सिनेमा

सिनेमा समीक्षा

माफ गर्नुहोला, ‘ह्यारीकी प्यारी’लाई प्यार गर्न सकिएन

सामीप्यराज तिमल्सेना |
माघ २३, २०७९ सोमवार ७:५७ बजे

युवकलाई गाउँमा स्वास्थ्य चौकी बनाउन पैसा चाहिएको छ । यसका लागि एउटै उपाय छ, पुर्ख्यौली सम्पत्ति धरौटी राख्ने । तर युवकको एक मात्र हजुरआमाले सर्त राख्छिन्, ‘बिहे गरेर आइज । अनि मात्र सम्पत्ति तेरो नाममा गरिदिन्छु ।’

यता युवतीको पनि एक मात्र हजुरआमा छन् जो नातिनीको बिहे गराउन आतुर छिन् । उनलाई पनि पनाति–पनातिनीको मुख हेर्ने रहर छ । यस्तो अवस्थामा युवतीले उपाय निकाल्छिन्, नक्कली बिहे गर्ने र विर्यग्रहणमार्फत गर्भवती बनेर हजुरआमाको चाहना पूरा गर्ने । असम्भव जस्तो लाग्ने यो अवस्थामा युवक र युवतीको चाहना कसरी पूरा होला ? 


झट्ट सुन्दा शुक्रबारबाट प्रदर्शन थालेको ‘ह्यारीकी प्यारी’को ‘लगलाइन’ चखिलो लाग्छ । तर चखिलो ‘लगलाइन’लाई लेखक र निर्देशकले उस्तै गरी बुन्न चुकेका छन् । त्यसैले जितु नेपाल र साम्राज्ञीराज्यलक्ष्मी शाह अभीनित ‘ह्यारीकी प्यारी’ नेपालमा बन्ने कमजोर फिल्मको लाइनमा खडा भएको छ ।   

हरिप्रसाद चौलागाईं उर्फ ह्यारी (जितु नेपाल) पोखरा परको गाउँमा आफ्नी हजुरआमा (लक्ष्मी गिरी) र काका (विजय बराल)का साथमा बस्छ । ह्यारीको सपना हुन्छ गाउँमा स्वास्थ्य चौकी बनाउने । यसका लागि उसले गाउँको चिया पसलदेखि चौतारीसम्ममा डोनेसन बक्स झुण्ड्याउने गरेको छ जसमा गाउँलेले सुको पनि हाल्दैनन् ।

यही समयमा उसले वीर्यदान गरेबापत ३० लाख पाउने सूचना पढ्न पुग्छ र ह्यारी पैसाको लोभमा काठमाडौँ दगुर्छ । यता विकल्पको छनौटमा नगई जेनी आरएल राणा (साम्राज्ञीराज्य लक्ष्मी शाह) पनि वीर्यग्रहणको विज्ञापन गर्छे र नाटकीय संयोगसँगै ह्यारीलाई छान्छे । यसपछि पर्दामा विवाहदेखि बच्चासम्मका दृश्य देखिन्छन् तर दर्शकलाई भावनात्मक रुपमा जोड्ने प्रयत्न नै नगरी । 

पर्दामा देखाइने चिज विश्वसनीय भएनन् जति तामझामका साथ यी चिज देखाए पनि दर्शकको मनमा बस्दैनन् । पहिलो पल्ट निर्देशक बनेका डा. कपिल रिजालका फ्रेम त झकिझकाउ छन् तर विश्वसनीय हिसाबले पर्दामा आउनुपर्ने दृश्य अति सतही छन् । यसले फिल्मको चरित्र र दर्शकलाई जोड्न सकेको छैन । जस्तो कि जितुको स्वास्थ्य चौकी बनाउने सपना, स्वास्थ्य चौकी बनाउने ‘मोटिभेसन’ र जेनीले वीर्यग्रहणमार्फत बच्चा जन्माउने निर्णय ।

हजुरआमाको दबाबका कारण जेनीले यस्तो निर्णय लिन बाध्य भएको बताउन खोजिए पनि निर्देशक रिजालसहित अभिमन्यू निरवी, गिरिराज घिमिरे र सुदीप बरालले लेखेको पटकथा यति खुकुलो छ कि पर्दामा चरित्रले गर्ने कुनै पनि निर्णय परिस्थिति वशीभूत नभई लेखकको मनोमानीमा गराइएको छ । चरित्रमाथि लेखक हाबी हुँदा हुने यस्तै नै हो । यस्तो शैलीले न त चरित्रले आफ्नो लक्ष्य निर्धारण गर्न सक्छ, न त लक्ष्यमा पुग्न आइपर्ने बाधा अवरोध छिचोल्न ।

सम्भवतः यो एउटा कथामा भएभरका सबैले ‘क्रेडिट’ लिन खोज्दाको परिणाम हो । फिल्मको पटकथामा निर्देशक त भइहाले, छायांकार र मुख्य सहायक निर्देशकले पनि नाम राख्ने लोभ संवरण गरेका छन् । मूलकथालाई कसिलो बनाउन योगदान दिनु रचनात्मक भूमिकामा रहेका सबैको कर्तव्य हो । यति गरेकै भरमा मूल पटकथाकारमाथि हाबी हुँदा सम्भवतः यस्तै  दुविधायुक्त फिल्म निस्कन्छ ।

सुरुमा चरित्रहरू एउटा आदर्शमा देखिनु र पछि विनाआधार अर्कै हुनु, कमजोर लेखनको संकेत हो । खासगरी जेनीको चरित्र चित्रणमा देखिएको यो कमजोरीले फिल्म हलुका बनाएको छ । किनकि लेखनमा जेनीको चरित्रको ‘एक्सटर्नल’ र ‘इन्टर्नल’ दुवै पक्ष खुलेको छैन । जेनीलाई काठमाडौँको नामी अस्पतालको मालिक्नी देखाएको छ । जवान र सुन्दर त छे नै । तर पनि ऊ ह्यारीले एकचोटि भनेकै (भनेको कुरा राम्ररी स्थापित पनि छैन) भरमा विवाहको नाटक गर्छे र गाउँ, गाउँले र ह्यारीको प्रेममा पर्छे ।

अनि पैसाका लागि आसक्त छ भनेर रोजेको केटा पैसाको पछि लाग्यो भनेर रिसाउँछे पनि । गाउँ, सहर र प्रेमका सम्बन्धमा ह्यारीसँग भेट्नुअघि उसको दृष्टिकोण कस्तो थियो भनेर बताएको भए दोस्रो हाफमा गाउँमा गएर ऊ चकित पर्ने र ह्यारीको चरित्रलाई मायालु नजरले हेर्ने कुरा बलियो हुनसक्थ्यो । त्यसो नहुँदा सहरको मान्छे गाउँको दैनिकी देखेर लठ्ठ हुने ‘स्टेरियोटाइप’मा यो फिल्म पनि फसेको छ । 

यसैगरी ह्यारीको चरित्रमा धेरै विशेषता थोपर्नु पनि कथाका लागि हानिकारक भएको छ । ह्यारी गाउँले हो, गरिब हो र सुन्दरताको प्रचलित मान्यताअनुरुप सुन्दर पनि छैन् जुन कुरा जेनीको मुखैबाट बोलाइएको पनि छ । एउटै चरित्रमा यति धेरै कमजोरी थोपरेर देशकै सुन्दर र धनी युवती उसको पछि लागेको देखाउन, पटकथामा त्यही स्तरको बुनोट चाहिन्छ । यो हुन नसक्दा महत्वाकांक्षी कथाको क्लाइमेक्स फिस्स भएको छ ।

फिल्मको मूलकथालाई लिएर पनि लेखक÷निर्देशक अलमलमा छन् । कथा जेनी र ह्यारीको असम्भव लाग्ने प्रेमकथा भन्नलाई बुनिएको हो कि ह्यारीको स्वास्थ्य चौकी बनाउने सपना कसरी पूरा होला भन्ने कुरा देखाउनलाई हो भन्ने कुराले फिल्मको लय बिगारेको छ । मूलकथामा सहायक कथा हुन सक्छन् र चरित्रको लक्ष्य पनि हुन सक्छ तर कुनै विन्दुमा गएर यिनीहरू जोडिएनन् भने तिनको सार्थकता रहन्न ।

फिल्ममा हजुरआमाहरूको नाटकीय परिवर्तन पनि दर्शकलाई पचाउन गाह्रो पर्छ । अझ यसमा पनि ह्यारीकी हजुरआमा (लक्ष्मी गिरी)ले फिल्मको अन्त्यतिर आएर गाउँले र सहरियाको भिन्नता बताउने दृश्य बिझाउनेछ ।

पहिलो र दोस्रो भागमा स्वास्थ्य चौकी बनाउन र अचानक ह्यारी गाउँको ‘सेभियर’ बनेको कुरा यस गरी मूलकथामा जोडिएका छैनन् । अरुले भनेर हैन, जेनीले ह्यारीले गरेको काम देखेर प्रभावित भएको भए फिल्म अर्कै हुन्थ्यो । यही कारण ह्यारीले स्वास्थ्य चौकी बनाउन मरिहत्ते गरेको कुराले निर्माताको खर्च मात्र बढाएको छ । अझ गाडी, मोटरसाइकल मज्जाले चल्ने ठाउँमा स्वास्थ्यचौकीको महत्व पुष्टि हुँदैन । यसले निर्देशक समाज नै नबुझी फिल्म बनाउन कुदेको महसुस हुन्छ । 

फिल्ममा हजुरआमाहरूको नाटकीय परिवर्तन पनि दर्शकलाई पचाउन गाह्रो पर्छ । अझ यसमा पनि ह्यारीकी हजुरआमा (लक्ष्मी गिरी)ले फिल्मको अन्त्यतिर आएर गाउँले र सहरियाको भिन्नता बताउने दृश्य बिझाउनेछ । सर्वगुण सम्पन्न नातिनी बुहारी घर भित्रिएकामा हजुरआमा सामान्य प्रश्न त गर्छिन् तर गहिराइमा पुगेर असम्भव जस्तो लाग्ने काम कसरी भयो होला भन्ने जिज्ञासा राख्दिनन् । न त गाउँले नै यो विषयमा जिज्ञासा राख्छन् । मिल्दोजुल्दो जोडी हुँदा त मान्छे अनेक शंका गर्छिन् तर यहाँ त जोडा नै आकाश–जमिनको थियो । 

असंगत दृश्यको कुरा गर्दा छिनमै पैसाका लागि मरिहत्ते गर्ने तर भएको पैसामा रत्तिभर नसोची आइटम नचाउने पनि यही श्रेणीमा पर्छन् । समग्रमा धेरै दृश्य यस्ता छन् जहाँ लेखक–निर्देशकले चरित्रलाई जे मन लाग्यो त्यही गराएका छन् । फिल्ममा चरित्रलाई दायाँबायाँ चलाउने अधिकार लेखकलाई हुन्छ तर फिल्ममै सही त्यसो गर्नुको कारण चाहिन्छ । तब मात्र फिल्मको दुनियाँ विश्वासिलो हुन्छ । 

लेखनमा चुकेका निर्देशक कलाकारसँग काम लिने मामिलामा पनि असफल छन् । ‘छक्का पञ्जा’ समूह छाडेर एक्लो अभिनय यात्रामा निस्किएका जितु नेपाल फिल्ममा फिक्का छन् । उनलाई निर्देशकले गम्भीर भूमिकामा देखाउन खोजेका छन् तर जितुले यसका लागि आफ्नै शैली निर्माण गर्न सकेका छैनन् । पहिलो र दोस्रो हाफका उस्तै दृश्यमा पनि अभिनयको ग्राफ नै फरक–फरक छ । 

यही समस्या साम्राज्ञीराज्य लक्ष्मी शाहको पनि छ । साम्राज्ञीको अभिनय यात्रा निरन्तर ओरालो लाग्ने क्रममा छ । यो फिल्ममा पनि साम्राज्ञीले अभिनयमार्फत कुनै प्रभाव छाड्दिनन् । फिल्ममा अलि धेरै बेर देखिने विजय बराल र सुवास गजुरेल पनि सामान्य छन् । फिल्ममा जेनीको हजुरआमा बनेर अभिनय गर्ने सरला रिजालको अभिनय फिल्मको कमजोर पाटो हो । 

यो फिल्मको पाश्र्व संगीत, मिक्सिङ र रङ संयोजन लगायतका केही प्राविधिक काम मुम्बईमा गरिएको थियो । फिल्मको रङ संयोजन र ध्वनि मिश्रण राम्रै महसुस हुन्छ । पाश्र्व संगीत पनि नेपाली फिल्ममा सुनिरहनेभन्दा भिन्नै छ तर यो संगीत फिल्मका दृश्यमा भने ‘सिंक’ भएको छैन । दृश्यमा एउटा भाव चलिरहेको हुन्छ, पाश्र्व संगीत अर्कै भावमा बजेको छ ।

फिल्ममा कार्यकारी निर्मातासहित, लेखक र छायांकार भूमिकामा रहेका सुदीप बरालले लेखकका रूपमा गरेको नयाँ काम त भइहाल्यो गरिराखेकै छायांकनको काम पनि असरदार बनाउन चुकेका छन् । फिल्मको गतिले टेलिसिरियललाई टक्कर दिएको आभाष हुन्छ जसमा बरालको छायांकनले पनि यसका लागि योगदान गरेको छ । फिल्मको सम्पादनमा पनि समस्या छ । झट्ट झट्ट दृश्य काटिएको छ । नचाहिने दृश्य लामा छन्, चाहिने प्रसंग चट्ट काटिएका छन् । 

असंख्य कमजोरीका बाबजुद कपिल रिजालले मौलिक कथा वाचनको प्रयास गरेका छन् । कथा छनौटका लागि पनि उनलाई राम्रै अंक दिँदा हुन्छ । उनले कलाकारको छनौटमा पनि सुझबुझ देखाएका छन् । तर लेखन र प्राविधिक कुरामा चुक्दा उनको डेब्यू फिल्म निर्देशनको रहरका रूपमा मात्र स्मरणीय रहनेछ । किनकि डा. कपिल रिजाल बेलायत बस्छन् र उनको भिज्वुल ल्याङग्वेजमा कम्तीमा त्यो ठाउँको साक्षरता अपेक्षा गरिन्छ ।


Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार
x