सिनेमा

‘प्रकाश’बाट उत्कृष्ट अभिनेताको अवार्ड जितेका प्रदीपलाई गगनको बधाइ

इकागज |
चैत १०, २०७९ शुक्रबार १०:३६ बजे

काठमाडौँ - नजिकका फिल्मकर्मीले हत्ते गरेर बोलाएपछि फिल्म हेर्न गएर फिल्मकर्मीको हौसला बढाउनेबाहेक बाँकी समय राजनीतिकर्मी चलचित्रका उपलब्धिका समयमा खासै बोल्दैनन् । नेपालले हरेक वर्ष विदेशका फेस्टिभलमा गएर केही न उपलब्धि हासिल गरिरहेकै हुन्छ तर ती खबर नेताको प्राथमिकतामा विरलै परेको सुनिन्छ ।

तर काठमाडौँमा भएको नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा ‘प्रकाश’बाट उत्कृष्ट अभिनेताको अवार्ड जितेका प्रदीपलाई नेपाली कांग्रेसका सांसद गगन थापाले सामाजिक सञ्जालमा बधाइ दिएका छन् । उनले फेसबुकमा प्रदीपसँगको फोटो राख्दै प्रदीपले उत्कृष्ट अभिनेताको अवार्ड जितेको खबर सुन्दा सँगै बसेर ‘प्रकाश’ हेरेको सम्झना आएको बताएका छन् । 


गत मंसिर ४ मा भएको संसदीय चुनावमा प्रदीपले गगन थापाको प्रचारलाई सघाएका थिए । त्योभन्दा अघि गगनले काठमाडौँको विश्वज्योति हलमा प्रदीप अभीनित ‘प्रकाश’ केही समय हेरेका थिए । 

प्रदीपले औँलाभर सहभागी नेपाली फिल्मबीचको प्रतिस्पर्धामा उत्कृष्ट अभिनेताको अवार्ड जितेका हुन् । तर पहिलोपल्ट उत्कृष्ट अभिनेताको अवार्ड जितेकाले प्रदीप उत्साहित छन् । यसमा गगनको शुभकामनाले सुनमा सुगन्ध थपेको छ । तर गगन थापाले नेपाललाई अन्तर्राष्ट्रिय फेस्टिभलमा पहिचान दिलाउने फिल्म र फिल्मकर्मीलाई नै पनि यसरी शुभकामना दिन चाहिँ नबिर्सिउन्, यही कामना गरौँ । 


Author

थप समाचार
x