सिनेमा

चलचित्र विकास बोर्डको दोहोरो चरित्र : पहिले आफैँ कोर्ड दिने अहिले हललाई कारबाहीको धम्की !

इकागज |
मंसिर २३, २०७९ शुक्रबार १६:५९ बजे

काठमाडौँ - चलचित्र विकास बोर्डले शुक्रबार मध्यान्नमा विज्ञप्ति जारी गर्दै सिनेमाघरलाई विश्वकप नदेखाउन उर्दी जारी गर्यो । अचानक जारी विज्ञप्तिमा विश्वकप देखाए कारबाहीको भागीदार बन्नुपर्ने बोर्डले चेतावनी दिएको छ । 

चलचित्र विकास बोर्डले यतिबेला यो उर्दी जारी गरेको छ जब हलले बेलुकीको समयमा फुटबल देखाउने गरी बुकिङ खोलेका छन् । केही सिनेमाघरका सञ्चालकका अनुसार यसरी खुलेका बुकिङमा दर्शकको चाप पनि छ । तर चलचित्र विकास बोर्डले समय घर्किसकेपछि फुटबल नदेखाउन हलवालालाई धम्कि दिएको छ । 


तर चलचित्र विकास बोर्ड अन्तर्गत रहेको बक्स अफिसले भने केही दिन अगावै फुटबल देखाउने भए मुभी कोड प्रयोग गर्नुस् भन्दै हलवालालाई कोड पठाएको सूचना इकागजलाई प्राप्त भएको छ । बक्स अफिसबाट सम्पूर्ण हललाई गएको इमेलमा मुभी कोड र डिस्ट्रिब्युटर कोड गरी दुई कोड हललाई पठाइएको छ र फुटबललाई विदेशी फिल्म सरहको टिकट मूल्य लागू गर्न आग्रह गरेको छ । 

तर १० दिनअघि आफैँले पठाएको सूचनाको धज्जि उडाउँदै बोर्डले अन्तिम समयमा हललाई फुटबल नदेखाउन चेतावनी दिएको हो । हल सञ्चालक भने बोर्डको यो निर्णय जथाभावी भएको बताउँछन् । उनीहरूले फुटबल स्पोर्टिङ इभेन्ट भएकाले बोर्डसँग यसको कुनै सरोकार नभएको बताउँछन् । 

भुवन केसी विकास बोर्ड अध्यक्ष बनेसँगै चलचित्र विकास बोर्ड अनेक विवादमा फस्ने गरेको छ । ‘प्रेमगीत ३’लाई नेपाली सरह कि विदेशी सरह नेपालमा रिलिज गर्न दिने विवादमा भुवन केसी आफ्नो अडानबाट पछि हट्न बाध्य भएका थिए । यसैगरी अध्यक्ष केसीले फिल्म सेन्सरका लागि हप्ता दिनअघि कागजपत्र बुझाउनु पर्ने निर्णय पनि १५ दिन पनि टिकेको थिएन । 


Author

थप समाचार
x