सिनेमा

२०७९ को नेपाली सिनेमाको अर्धवार्षिक परीक्षा : बक्स अफिसमा ४ पास बाँकी फेल

सामीप्यराज तिमल्सेना |
असोज ३०, २०७९ आइतबार १४:१८ बजे

काठमाडौँ - बारम्बारको महामारीले गज्याङगुजुङ पारेको नेपाली सिनेमाको रिलिज क्यालेन्डर यो वर्षदेखि लयमा फर्कियो । वैशाखको पहिलो दिनदेखि नै हरेक हप्ता कुनै न कुनै नेपाली फिल्म रिलिज भए ।  यसरी रिलिज भएका फिल्ममध्ये केहीले अपेक्षा गरेभन्दा बढी व्यापार गरे भने केहीले अपेक्षा गरेभन्दा निकै कम । तर वैशाखदेखि असोजसम्मको ६ महिनालाई गणना गर्दा यो साल नेपाली फिल्मका सुखद रहने अनुमान गर्न सकिन्छ । किनकि यो साल व्यावसायिक सफलता हात पार्ने फिल्मको संख्या महामारीका वर्ष अघिका फिल्म भन्दा बढ्ने अनुमान गर्न सकिन्छ । 

महामारीका वर्ष अघि मुस्किलले तीन चार नेपाली फिल्मले लगानी उठाउँथे र यसमा पनि खासगरी शृंखलाको वर्चस्व रहन्थ्यो । तर यो साल फ्रेस नामले पनि लगानी उठाएर हल रिलिजबाटै मुनाफा कमाएका छन् ।यो सालको अर्धवार्षिक परीक्षाको विशेषता के रह्यो भने यो साल बक्स अफिसमा नयाँ रेकर्ड कायम रह्यो ।  जेठ १३ मा रिलिज भएको ‘कबड्डी ४’ले नेपालको बक्स अफिसबाट मात्र २३ करोडको ग्रस गर्यो । यसअघि यो रेकर्ड ‘छक्का पञ्जा ३’को नाममा रहेको बताइएको थियो । ‘छक्का पञ्जा ३’ले नेपालको बक्स अफिसबाट मात्र १७ करोड हाराहारी ग्रस गरेको तथ्यांक सार्वजनिक भएका थिए । तर ‘कबड्डी ४’ले यो रेकर्डलाई मार्जिनले उछिनेको छ । 


‘कबड्डी ४’पछि यो साल हल रिलिजबाटै लगानी उठाउनेमा ‘झिंगेदाउ’ दोस्रो नम्बरमा रह्यो । केकी अधिकारी र आँचल शर्माले लिड गरेको यो फिल्म वर्षको सरप्राइज हिट रह्यो । फिल्मले ७ करोड हाराहारी ग्रस गरेको समाचार छ । यो फिल्मको लगानी १ करोड ५० लाख बताइएको थियो । नेपालीमा बनेर हिन्दीमा डब भएको फिल्म ‘प्रेमगीत ३’ले नेपालमा दुवै भर्जनबाट १३ करोड ग्रस गरेको समाचार छ । देशबाहिरसमेत गरी यो फिल्मले ३४ करोड ग्रस गरेको निर्माताको दाबी रहेको थियो । तर ‘प्रेमगीत ३’को यो तथ्यांकलाई धेरैले बढाइचढाइ आएको बताउने गरेका छन् । किनकि रिलिज अघि राम्रै हाइप भए पनि रिलिज लगत्तै फिल्मको समीक्षा कमजोर आएपछि यो फिल्मको व्यापार उल्लेख्य रुपमा घटेको थियो । 

अहिलेसम्मको सिधा हिसाबमा हलमा चलेरै लगानी उठाउनेमा चौथो फिल्म ‘दुई नम्बरी’ बन्न सफल भएको छ । ‘कबड्डी’को सिको गरेको आरोप खेप्दै आएको यो फिल्मले औसत समीक्षा पाए पनि बक्स अफिसमा दर्शक लोभ्याइरहेको छ । १ करोड ३० लाख लगानी रहेको यो फिल्मले पहिलो हप्ता नै लगानी उठाइसकेको निर्माता किरण नेपालीले बताउँदै आएका छन् । यो फिल्म असोज २१ मा प्रदर्शनमा आएको थियो । यो हप्ता हिन्दी र नेपाली गरी थप ४ फिल्म रिलिज भएका भए पनि यो फिल्मको व्यापार अप्रभावित देखिएको थियो ।  

६ महिनाको अवधिमा ४ फिल्मले हल रिलिजबाटै लगानी सुरक्षित गर्नु राम्रो लक्षण हो । किनकि आगामी दिनमा थप फिल्मले लगानी उठाउने अनुमान गर्न सकिन्छ । किनकि तिहार, छठ र  शिवरात्री जस्ता चाड आउन बाँकी नै छन् र यसमा रिलिज हुने फिल्मले पनि राम्रो व्यापार गर्न सक्छन् । तिहारमा ‘के घर के डेरा’ र ‘महापुरुष’लाई अपेक्षित फिल्मको रुपमा हेरिएको छ भने शिवरात्रीमा ‘छक्का पञ्जा ४’ प्रदर्शनमा आउँदैछ ।

बक्स अफिससँगै मौलिक कथा र वाचन शैलीसहितका थुप्रै फिल्म प्रदर्शनको सालको रुपमा पनि यो साल स्मरणीय रहनेछ ।  यो साल ‘ऐना झ्यालको पुतली’, ‘प्रकाश’ ‘पानीफोटो’, ‘दोख’, ‘चिसो मान्छे’ जस्ता फिल्म रिलिज भए । यिनले तुलनात्मक रुपमा कम दर्शक पाए तर मौलिक कथा वाचनमा यिनले गरेको प्रयास धेरैका लागि प्रेरणादायी रहनेछ । यसमध्ये पनि  ‘ऐना झ्यालको पुतली’ले पाएको माया यो शैलीका फिल्म बनाउनेका लागि हिम्मत बनेर आएको थियो । हलको राजनीतिको सिकार बनेको यो फिल्मलाई दर्शकले अभियानको रुपमा हेरेर ५ औँ हप्तासम्म ल्याउन सफल भएका थिए । 

अहिलेसम्मको बक्स अफिस गणित हेर्दा दर्शकले महँगो रकम लिने स्टारका फिल्मप्रति उति भरोसा देखाएको देखिएन । वर्षको पहिलो दिन रिलिज भएको अनमोल केसी अभीनित ‘ए मेरो हजुर ४’ले कमजोर सुरुवात गरेको थियो भने प्रदीप खड्का अभीनित ‘प्रकाश’लाई पनि  पहिलो दोस्रो दिन दर्शक बोलाउन सकस परेको थियो । प्रदीपको ‘प्रेमगीत ३’ हेर्न दर्शक आए तर यसमा प्रदीपको स्टारडम भन्दा पनि हिन्दी डबले ज्यादा काम गरेको धेरैको विश्लेषण छ ।  आफूलाई एक नम्बर दाबी गर्दै आएकी पूजा शर्माका फिल्मले पनि यो साल बक्स अफिसमा निराश बनाए । उनी अभीनित ‘सम्झना बिर्सना’ र ‘सम्हालिन्छ कहिले मन’का निर्मातालाई आफूलाई सम्हाल्न निकै गाह्रो पर्यो । 

६ महिनाकै अवधिमा सौगात मल्लका ६ फिल्म रिलिज भएका छन् । यो साल सौगात अभीनित ‘कबड्डी ४’ ‘मन्त्र’, ‘घनचक्कर’, ‘राधा’ ,‘माइकल अधिकारी’ र ‘दुई नम्बरी’ गरी ६ फिल्म रिलिज भए । तर दयाहाङ राईसँग जोडी बाँधेका ‘कबड्डी ४’ र ‘दुई नम्बरी’बाहेक सौगात अभीनित कुनै पनि फिल्मले ठिक्क पनि व्यापार गरेनन् । यसले सौगातमाथि दर्शकको भरोसा टुट्दै गएको संकेत गर्छ ।

यो साल बक्स अफिसमा व्यापार गर्ने चार फिल्ममा ‘प्रेमगीत ३’लाई छाडेर बाँकी सबै फिल्म कमेडी श्रेणीका थिए । व्यावसायिक फिल्म बनाउनेका लागि यो स्पष्ट संकेत हो, दर्शकको रुचि फेरि पनि अरु फिल्मभन्दा कमेडी फिल्ममा छ । दर्शक रिझाउने फिल्म बनाउन सके अरु विधाका फिल्ममा पनि दर्शक नआउने होइनन् होला तर यो अर्धवार्षिक क्यालेन्डर हेर्दा चाहिँ कमेडी फिल्म बनाउनु निर्माताको हितमा देखिन्छ । 


Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार
x