सिनेमा

के 'प्रेमगीत ३' प्रेम गर्न लायक छ ?

सामीप्यराज तिमल्सेना |
असोज ९, २०७९ १२:४१ बजे

भारतीय फिल्मको इतिहासमा बक्स अफिसमा अनेक रेकर्ड कायम गर्न सफल ‘बाहुबली’को दोस्रो भागमा एउटा सन्दर्भ छ । त्यो सन्दर्भ हो, राजगद्दीको हकदार अमरेन्द्र बाहुबलीसामु राजगद्दी चुन्‍ने कि प्रेम चुन्‍ने द्विविधा ? प्रेममा हारेको बाहुबलीले राजगद्दी छाडेर प्रेम रोज्छ र कुन्तल राज्यकी राजकुमारी देवसेनालाई वरण गर्छ । तर षड्यन्त्रका अनेक तानाबाना बुनिने दरबारमा बाहुबलीको दाइ भल्लालदेवले अनेक षड्यन्त्र गर्छ र अमरेन्द्र बाहुबलीलाई आफ्नो बाटोबाट हटाउँछ । गर्भवती रहेकी देवसेनालाई मार्न खोज्छ तर देवसेना मर्दा मर्दै पनि छोरा महेन्द्र बाहुबलीलाई बचाउँछिन् र यसरी बाँचेको बाहुबलीले भल्लालदेवलाई परास्त गर्दै पिता–माताको मृत्युको बदला लिन्छ र माहिष्मतीको सम्राट् बन्‍न पुग्छ ।

यहाँ तेलगु फिल्म ‘बाहुबली’को कथासार बताउनुको उद्देश्य हो, ‘प्रेमगीत ३’को कथासार पढ्ने झन्झटबाट पाठकलाई छुटकारा दिनु । ‘बाहुबली’का दुई भाग हेर्नु भएका दर्शकले ‘प्रेमगीत ३’मा ती सबै कथाका अंशहरू देख्न सक्नुहुन्छ जुन ‘बाहुबली’मा छन् । फरक यत्ति हो कि ‘बाहुबली’मा जति भव्यता र कलात्मकताका साथ ती चिज आएका छन्, ‘प्रेमगीत ३’ मा त्यति नै खेलाँचीका साथ । त्यसैले ‘प्रेमगीत ३’ले कमजोर नक्कलको इतिहासमा फगत एउटा संख्या थपेको छ ।


‘बाहुबली’झैँ ‘प्रेमगीत ३’ पनि दाजुभाइबीच राजगद्दी हत्याउने षड्यन्त्रको कथा हो । दुई दाजुभाइबीच एक जना प्रेममा पर्ने र कान्छो भाइले प्रेम र राजगद्दीमध्ये एक चुन्‍नुपर्ने परिस्थितिको कथा हो । राजनीति बुझ्न अमरेन्द्र बाहुबली कुन्तल राज्य पुगेर देवसेनासँग प्रेममा परेझैँ ‘प्रेमगीत ३’को प्रेम (प्रदीप खड्का) सात गाउँ घुम्ने क्रममा गीत (कृष्टिना गुरुङ) सँग प्रेममा पर्ने कथा हो । अनि भाइको ईर्ष्याले उसको वंशविनाश गर्न तल्लीन हुने भल्लालदेवझैँ राजगद्दी हत्याउन अमन (मनीष राउत) ले गर्ने हत्याको शृंखलाको कथा हो । यसरी भारतीय इतिहासकै सबैभन्दा ठूलो फिल्म ‘बाहुबली’को मायालाग्दो नक्कल गरी बनाइएको फिल्म  हो, ‘प्रेमगीत ३’ । 

‘बाहुबली’को कथा आफैँमा मौलिक थिएन । यो फिल्मका निर्देशकले महाभारतका थुप्रै पात्र र प्रसंगलाई लिएर उच्चकोटिको सिनेमा बनाएका थिए । तर ‘प्रेमगीत ३’का निर्देशकद्वय सन्तोष सेन र छेतेन गुरुङले प्रशस्त नाटकीय मोड भएको मसालेदार कथा लिएर पनि प्रस्तुति र अभिनय सँगेल्न नसक्दा फिल्म ‘बोरिङ अफेयर’मा परिणत भएको छ । यसको कथामा नवीनता छैन, प्रस्तुतिमा चुस्तता छैन र पिरियड सेटिङमा डिटेलिङ छैन । 

फिल्म माताको भविष्यवाणीबाट सुरु हुन्छ । माताले जेठो छोरोले नभई राजगद्दी कान्छो छोराले पाउने घोषणा गरिदिन्छिन् । र माताका अनुसार यसमा बाधा हुन्छ, प्रेमको गीतप्रेम । अर्थात् फिल्मको अन्त्य दर्शकलाई पहिले नै थाहा हुन्छ । दर्शकलाई पहिले नै कथा बताइदिएर निर्देशकले फिल्मलाई ‘प्रेडिक्टेबल’ बनाएका छन् । कथामा कौतूहल नभएपछि मनाङको सुरम्य दृश्य पनि महसुस गर्न पाइन्‍न । 

यसपछि दुई घन्टा १० मिनेटसम्म चल्ने दृश्यहरू कुनै पनि पटकथाको बुनोटमा आउँदैनन् । लेखक/निर्देशकलाई चरित्रलाई जहाँ जे गराउनु छ त्यही त्यही गराउँदै जान्छन् । केही बेरसम्म एकदमै शक्तिशाली देखिने चरित्रहरू कथा अगाडि बढ्दै जाँदा जादुझैँ गायब हुन्छन् । 

फिल्ममा कटप्पा जस्तो देखिने प्रेम पुरीले निर्वाह गरेको एउटा पात्र छ । ‘बाहुबली’ हेर्नेलाई सजिलै थाहा भइहाल्छ कि यो राजाको बफादार चरित्र हो । तर जब क्लाइमेक्स नजिक आइपुग्दा फिल्ममा सारा काण्ड मच्चिन्छन् यो पात्र दरबारबाट गायब हुन्छ । यसरी नै गायब हुने समस्या निर्देशक सन्तोष सेन आफैँले निर्वाह गरेको अंगद भन्‍ने चरित्रमा पनि छ । प्रेमको सहयोगीका रुपमा देखिने अंगदको चरित्र प्रेमलाई संकट परेको समयमा आउँछ र सहयोग गर्छ । एकपल्ट त प्रेम मर्यो होला भन्‍ने समयमा आउँछ र बचाउँछ तर केही समयपछि घाइते प्रेम एक्लै लडाइँमा फर्कन्छ । गोली लागेकोले मर्यो होला भन्‍ने अनुमान त गर्न सकिन्छ तर जसरी दुवैको मित्रता देखाइएको छ विछोडमा पनि कथाले दुवैको अन्त्य खोज्छ । पर्दामा देखिने धेरै कुराले पिरियड सेटिङलाई चुनौती दिन्छन् जसमा चरित्रको नाम पनि हो । प्रेम, गीत, अंगद उस समयका नाम लाग्दैनन् तर फिल्म लिबर्टीको नाममा यस्ता कुरालाई झिनामसिनामा मान्दा हुन्छ । तर गम्भीर फिल्ममेकर यस्ता कुरादेखि पनि सचेत हुन्छन् ।

‘बाहुबली’मा झैँ लेखक/निर्देशकले ईर्ष्या, प्रेम र षड्यन्त्रको तिकडीका रुपमा कथाको डिजाइन गरेका छन् । तर प्रेमबाहेक पर्दामा ईर्ष्या र षड्यन्त्रका शृंखलाहरूमा पटकथाको ध्यान पुगेको छैन । अमनको चरित्र फिल्मको अन्त्यतिर आएर हिंस्रक हुन्छ तर त्योभन्दा अघि उसको चरित्रमा त्यस्तो कुनै संकेत पाइँदैन । न त उसमा जसरी पनि राजगद्दी पाउने लोभ देखिन्छ न त भाइप्रति ईर्ष्या । लेखक/निर्देशकले संवादबाट एकैचोटि यो कुरा बताउने प्रयास गरेका छन् तर दृश्यमा हुनुपर्ने कुरामा संवादमा हुँदा अपेक्षित प्रभाव पर्दैन ।

यसैगरी कथामा सबप्लट बनेर बेलाबखत देखापर्ने षड्यन्त्र पनि उस्तै फिक्का छ । ‘बाहुबली’मा कालाकेय समुदायको सुकुतुदुले माहिष्मतीसँग विद्रोह गरेको देखिन्छ । ‘प्रेमगीत ३’मा पनि खजाकले आफूमाथि नियन्त्रण राखेको भन्दै डमुरी राज्यका मान्छे षड्यन्त्रमा संलग्न छन् तर उनीहरूले यसो किन गर्न लागेको भनेर विस्तृतमा बताउने एउटा दृश्य जन्माउन नसक्दा षड्यन्त्रको ‘आर्क’ फितलो छ । अर्को कुरा उनीहरूको षड्यन्त्रका कारणले सिनेमा क्लाइमेक्सतिर लम्किएको पनि छैन । जे हुन्छ एउटा भाइको ईर्ष्याको कारणले हुन्छ ।

पटकथाले धेरै स्पेस दिएको प्रेमकथाको भागमा परेको दृश्यहरू रोचक नै मान्‍नुपर्छ तर यसमा पनि चरित्र र उसले गर्ने क्रियाकलापमा तालमेल छैन । शक्तिशाली राज्यको राजकुमार जस्तो मान्छे गाउँकी एउटा सामान्य केटीको घरमा नोकरझैँ काम गर्छ । न राजकुमारलाई यसको बोध छ न गाउँले केटीलाई । यस्ता दृश्यमा अभिनय गरिरहँदा प्रदीप खड्काले आफू राजकुमार भएको बिर्सिएका छन् र ‘प्रेमगीत’ र ‘प्रेमगीत २’ मा झैँ चुलबुले प्रेममा रुपान्तरण भएका छन् । यो पार्ट हेरिरहँदा दर्शकलाई ‘मैने प्यार किया’को सलमानको याद आउन पनि सक्छ ।  फिल्ममा दुवै एक अर्काविना बाँच्न नसक्ने जस्ता संवाद छन् तर तिनको निर्माण यति कमजोर छ कि न उनीहरूबीचको प्रेम महसुस हुन्छ, न विछोडले चस्स घोच्छ । 

फिल्ममा गीत बनेकी कृष्टिना गुरुङ र अमन बनेका मनीष राउतबाहेक फिल्ममा अभिनयका अनेक भोटो फटाएका सिद्धहस्त कलाकारको अभिनय छ । तर उनीहरूबीच अभिनय हैन, को बढी चिच्याउने भन्‍ने प्रतिस्पर्धा छ । छोटो भूमिकामा देखिने लक्ष्मी बर्देवादेखि कृष्टिना गुरुङसम्म पनि संवाद बोल्दैनन्, चिच्याउँछन् । अभिनयको कुरा गर्दा शिव श्रेष्ठले सबैभन्दा निराश बनाउँछन् । उनको संवाद बोल्ने तरिका र हाउभाउ यति बनावटी छ कि उनी पर्दामा आउँदा उच्चाट लाग्छ । प्रदीप खड्का तुलनात्मक रुपमा नियन्त्रणमा छन् तर कृष्टिना र मनीषको ‘डायलग डेलिभरी’ अस्वाभाविक छ । दुवैका लागि यो बिर्सन लायक डेब्यू हो । 

यो फिल्ममा केही चिजले शीतल दिन्छ भने त्यो गीत हो । एलिस कार्कीको संगीतमा प्रताप दास र प्रविशा अधिकारीको स्वर रहेको गीत ‘हर युग होस्’ फिल्मको मन बुझाउने ठाउँ हो । त्यसबाहेक राजेश श्रेष्ठको छायांकनले केही ठाउँमा मन अडाउँछ । तर उनले यही लोकेसन वरपर अरु नै फिल्मका लागि धेरै राम्रा दृश्य खिचिसकेका छन् । तिनको तुलनामा चाहिँ यो फिल्मको छायांकन पनि सामान्य हो ।

फिल्मको सेट निर्माण, डिजाइन र ड्रेस औसत छन् । ट्रान्जिसनमा आउने भीएफएक्स गरिएको दरबार जति आकर्षक छ, दरबारको इन्डोर त्यति नै कमजोर । पुराकालकी युवती चिटिक्क र सग्ला र लामा नङमा देखिनु डिटेलिङमा समस्या हो । डिटेलिङसँगै पर्दामा देखाउनुपर्ने दृश्य संवादको भरमा बुझाउन खोज्नु पनि उत्तिकै समस्या हो । खजाकले सात गाउँमाथि अत्याचार गरेको बारम्बार भनिन्छ, तर के अत्याचार गरेको ? देखिन्‍न । त्यसो त फिल्ममा सात गाउँ नै पनि देखिन्‍न । 

फिल्ममा बेलाबखत देखा परेर प्रेमसँग फाइट खेल्ने नकाबधारीको उद्देश्य पनि स्पष्ट छैन । नगदको कारोबार नै नहुने समयमा बड्याङ बड्याङ पड्किने भरुवा बन्दुक त्यो अनकन्टार ठाउँमा कसरी पुग्यो होला भन्‍ने प्रश्न पनि दिमागमा बेलाबखत आइरहन्छ । हिमाल केसीले कम्पोज गरेका द्वन्द्वका दृश्य पनि औसत छन् । फिल्ममा असंगत कुराको सूची लामै छ । तर असंगतको सूचीमा सबैभन्दा दिग्दार लाग्ने संवाद छ, बलात्कारको । सुनील थापाको मुखबाट सानी बच्चीलाई दुई दिनदेखि बलात्कार गरिरहेको संवाद बोलाइएको छ जुन फिल्मको सबैभन्दा ‘उफ !’ लाग्ने दृश्य हो । 

यो फिल्ममा केही चिज धापलायक छ भने त्यो निर्माता सन्तोष सेन र टिमको त्यो अप्ठेरो भूगोलमा फिल्म खिच्ने समर्पण हो । दर्शकलाई नयाँ चिज दिन खोज्ने उनको प्रयास पनि स्तुत्य नै मान्‍नुपर्छ तर कमजोर कथा र पटकथाको भरमा यो कुरा प्राप्त गर्न खोज्दा फिल्मकै कसीमा भने ‘प्रेमगीत ३’ कमजोर बनेको छ । योबाहेक विश्व बजारमा नेपाली फिल्मलाई लैजाने सन्तोष सेन र टिमको पुनित उद्देश्यका लागि पनि यो फिल्म स्मरणीय रहनेछ तर यत्तिको हल्लाखल्ला र धुमधडाकापछि कम्तीमा आफ्नै मौलिक कथा त्यो बजारमा लिएर जान पाएको भए, असफल नै भए पनि बेग्लै मजा आउँथ्यो । कमसेकम ‘अगले दफा खुदका कुछ लेके बलिउड आना’ त सुन्‍न पर्दैनथ्यो । 

फिल्म : प्रेमगीत ३
लेखक : छेतन गुरुङ/ मन्दिप गौतम
निर्देशक : सन्तोष सेन/ छेतन गुरुङ
निर्माता : सन्तोष सेन
छायांकन : राजेश श्रेष्ठ
कलाकार : शिव श्रेष्ठ, सुनिल थापा, प्रदीप खड्का, मनिष राउत, कृष्टिना गुरुङ आदि । 


Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार
ad
x