सिनेमा

नम्रताको ‘ग्रहण’बाट बाहिरिए विनय, उनको ठाउँ लिँदै दिव्यदेव

इकागज |
मंसिर १९, २०७९ सोमवार १२:११ बजे

काठमाडौँ - फेरि एक पटक दर्शकले ‘सानो संसार’ जोडी नम्रता श्रेष्ठ र विनय श्रेष्ठलाई पर्दामा एकसाथ हेर्न प्रतीक्षा गर्नुपर्ने भएको छ । जाडो सकिएलगत्तै सुटिङमा जाने तयारीमा रहेको फिल्म ‘ग्रहण’बाट विनय श्रेष्ठ बाहिरिएपछि तत्कालका लागि नम्रता र विनयलाई १४ वर्षपछि एकसाथ हेर्न पाउने सम्भावना टरेको छ । ‘सानो संसार’ रिलिजको १४ वर्षपछि दुवैले ‘ग्रहण’मा अभिनय गर्ने घोषणा गरिएको थियो ।

सिक्किममा भएको घोषणा कार्यक्रममा नम्रता र विनयसँगै उपस्थित भएर दर्शकसँगै आफूहरू पनि सँगै काम गर्न उत्सुक रहेको प्रतिक्रिया दिएका थिए । तर फ्लोरमा जानुअगावै विनय फिल्मबाट अलग्गिएका छन् । निर्माण टिमले विनयको स्थान दिव्यदेवलाई फाइनल गरेको छ । ‘चिसो एस्ट्रे’बाट दमदार उपस्थिति दर्ज गरेका दिव्यको केही समयअघि ‘हिजो आजका कुरा’ प्रदर्शनमा आएको थियो । 


‘ग्रहण’ फिल्मका निर्देशक राजिव गुरुङले विनयको ठाउँमा दिव्यदेवसँग कुरा लगभग फाइनल भएको पुष्टि गरे ।‘हो, विनयजीको ठाउँमा हामीले दिव्यदेवसँग काम गर्ने कुरा अगाडि बढाएका छौँ । यसमा दुवै पक्ष राजी छ,’ गुरुङले भने । 

कलाकारसँगै यो फिल्मको लोकेसनमा पनि परिवर्तन आउने भएको छ । निर्मातासमेत रहेको गुरुङले सुटिङका लागि सिक्किमको विकल्प खोज्ने क्रम जारी रहेको बताए । उनले सिक्किममा सुटिङ गर्दा फिल्मको बजेट धेरै हुने भएकाले कथावस्तुमा नै परिवर्तन गरी नेपालमा नै सुटिङ गर्ने गरी तयारी अघि बढिरहेको बताए । केही महिना पहिले सिक्किमबाटै यो फिल्मको औपचारिक घोषणा भएको थियो ।

नम्रताले सिक्किमबाट आफूले फिल्म निर्माण थालेकाले सिक्किम आफ्नो लागि दोस्रो घर सरह रहेको बताएकी थिइन् । थ्रिलर श्रेणीको फिल्ममा सारुक ताम्राकारको पनि महत्वपूर्ण भूमिका रहेको छ । फिल्मको सुटिङ पुस १५ पछि सुरु गर्ने तयारी निर्माण टिमको छ ।  
 


Author

थप समाचार
x