सिनेमा

सारुकको न्यायका लागि आवाज उठाउँदै सेलिब्रेटी, अन्तिम दिन परेको थियाे नम्रतासँग ठाकठुक

इकागज |
असार २९, २०८० शुक्रबार ११:४७ बजे

काठमाडौँ -  सुटिङ सेटबाट फर्किएकै दिन आत्महत्या गरेका सारुक ताम्राकारको न्यायका लागि भन्दै सेलिब्रेटीले सामाजिक सञ्जालमा आवाज उठाउन थालेका छन् । सारुकसँग निकट सम्बन्ध रहेका अभिनेत्रीले सारुकको मृत्यु स्वभाविक नभएको भन्दै छानबिन गर्नुपर्ने माग उठाएका छन् ।

यसको सुरुवात गरेकी थिइन् अभिनेत्री सृष्टि श्रेष्ठले । उनले बिहीबार ‘ट्रुथ एन्ड जस्टिस प्रिभेल’ भन्दै सत्य र न्यायको जित हुने आसयको पोस्ट राखेकी थिइन् । उनको पोस्टमा धेरै अभिनेत्रीले समर्थन जनाएका थिए । सँगै उनको पोस्टमा सारुकसँग नाम जोडिएकी अभिनेत्रीको नाम मेन्सन भएको थियो । 


सृष्टिभन्दा एक कदम अघि बढेर अभिनेत्री मलिना जोशीले भने लामो पोस्ट राख्दै विभिन्न प्रश्न उठाएकी छिन् । पोस्टमा उनले सारुकलाई यस्ता कदम लिन केले बाध्य बनायो ? अन्तिम समयमा उनी कोसँग थिए ? उनले किन नजिकको साथीभाइसँग सम्बन्ध तोडे ? उनी डिप्रेस थिए, उनलाई गलत व्यवहार गरिएको थियो कि ? दुव्र्यवहार गरिएको थियो कि ? आदि प्रश्न सोध्दै यी सबै कुराको जवाफ पाउनुपर्ने माग गरेकी छिन् ।

सारुकले आफ्नो अन्तिम दिनमा ‘ह्यासट्याग माया’ नामको फिल्ममा सुटिङ गरिरहेका थिए । फिल्म सारुकबाहेक नम्रता श्रेष्ठ र रोभदिभ श्रेष्ठको मुख्य भूमिका रहेको थियो । बुधबार रातभर चलेको सुटिङ बिहान ५ बजे सकिएको थियो । यही रात उनले आफ्नै निवासमा आत्महत्या गरेका थिए । सुटिङको दिन सारुक र नम्रताबीच झगडा परेको सुटिङ सेटका एक सदस्यले इकागजलाई जानकारी गराएका छन् । उनले राति सुटिङ चलिरहेको समयमा सारुक र नम्रताको झगडा परेको तर के विषयमा झगडा परेको भन्ने चाहिँ आफूहरूलाई थाहा नभएको बताएका छन् ।

‘आर्टिस्टका लागि भनेर हामीले बेग्लै कोठाको व्यवस्था गरेका थियौँ । त्यो कोठामा नम्रता र सारुकजीको झगडा चाहिँ परेको हामीले सुनेका हौँ । तर के विषयमा झगडा परेको थियो, त्यो चाहिँ हामीलाई थाहा छैन,’ ती सदस्यले इकागजसँग भने । 


Author

थप समाचार
x