सिनेमा

भारतमा ‘पठान’को धमाका, रिलिज अघि नै ५० करोड बराबरको टिकट बिक्री

इकागज |
माघ १०, २०७९ मंगलबार ११:५ बजे

मुम्बई -बुधबारबाट विश्वभर प्रदर्शन हुन लागेको बलिउड फिल्म ‘पठान’ले एडभान्स टिकट बिक्रीमा कीर्तिमान कायम गरेको छ । फिल्मले रिलिजको अघिल्लो दिनसम्ममा ५० करोड बराबर टिकट बिक्री गरेको छ । ५ दिनअघि बुकिङ खोलेको फिल्मले चौथो दिन आइपुग्दासम्म भारत ४ लाख १९ हजार टिकट बिक्रि गरेको हो ।

योसँगै फिल्मले प्रिरिलिज टिकट बिक्रीमा ‘ठग्स अफ हिन्दुस्तान’ र ‘पठान’ कै निर्देशक सिद्धार्थ आनन्दको अघिल्लो फिल्म ‘वार’लाई उछिनेको छ । ‘पठान’भन्दा अघि ‘केजीएफ २’ र ‘बाहुबली २’ छन् । ‘केजीएफ २’ले रिलिजअघि ५ लाख १५ हजार टिकट बिक्री गरेको थियो भने ‘बाहुबली २’ले ६ लाख ५० हजार । एक दिन बाँकी रहेकाले ‘पठान’ले ‘केजीएफ २’को रेकर्ड भेट्न सक्ने अनुमान गरिएको छ । 


फिल्मको टिकट बिक्रीको तथ्यांक हिसाब किताब गर्ने स्क्यानिल्कका अनुसार फिल्मले पहिलो दिन २३ करोड बराबरको टिकट बेचेको हो भने दोस्रो दिन १३ करोड बराबरको । तेस्रो दिन पनि १३ करोड बराबरकै टिकट बेचेर फिल्मले प्रिरिलिजमा ५० करोडको आँकडा छोएको हो । 

यो फिल्मलाई शाहरुख खानको कमब्याक फिल्म मानिएको छ । ४ वर्षअघि रिलिज ‘जिरो’ले दर्शक नपाएपछि शाहरुख लामो ब्रेकमा बसेका थिए । ४ वर्षपछि उनको यो पहिलो रिलिज हो । यही अंग्रेजी वर्षमा उनका थप दुई फिल्म रिलिज हुनेछन् । 


Author

थप समाचार
x