सिनेमा

कमेडी च्याम्पियन टिमले माग्यो माफी

इकागज |
असार १६, २०८० शनिबार १२:३५ बजे

काठमाडौँ - नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको टेलिभिजन कार्यक्रम ‘कमेडी क्लब विथ च्याम्पियन्स’ ले कार्यक्रममा प्रसारण भएका केही प्रस्तुतिलाई लिएर आलोचना भएकोमा दर्शकसँग माफी मागेको छ । कार्यक्रम निर्माण गर्ने कम्पनी थ्रि प्रोडक्सनका तर्फबाट विशाल भण्डारीले विज्ञप्ति जारी गर्दै आफूहरूको उद्देश्य कुनै जात, सम्प्रदाय, धर्म, पेसा वा संस्कृतिलाई होच्याउने नभई विशुद्ध मनोरञ्जन मात्र रहेको तर यही गर्ने क्रममा कुनै समुदाय वा सम्प्रदायलाई चोट पुग्न गएकोमा माफी मागेको जनाएको छ । टेलिभिजन कार्यक्रममा निर्देशकसमेत रहेका भण्डारीले भूलवस प्रसारण भएका त्यस्ता शृंखलालाई सकभर सम्पादन गर्ने तर त्यो गर्न विवेक नपुगेकोमा सभ्याउने बताएका छन् ।


केही समयअघि यो कार्यक्रममा गन्धर्वको प्रस्तुतिलाई लिएर गन्धर्व समाजले आपत्ति जनाएको थियो । सोमा गन्धर्व बनेर प्रस्तुत हुने पवन भट्टराईको प्रस्तुतिले आफूहरुलाई गलत तरिकाले प्रस्तुत गरेको भन्दै गन्धर्व समाजले आपत्ति जनाएको थियो । यसअघि सन्दिप क्षेत्रीको कान्तिपुरबाट टेलिभिजनबाट प्रसारण हुने ‘ह्वाट दि फ्लप’मा पनि सन्दिप क्षेत्रीले मधेसी समुदायको गलत चित्रण गरेको भन्दै आलोचना भएको थियो । मधेसी समुदायको आलोचनापछि सन्दिप र टेलिभिजन दुवैले माफी मागेका थिए । 


Author

थप समाचार
x