सिनेमा

चलचित्रमा देखिएको समस्या समधान गर्न मन्त्रालय तत्पर छ : मन्त्री शर्मा

इकागज |
असार १७, २०८० आइतबार ११:३९ बजे

काठमाडौँ-  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशमा भएका परिवर्तन र उपलब्धिलाई चलचित्रको माध्यमले प्रचार–प्रसार गर्न जरुरी रहेको बताएकी छिन् । चाबहिलस्थित चलचित्र विकास बोर्डद्वारा आयोजित २३औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री शर्माले सुन्दरता, संस्कृति र भौगोलिकतालाई चलचित्रमा समेट्न आग्रह गरेही हुन्। 'अहिले प्रविधिको प्रयोगले प्रचार गर्नु जरुरी छ । हाम्रो कला र संस्कृतिसँगै देशमा भएका महत्त्वपूर्ण उपलब्धिलाई पनि विषय बनाउनु चलचित्रकर्मीको दायित्व पनि हो', उनले भनिन् , 'अन्य माध्यमभन्दा चलचित्र निकै प्रभावकारी छ । यसबाट भन्न र दिन खोजेको सन्देशलाई सजिलै बुझाउन सकिन्छ । त्यसैले हाम्रो यथास्थितिसँगै उपलब्धिसमेत समेट्नुपर्छ ।'

मन्त्री रेखा शर्माले विसं २०२६ मै बनेको ऐनअनुसार चलचित्र क्षेत्र चलिरहँदा प्रविधिको विकाससँगै त्यसलाई फेरबदल गर्न आवश्यक रहेको बताइन्  ।  'समीक्षा गरौँ, समस्याको पहिचान गरौँ । बोर्डसँगै चलचित्र क्षेत्रसँग जोडिएको सङ्घसंस्थाले हामीलाई मार्ग सुझाउनुहोस्, सरकार तपाईँसँगै छ'उनको भनाइ थियो ।  उनले नेपाल खुला स्टुडियो भएकाले सुन्दरताको प्रचार–प्रसार चलचित्र र प्रविधिका माध्यमले गर्न आग्रहसमेत गरेकी थिइन् । 


 वार्षिकोत्सव समारोहमा ‘कथा बैंक’ अन्तर्गत सात कथानक चलचित्र र छ लघु चलचित्रका लेखकलाई पुरस्कार प्रदान गरिएको थियो । यसका साथै यसै वर्षदेखि सुरु गरिएको लघुचलचित्र प्रतियोगितामा सूर्य शाहीको  निर्देशन रहेको ‘व्हिल्स अन द बस’ (प्रथम), मिङ्सो लिम्बूले निर्देशन गर्नुभएको ‘जुन्को’ (दोस्रो) र किरण श्रेष्ठ र विभू पौडेलले संयुक्त रूपमा निर्देशन गर्नुभएको ‘एट अनोदर विन्टर’लाई (तृतीय) पुरस्कार प्रदान गरिएको थियो ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र नीतिसहितको विविध समस्यालाई समधान गर्न आफूहरू प्रक्रियागतरूपमा अगाडि बढिसकेको जानकारी गराएका थिए । उनको भनाइ थियो , 'बोर्डले गरिरहेको कार्य र प्रयासको नतिजा केही समयपश्चात सबै थाहा पाउनुहुनेछ । हामीले नेपाली चलचित्र र चलचित्रकर्मीको हित हुने गरी ऐनमा छलफल गर्नुका साथै स्वदेशी चलचित्रलाई टेवा पुग्ने गरी विविध काम गरिरहेका छौँ ।'


Author

थप समाचार
x