सिनेमा

‘परस्त्री’मा देखिएन दर्शकको चासो

इकागज |
असार १७, २०८० आइतबार १७:३० बजे

काठमाडौँ -  उत्कृष्ट बनेको दाबीसहित भारतमा समेत रिलिज भएको नेपाली फिल्म ‘परस्त्री’ले नेपालमा अनुल्लेखनीय व्यापार गरेको छ । फिल्मले तीन दिनमा मुस्किलले ५ लाखको ग्रस गरेको छ । २ करोड बढी लगानीमा निर्माण भएको फिल्म बक्स अफिसमा चुर्लुम्म डुबेको छ । 

बिहीबार नै रिलिज भएको फिल्मले पहिलो दिन १ लाख ५६ हजार ग्रस गरेको थियो भने शुक्रबार र शनिबार ३ लाख ७५ हजारको व्यापार गरेको थियो । लगानीको अनुपातमा फिल्मको व्यापार अति नै न्यून हो ।


‘लभ लभ लभ’ अभिनेता सुरज पाण्डेको निर्देशकीय डेब्यू फिल्मलाई हिन्दीमा डब गरी भारतमा समेत रिलिज गरिएको थियो । भारतमा डबिङ भएको हल्लाले नेपालमा फाइदा हुने निर्माण टिमको विश्वास थियो । तर ‘प्रेमगीत ३’मा ठगिएको महसुस गरेका दर्शकले यो फिल्ममा रिस्क लिन नचाहेको देखिएको छ । विश्वभर हिन्दीमा रिलिज भएको ‘प्रेमगीत ३’ले खराब समीक्षा पाएको थियो । तर यो फिल्मलाई भने हिन्दीमा स्वरांकन भएको हल्लाले नेपालमा फाइदा भएको थियो । फिल्मले नेपालमा ७ करोड हाराहारी व्यापार गरेको थियो ।

हिन्दी डबिङबाहेक सेन्सरको काँटछाँटमा परेको र बोल्ड दृश्यले भरिएको जस्ता चर्चाका बीच पनि फिल्ममा दर्शकले चासो नदिएको देखिएको छ ।
फिल्ममा सुरज पाण्डेको निर्देशन र कलाकारको अभिनय ठीकठाक रहेको भए पनि दीपेन्द्र के खनालको पटकथालाई कमजोर कडीको रुपमा लिइएको थियो । योसँगै अभिनेताको रुपमा खराब सुरुवात गरेका सुरजको निर्देशकीय यात्रा पनि बिर्सनलायक बनेको छ ।


 


Author

थप समाचार
x