगरेको भन्दै हडतालमा उत्रिएको जनाएको छ । पारिश्रमिकमा वृद्धि, पेन्सन, स्वास्थ्यका लागि रकम, अडिसनमा सुरक्षा, एआइको प्रयोग नगर्ने सुनिश्चितता आदि विषय राखेर बुधबारसम्म चलेको छलफल कुनै सहमतिमा नटुंगिएपछि बिहीबारबाटै कलाकारको संस्था हड्तालमा उत्रिएको हो । यही कारण बिहीबार भएको क्रिस्टोफोर नोलान निर्देशित ‘ओपनहेइमर’ प्रिमियरसमेत खल्लो भएको थियो ।  फिल्मका कलाकार म्याट डेमोन, सिलियन मर्फी,फ्लोरेन्स पु, एमली ब्लन्ट आदि कलाकार रेड कार्पेटमा  फोटो मात्र खिचाएर फर्किएका थिए ।

हडतालको घोषणापछि कलाकारलाई फिल्मको प्रिमियर, अवार्ड सोज, सोसल मिडिया प्रमोसन र अन्तर्वार्ता पनि दिन नपाइने बताइएको छ । संगठनले कमिक कन अन्तर्गत हुने नयाँ वा पुराना कामको प्रचार गर्न पनि प्रतिबन्ध लगाएको छ । लेखकहरूको संस्था मे २ देखिनै अलायन्स अफ मोसन पिक्चर एसोसिएसन एन्ड टेलिभिजन प्रोड्युसर्स विरुद्ध आन्दोलनमा छ । लेखकहरूको आन्दोलनले धेरै काम प्रभावित भइरहेको बताए पनि निर्माताहरूको संस्थाले लेखकका माग पूरा गर्न सकेको छैन । यही बीचमा कलाकारहरु पनि थपिएका छन् । योपछि लेखकहरुको संस्था स्क्रिनराइटर्स गिल्डले कलाकारको आन्दोलनमा आफ्नो ऐक्यवद्धता रहेको जनाएको छ । लेखकहरूले पनि पारिश्रमिक वृद्धि गर्नुपर्ने मागसहित आन्दोलन थालेका थिए । 


कलाकारको आन्दोलनले चाँडै नै हुन लागेका टोरन्टो र भेनिस जस्ता फेस्टिभल पनि प्रभावित हुने आँकलन गरिएको छ । टोरन्टो सेप्टेम्बर ७ देखि सुरु हुँदैछ भने भेनिस अगस्ट ३० देखि सुरु हुनेछ । स्टार कलाकारको भिड रहने फेस्टिभलमा कलाकार नै जान नपाएपछि यी फेस्टिभल सुनसान रहने सक्ने अनुमान सुरु भएको छ । भेनिसको लाइन अप १० दिनपछि सार्वजनिक हुँदैछ । भेनिसमा यो पालि ब्राड्ली कुपर, एडम ड्राइभर, जेन्दया, केरी मुलिगन आदिका फिल्म प्रिमियर हुने चर्चा छ । 
 


Author

थप समाचार
x