आमचुनाव २०७९

स्याङ्जा-२ मा त्रिपक्षीय भिडन्त

पद्‌मा अर्याल र धनराज गुरुङलाई स्वतन्त्रका टिकराज चुनौती

कमल विष्ट |
मंसिर १, २०७९ बिहीबार ६:३९ बजे

आगामी मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा धेरैले चासोका साथ हेरेको क्षेत्रमध्ये एक हो– स्याङ्जा–२ । यो क्षेत्रमा सत्तारुढ गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारबीच त्रिपक्षीय भिडन्त हुँदैछ । 

सुरुमा यस क्षेत्रमा कांग्रेसका उपसभापति धनराज गुरुङ र एमालेकी सचिव पद्मा अर्यालबीच नै प्रतिस्पर्धा हुन्छ भन्ने अनुमान गरिएको थियो । तर, बिस्तारै स्वतन्त्र पार्टीका टिकराज गुरुङको चर्चा चुलिँदै जानथालेपछि अहिले त्यो अनुमान दिनप्रतिदिन गलत सावित हुँदै गइरहेको छ । टिकराजलाई पनि मुख्य प्रतिस्पर्धीका रूपमा हेर्न थालिएको छ ।


टिकराज पनि आफ्नो जित सुनिश्चित भएको दाबी गर्छन् । घरदैलोका क्रममा आफूले स्याङ्जालीबाट सकारात्मक प्रतिक्रिया पाइरहेको बताउँछन् । यतिमात्र होइन, आफूलाई नागरिकले विकल्पका रूपमा समेत हेर्नथालेको उनले बताए। ‘उहाँहरू मलाई भन्नुहुन्छ– हामीहरू पुराना दल र नेताहरूबाट वाक्क–दिक्क भइसक्यौँ । हामी परिवर्तनको पक्षमा थियौँ । उपयुक्त विकल्प पर्खिरहेका थियौँ । तपाईं आउनुभयो, तपाईं हामीले खोजेकै विकल्प हो । हामी यसपालि घन्टीलाई नै भोट दिन्छौँ, तपाईं ढुक्क हुनुस् ! ’

चुनावका बेलामात्र हात जोडेर भोट माग्न आउने नेतालाई यसपालि नागरिकले नपत्याउने उनको भनाइ छ । पुराना प्रतिनिधिका चिल्लाचिल्ला र मनगढन्ते कुरा सुन्दासुन्दा नागरिकहरू अघाइसकेको उनको मूल्यांकन छ । 

आफू सांसदमा निर्वाचित भएको खण्डमा सुरुमा नागरिकका आधारभूत आवश्यकता पूरा गर्न पहल गर्ने उनले बताए । आफूले कहिल्यै नागरिकलाई ठूल्ठूला सपना नबाँड्ने उनको भनाइ छ । आफूले सक्ने र सक्नैपर्ने कुरामात्र नागरिकसँग गरिरहेको उनी बताउँछन् ।

नागरिकका आधारभूत आवश्यकता गाँस, बास, कपास, शिक्षा, स्वास्थ्यलगायत मेरो पहिलो प्राथमिकता हो,’ उनले आफ्नो अजेन्डा सुनाए, ‘त्यसपछि विकास निर्माण, रोजगारी सिर्जना, कलकारखाना स्थापना आदिका लागि काम गर्नेछु ।’

५३ वर्षीय टिकराज पेसाले शिक्षक हुन् । ३४ वर्षदेखि यस क्षेत्रमा आवद्ध थिए । चुनाव लड्ने भएपछि उनले राजीनामा दिएका हुन् । गैरराजनीतिक पृष्ठभूमिबाट राजनीतिमा होमिएका उनी स्याङ्जा घन्टीमय भइसकेको दाबी गर्छन् । टिकराज सत्तागठबन्धनका साझा उम्मेदवार कांग्रेस नेता गुरुङ र एमाले नेतृ अर्यालका लागि चुनौती बनेका छन् ।

कांग्रेसबाट दुईपल्ट समानुपातिक सांसद बनिसकेका गुरुङ पहिलोपटक प्रत्यक्ष निर्वाचन लडिरहेका छन् । उनी २०६४ र ०७० को चुनावमा कांग्रेसबाट समानुपातिक सांस् बनेका थिए । उनी यसपालि टिकराज र अर्याललाई रोकेर संसद् छिर्ने दाउमा छन् । 

यता एमालेकी अर्याल दोस्रोपल्ट चुनावी मैदानमा होमिएकी छन् । उनी अघिल्लो ७४ को निर्वाचनमा यसै क्षेत्रबाट वाम गठबन्धनको बलमा सांसद चुनिएकी थिइन् । त्यतिबेला उनले कांग्रेसका गोपालमान श्रेष्ठलाई पराजित हराएकी थिइन् । उनले ३५ हजार १ सय ४२ मत ल्याउँदा कांग्रेसका श्रेष्ठले ३१ हजार ४ सय ३६ मत ल्याएका थिए । पूर्वभूमि सुधार मन्त्रीसमेत रहेकी अर्याल यसपालि पनि जितेर सांसद्मा दोहोरिने दौडमा छिन् । 

अर्याल पनि आफ्नो जित सुनिश्चित भएको जिकिर गर्छिन् । आफ्नो जितको सबैभन्दा बलियो आधार जनताको साथ भएको उनी बताउँछिन् । गठबन्धनलाई जित्न गाह्रो नहुने उनको दाबी छ । ‘गठबन्धनका जतिसुकै टाउका भए पनि अन्तिममा जित्ने मैले नै हो,’ उनले भनिन्, ‘मेरो जित्ने आधार जनता हुन् । जनताले मलाई रोज्छन् ।’

तर, मतदाताहरू त तपाईंसँग रुष्ट छन् नि ? 

हाम्रो प्रश्नको जवाफमा उनले भनिन्, ‘तपाईंले त्यहाँ बसेर भन्ने होइन, स्याङ्जा आएर हेर्नुस् ।’

उनले मुख्य प्रतिस्पर्धी गुरुङलाई मानेकी छन् । 

यस्तो छ स्थानीय निर्वाचनको मतपरिणाम 
अर्यालले भने जस्तो अन्तिम प्रतिस्पर्धा कांग्रेस र एमालेबीच भएको खण्डमा उनलाई जित्न सहज देखिँदैन । यही वैशाख ३१ मा सम्पन्न स्थानीय तह निर्वाचनको परिणामलाई हेर्दा कांग्रेस एमालेभन्दा अगाडि देखिन्छ । गठबन्धनको मत नजोड्दा नै कांग्रेसको मत एमालेको भन्दा बढी छ । यसलाई विस्तृत रुपमा हेरौँ ।

स्याङ्जाका ११ पालिकामध्ये पाँच पालिका दुई नम्बर क्षेत्रमा पर्छन् । कांग्रेसले तीन पालिकाको प्रमुख र चारको उप्रमुख जितेको छ भने एमालेले दुईको प्रमुख र एकको उपप्रमुख जितेको छ । 

वडागत मतमा पनि कांग्रेस नै अगाडि छ । चापाकोट नगरपालिका, गल्याङ नगरपालिका, कालीगण्डकीका सबै वडा, वालिङ नगरपालिकाका १, २, ५, ६, ७, ८, १०, ११, १२, १३ र १४ र भीरकोट नगरपालिकाका ५, ६, ७, ८ र ९ गरी यस क्षेत्रमा कुल ४५ वडा छन् । तीमध्ये ४५ वडामध्ये कांग्रेसले २५ वडा जितेको छ भने एमालेले २० वडा जितेको छ । 

४५ वटै वडाबाट कांग्रेसका वडाध्यक्षहरूले ३६ हजार ८ सय ६ मत पाएका छन् भने एमालेका वडाध्यक्षहरूले ३४ हजार ५३ मत पाएका छन् । त्यस्तै, नेकपा माओवादी केन्द्रले १ हजार ४ सय ४७, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ सय ११, नेकपा एकीकृत समाजवादीले २ सय ३३ मत पाएका छन् । 

माथिको मतपरिणामले कांग्रेस एक्लै एमालेभन्दा बलियो छ भन्ने देखाउँछ । गठबन्धनका अन्य घटकहरूबाट पाउने सहयोगले गुरुङलाई जित्न अझ सहज हुनेछ । 
मतपरिणामले गुरुङलाई सहज देखाए पनि अर्याललाई कम आँक्न मिल्दैन । यता यी दुवैलाई चुनौती दिन स्वतन्त्रका टिकराज दरिलो गरी खडा भएका छन् । स्याङ्जा दुईमा कसले जित्छ भनेर थाहा पाउन मंसिर ४ पर्खनैपर्छ ।
 


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x