सिनेमा

सरकारमा जाने रस्साकस्सीबीच ‘छक्का पञ्जा ४’ हेर्न कीर्तिपुर पुगे पूर्व प्रधानमन्त्री नेपाल र खनाल

इकागज |
चैत १२, २०७९ आइतबार १२:५८ बजे

काठमाडौँ - प्रचण्ड सरकारमा मन्त्री बन्ने बनाउने दौडधुप चलिरहेका बेला नेकपा एकीकृत समाजवादीका नेता भने फिल्म हेर्न सुटुक्क सिनेमा घर पुगेका छन् । समाजवादीका अध्यक्ष माधव नेपालसहित झलनाथ खनाल, जगन्नाथ खतिवडा ‘छक्का पञ्जा ४’ हेर्न कीर्तिपुर पुगेका हुन् । कीर्तिपुरमा रहेको कीर्तिपुर सिनेप्लेक्स हलमा उनीहरूले पौने एकको सोमा फिल्म हेर्दैछन् ।  
१ महिनाअघि हलमा लागेको ‘छक्का पञ्जा ४’ले राजनीतिक विषय उठाएको छ । मुख्य अभिनेता दीपकराज गिरीले गुण्डागर्दीबाट राजनीतिमा आएर राम्रो काम गर्न खोजेको कथा फिल्ममा समेटिएको छ । फिल्मले सामाजिक सञ्जालको भरमा राजनीतिमा उदाएका रवि लामिछानेको चरित्रबाट प्रेरणा लिएको पनि धेरैको टिप्पणी छ । 
 कीर्तिपुर सिनेप्लेक्सका सञ्चालक नरेन्द्र महर्जन नेकपा एमाले निकट हुन् । एमालेकै सिफारिसमा महर्जनले दुई दुई पल्ट चलचित्र विकास बोर्डको सदस्यको कार्यकाल बिताएका थिए ।
नेकपा एमालेसँगको गठबन्धन भत्किएर १० दलको नयाँ गठबन्धन बनेसँगै नेकपा एकीकृत समाजवादी सरकारमा जाने भएको छ । माओवादी केन्द्र र एमालेको गठबन्धन बन्दा समाजवादी सरकारबाहिर नै रहेको थियो । अहिले एमालेसँग गठबन्धन टुटेर माओवादीले काँग्रेससहित अन्य १० दलसँग मिलेर सरकार बनाउने भएपछि दुई मन्त्रालयसहित समाजवादी सरकारमा जाने चर्चा छ । सोमबारसम्ममा मन्त्री परिषद् विस्तार हुने चर्चाबीच समाजवादीका नेता भने फिल्म हेर्न हल पुगेका हुन् ।  



Author

थप समाचार
x