सिनेमा

‘पठान’का जिम गुरु सलमान, ऋतिक र टाइगर

इकागज |
कात्तिक १७, २०७९ बिहीबार ११:५२ बजे

मुम्बई - शाहरुख खानले बुधबार ५७ औँ जन्मदिन मनाए । उनको घर अगाडि बुधबार फ्यानको महासागर थियो । यो भिडले देखाउँथ्यो भलै फ्यान उनका फिल्मदेखि विरक्तिएका छन् तर उनीप्रतिको प्रेममा कुनै कमी छैन । 

बुधबार नै स्थापनाको ५० वर्ष मनाइरहेको यशराज फिल्मले शाहरुखको जन्मदिन पारेर शाहरुख अभीनित ‘पठान’को टिजर रिलिज गर्यो । टिजरमा दीपिका पादुकोन र जोन अब्राहम पनि छन् । तर चर्चा छ केवल शाहरुखको । यसमा पनि खासगरी फिल्म भित्र देखिएको उनको ज्यानको । 


‘ओम शान्ति ओम’मा  ‘दर्दे डिस्को’ गीतमा शाहरुखको ज्यान जानाजान देखाइएको थियो र त्यसको तारिप पनि भएको थियो । त्यसयता उनले ज्यान देखाउने मौका पाएका थिएनन् । ‘पठान’ टिजरमा भने निर्देशक सिद्धार्थ आनन्दले शाहरुख खानको डल्ला निस्किएको ज्यान ठाउँ ठाउँमा प्रदर्शन गरेका छन् । यसले फ्यानलाई कौतुहल बनाउने नै भयो कि शाहरुखले कसरी यस्तो ज्यान बनाए । शाहरुखले फ्यानको यो जिज्ञासाको जवाफ दिएका छन् । 

शाहरुखका अनुसार फिल्ममा देखिएको ज्यान आफूले लकडाउनको समयमा बनाएको बताएका छन् । तर यसका लागि आफूले उद्योगका बडी बिल्डर सलमान खान, ऋतिक रोशन र टाइगर श्राफको सहयोग लिएको खुलासा गरेका छन् । 

‘लकडाउनको समयमा जिम ट्रेनरलाई पनि घर आउने अनुमति थिएन । तर ज्यान पनि नबनाई भएको थिएन । मैले यसका लागि सलमान भाइ, ऋतिक र टाइगरसँग मद्दत मागेँ । उनीहरूले दिएको सल्लाहअनुसार जिम गर्दा फाइदा भयो,’ शाहरुखले भनेका छन् । उनले योबाहेक गुगलसँग पनि मद्दत लिएको बताएका छन् । ‘पठान’ आउँदो वर्षको जनवरी २५ मा रिलिज हुँदैछ । 


Author

थप समाचार
x