सिनेमा

१५ वर्षपछि हडतालमा हलिउडका लेखक

इकागज |
बैशाख १९, २०८० मंगलबार १४:४४ बजे

लसएन्जल्स - अमेरिकामा रहेका चलचित्र लेखकहरूको छाता संगठन ‘राइटर्स गिल्ड’ले मंगलबारदेखि हडताल सुरु गरेको छ । हलिउडका स्टुडियो र स्ट्रिमिङ प्लृटफर्मका मजदुर संगठनसँग सोमबार साँझ भएको वार्तामा सहमति नभएपछि लेखकहरूले मंगलबारदेखि प्रदर्शन थालेका छन् । 

उनीहरूले मंगलबार १ बजेदेखि स्टुडियो अगाडि धर्नाको कार्यक्रम सुरु गरेका छन् । हलिउड रिपोर्टका अनुसार लेखकको समूहले मंगलबार अमेजन, कुलभर स्टुडियो, सीबीएस रेडफोर्ड, सीबीएस टेलिभिजन सिटी, डिज्ने, नेटफ्लिक्स, फक्स, सोनी, प्यारामाउन्ट, वार्नर ब्रोज र युनिभर्सल स्टुडियोमा धर्ना सुरु गरेको छ । 
लेखकहरूको समूहले अमेरिकाको विभिन्न राज्यमा रहेका स्टुडियोअघि धर्ना बसेर काम ठप्प पार्ने रणनीति तय गरेका छन् । 
‘राइटर्स गिल्ड’ले मंगलबार नै विज्ञप्ति जारी गर्दै लेखकहरूको अस्तित्वको संकटलाई फिल्म निर्माण कम्पनीले बेवास्ता गरेकोले आफूहरू बाध्य भएर धर्ना बस्न बाध्य भएको बताएका छन् ।


‘राइटर्स गिल्ड’ले फिल्म निर्माण कम्पनीले काम लगाउने समयसीमाका बारेमा सम्झौता गर्न नमानेको आरोप लगाएका छन् । लेखकको संस्थाले न्यूनतम कामको ग्यारेन्टी मागेको हो ।  निर्माण कम्पनीले भने समयसीमा तोकेर काम दिन नसकिने तर दिनअनुसारको पारिश्रमिक तोक्न तयार भएको बताएका छन् ।

‘राइटर्स गिल्ड’ले भने लेखकको रुपमा कसैलाई आबद्ध गरेपछि हप्ता महिना वा वर्षको हिसाबले आबद्ध गर्नुपर्ने शर्त राखेका थिए । धर्नाले टेलिभिजन कार्यक्रम नराम्ररी प्रभावित भएका छन् । राति प्रसारण हुने कार्यक्रम यही संस्थामा आबद्ध भएका लेखकले लेखन कार्य गर्छन् । 


Author

थप समाचार
x