सिनेमा

बोर्डले छान्यो स्टोरी बैंक तथा लघु चलचित्र प्रतियोगिताका विजेता

इकागज |
असार १७, २०८० आइतबार १२:२४ बजे

काठमाडौँ - चलचित्र विकास बोर्डले वार्षिकोत्सवको अवसर पारेर ‘स्टोरी बैंक’ तथा लघु चलचित्र प्रतियोगिताका विजेता छानेको छ । शनिबार बोर्डको २३ औँ वार्षिकोत्सवको अवसरमा विजेता फिल्मको नाम घोषणा गरिएको हो ।

बोर्डले यसै वर्षदेखि सुरु गरेको लघु चलचित्र प्रतियोगितामा सूर्य शाही निर्देशित ‘ह्वील अन दि बस’ले पहिलो पुरस्कार प्राप्त गर्न सफल भयो भने मिंसो लिम्बू निर्देशित ‘जुन्को’ले दोस्रो पुरस्कार हात पार्यो । किरण श्रेष्ठ निर्देशित ‘एट अनोदर विन्टर’ प्रतियोगितामा तेस्रो भयो । विजेता भएसँगै तीन फिल्मले क्रमशः डेढ लाख, एक लाख र ७५ हजार नगद हात पारे ।


यसैगरी बोर्डले स्टोरी बैंकका विजेताको पनि घोषणा गरेको छ । राजेश गोङजु, निरज कँडेल र केएल पीडित सम्मिलित निर्णायक समूहले ६ वटा फिल्मलाई निर्माणमा सहयोग गर्नेगरी नामावली सार्वजनिक गरेको हो । सूचीअनुसार अघिल्लो वर्ष स्टोरी बैंकमा आवेदन दिएकामध्ये सुरज यादवको ‘बहुरिया’,  विकास न्यौपानेको ‘भुन्टे’,  अशोक गिरीको ‘अल्ट्रा लिजेन्ड’,  केशव पाण्डेको ‘फ्लोटिङ लाइक अ फिदर’ सफल केसी र प्रतीक गुरुङको ‘चलचित्र’ र पेमाले बोर्डबाट निर्माण सहयोग पाउने भएका हुन् ।

सूचीमा स्थान बनाउने बित्तिकै उनीहरूले समान रुपमा ५० हजार रुपैँयाँ पनि प्राप्त गरेका छन् । यसैगरी स्टोरी बैंकले लघु चलचित्र विधामा पनि विजेता छनौट गरेको छ । जसअनुसार निशा श्रेष्ठको ‘बराःख्या’, अनिल कुर्मीको ‘सेनुर’, हरि कुँवरको ‘जल’, अम्बिका भण्डारीको ‘अनन्यानी’,  विभूति सिटौलाको ‘सिलाबाला’  र अनिल बुढामगरको ‘दि लास्ट सेफर्ड’ उत्कृष्ट ५ मा छनौट भएका छन् । छनौटमा स्थान बनाएसँगै ६ वटै फिल्मले समान रुपमा १५ हजार रुपैँया प्राप्त गरेका छन् । 


Author

थप समाचार
x