ब्लग

चाइना जर्नल

बीस-बीसले ल्याएको सन्त्रास

अजय अलौकिक |
पुस १६, २०७७ बिहीबार १४:१८ बजे

सन् २०२० लाई मानव इतिहासमा महाव्याधिको वर्षको रूपमा सम्झना गरिने छ । विश्वभरि हालसम्म यो कोरोना भाइरस (कोभिड-१९) बाट सङ्क्रमित हुनेको संख्या ८ करोड १३ लाख नाघिसकेको छ । मानव आँखाबाट प्रत्यक्ष देख्न नसकिने यो अदृश्य राक्षसबाट मृत्यु हुनेको संख्या पनि १७ लाख बढी पुगिसकेको छ । अहिले फेरि यसको नयाँ रूप देखिएको भनिँदै छ । यो हिसाबले यस कोभिड-१९ को कहरको अन्त्य अझै देखिँदैन । विश्वभरिका मानिसमा यसविरूद्धको प्रभावकारी खोप नपाएसम्म भय रहने नै देखिन्छ । सन् २०२० ले एउटा अदृश्य र भयंकर भय बोकेर आएको थियो । हुन त त्यो सन्त्रास अझै पनि छ तर सुरूका दिनमा मनभित्र गजबको सुनामी चलेको थियो ।

०००


सन् २०२० को जनवरी २५ तारिखबाट चिनियाँहरूको नयाँ वर्ष आरम्भ हुँदै थियो । यूनिभर्सिटी तथा स्कुलहरू बन्द भइसकेका थिए । आमचिनियाँहरू आफ्नो परम्परागत नयाँ वर्ष र वसन्त चाड मनाउने जोरजाममा थिए, कतिपय त आफ्नो मूल घर फर्किसकेका पनि थिए । त्यसै गरी धेरै चिनियाँहरूले देश भित्र तथा बाहिर पर्यटनका लागि तयारी गरिसकेका थिए, केही देश बाहिर भ्रमणमा निस्किसकेका पनि थिए । यसैको तामाझाममा नै थिए, सायद सबै ।

पछिल्लो समय चिनियाँहरूले नयाँ वर्षको दिन पारिवारिक मिलन र भेटघाटपछि विशेषत देशभित्र र बाहिर पर्यटन गर्ने चलन ह्वात्तै बढेको छ । हामी (तीन जनाको परिवार) पनि चिनियाँको सिको गर्दै र छोरीलाई असाध्यै मनपर्ने बिटिएस समूहको मुलुक, केपपको राजधानी र आमनेपालीबाट रेमिट्यान्स भित्रिने मुलुकमध्येको एक दक्षिण कोरियाको पर्यटनको तयारीमा थियौँ ।

सबै कुरा योजनाबद्ध रूपमा चलिरहेकै थियो, पृथ्वी आफ्नो कक्षमा रहेर सूर्यको परिक्रमा गरिरहेकै थियो । तर अचानक जनवरी २३ तारिख मलाई मेरो अफिस (चिनियाँ अन्तरराष्ट्रिय रेडियो) मा चिनियाँ सहकर्मी कूछनसी (नेपाली नाम राधिका)ले बाहिर जाँदा मास्क लगाउनुस् भन्दै केही मास्क थमाइदिइन् । म आश्चर्यित भएँ ।

मलाई सम्झना छ, चिसो सिरेटोसँगै आकाश नीलो नै थियो, त्यो दिन । मास्क हातमा थमाउँदै गर्दा झ्यालतिर पनि हेरेँको थिएँ । मोबाइलमा पनि आगामी दिनमा वायु प्रदूषणको कुनै सङ्केत र चेतावनी दिइएको थिएन । त्यही पल नै हो, मैले पहिलो पल्ट यो रोगको बारेमा केही सुनेको । ऊहानबाट बेइजिङ आएका केही व्यक्तिमा सरूवा रोग देखिएको छ, अलि सतर्क रहनु होला, यसै भनेकी थिइन् । साथै भोलि २४ तारिखदेखि वसन्त चाडको लामो विदा थियो र छूनच्ये ख्वाइल (वसन्त चाडको शुभकामना) भनी शुभकामना साटासाट पनि गर्यौं ।

त्यो दिन, त्यो साँझ सतर्कता अपनाउनु भनिए तापनि हामीले बजार जाँदा मास्क लगाउनुपर्छ भन्नेबाहेक बढी सोचेनौं । अफिसपछि साँझमा सदा झैं हामी दुई बुढाबुढी टहल्न पार्कतिर लाग्यौं । बाटोमा मास्क लगाएका बटुवाहरू फाटफुट देखिएका थिए । पार्कमा कम थिए मानिस तर सबैले मुख छोपेको नै पाइएको थियो । त्यो दृश्यले मनलाई एक पटक सोच्न बाध्य नबनाएको पनि होइन । तर वसन्त चाडको तामझामका कारण मानिस थोरै देखिएको भन्दै हामी पार्कको फन्को मारेर फर्केका थियौं ।

यो रोग के हो ? घर फर्केपछि यस निमोनियाजस्तै रोग र ऊहानबारे समाचारहरू पढ्न थालें । जनवरी २३ तारिख बिहान ११ बजेसम्म बेइजिङमा १४ जना र चीनभरि विभिन्न प्रान्त, शहर र क्षेत्रमा फैलिँदै ५७१ जना बिरामी र १७ जनाको मृत्यु समेत भइसकेको थियो । साथै थाइल्याण्डमा ४ र दक्षिण कोरिया, अमेरिका र जापानमा पनि १/१ जना सङ्‍क्रमित भेटिएका रहेछन् ।

एक करोडभन्दा बढी जनसंख्या भएको ऊहानलाई २३ जनवरी बिहिबार बिहान दश बजेदेखि नै स्थानीय सरकारले शहरको सार्वजनिक यातायातका साथै विमानस्थल र रेलवे स्टेशन समेत पूर्ण रूपमा बन्द गरी शहरलाई लकडाउन गरिसकेको थियो । २२ तारिख नै ऊहानवासीलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन तथा सार्वजनिक स्थानहरू तथा सार्वजनिक यातायातमा अनिवार्य रूपमा मास्क लगाउन उर्दी जारी गरिसकेको थियो ।

अनलाइनमा यी समाचारहरू पढ्दैजाँदा बिस्तारै मनमा डरले डेरा जमाउँदै गइरहेको थियो । तातो हाँडीभित्र मकै उफ्रिएजसो भएको थियो । हुपै प्रान्तको सदरमुकाम शहर ऊहानमा डिसम्बर ३१ मा पहिलो पल्ट यस भाइरस सङ्क्रमित भेट्टाइएको थियो । यस भाइरसको प्रकृति कोरोनाभाइरस जस्तै देखिएकोले नयाँ कोरोनाभाइरस भनिएको रहेछ । विश्व स्वास्थ्य संगठनले फेब्रअरीमा यस रोगलाई कोरोनाभाइरस रोग २०१९ (कोभिड-१९) नामाकरण गरेको हो।

त्यस बेला, यो एक किसिमको निमोनिया र सार्स जति प्राणघातक नभएको तर समयमै उपचार हुन नसके मृत्युसम्म हुने विज्ञको भनाइ थियो । साथै ३० जना सङ्‍क्रमितको उपचारपश्चात् निको समेत भइसकेको थियो । भाइरस हन्टरहरूले यो भाइरस सर्प, चमेरोको कारण मानिसमा सरेको अनुमान गरेका रहेछन्‍ ।

यस रोगका लक्षणहरू घाँटी सुख्खा भइ खसखस हुने, सांस फेर्न गाह्रो हुने र ज्वरो बढ्ने हुन् । (पछि उक्त रोगको लक्षण १ देखि १४ दिनभित्र देखिने बताइयो, कसैकसैमा २१ दिनमा पनि देखियो र कतिपयमा यस भाइरस रहेर पनि असर नगर्ने तर त्यस्ता साइलेन्ट क्यारियरबाट रोग प्रतिक्षमता कमजोर भएकाहरूलाई सङ्क्रमित पार्ने खतरनाक विशेषता पनि रहेछ । सङ्क्रमणको विस्तार दर मात्रै होइन यो विशेषताले पनि यसलाई निमिट्यान्न पार्न मुश्किल भएको छ ।)

मोबाइलमा विभिन्न सञ्चार संस्थाका चिनियाँ, अङ्ग्रेजी नोटिफिकेशन्सप्रति पनि ध्यान दिन थालें । टिभी पनि खुलै राखेँ । यसै भाइरससम्बन्धि समाचारले नै व्यापकता पाएको थियो । यसै बीच नेपाली दूतावासले पनि विच्याटमार्फत् चीनमा रहेका सम्पूर्ण नेपालीहरूलाई सावधानी अपनाउन आग्रह गर्दै सूचना जारी गर्‍यो ।

चीन सरकारले पनि भाइरसको तीव्र सङ्क्रमणको प्रबल सम्भावनाका कारण समस्त देशवासीलाई वसन्त चाडको अवसरमा भिडभाडबाट टाढा रहन र सकेसम्म यात्रा नगर्न सूचना जारी गर्यो । लगत्तै विश्व प्रसिद्ध फरबिडन सिटी, बेइजिङ चिडियाखाना, ग्रेटवाललगायत विविध सङ्ग्रहालय र पर्यटकीय स्थलहरूका साथै हरेक वर्ष आयोजना हुने टेम्पल फेयर नहुने सूचना जारी गरियो । (अघिल्लो वर्ष बेइजिङका यस्ता पार्क, सङ्ग्रहालय र विविध पर्यटकीय स्थलहरूले सात दिनको विदामा २३ लाख भन्दा बढी पर्यटकहरू भित्रिएका थिए ।)

सात दिन वसन्त चाडको विदा थियो । तर मनमा चैन थिएन । यो रोग ऊहान र हुपै हुँदै फैलिँदै गएको भान हुन थाल्यो । यी समाचार तथा लेखहरू पढ्दापढ्दै धेरै पटक सांस फेर्न गाह्रो भएको अनुभूति पनि भयो । मन सशंकित हुँदै गइरहेको थियो । केही दिनअघि मात्रै हामी चीन र राजधानी शहर बेइजिङ विश्वमा नै सबैभन्दा सुरक्षित भनेर गफ्फिएका थियौं । सन् २०३० सम्ममा चीनले अकल्पनीय प्रगति गरिसक्ने कक्षा आठमा पढिरहेकी छोरीले बताएकी पनि थिइन् ।

रात छिपिँदै थियो, हामी सबैको अनुहारमा डर लुकेको थियो । जनवरी २३ तारिख रातिसम्म बेइजिङमा ३४ जना गरी चीनभरि ८३० जना सङ्‍क्रमित र २५ सङ्‍क्रमितको मृत्यु भइसकेको थियो । ‘साह्रो टेन्शन पो भयो, मलाई ।’ मनमा अनेकन् कुरा खेलिरहेको बेला श्रीमतीले भनिन् । ‘हामी विदेशीदेखि सबैलाई सुरक्षित भनेको यो ठाउँमा के आइलाग्यो । ठ्याक्कै नयाँ वर्ष पारेर, कतै यो चाल त होइन, चीनको प्रगतिमा आँखा गाड्नेहरूको ?’ खोइ के हो? के हो? उत्तरबिहिन र सशंकित धेरै भएका थियौं । (हाल यो भाइरस मानव सिर्जित नभएको तथा यसको स्रोत ऊहान नभएको विभिन्न वैज्ञानिक संस्थाहरूको अनुसन्धानले पुष्टी गरिसकेको छ।)

जनवरी २३ बिहिबारको साँझसम्म त पार्कमा टहलेका थियौं तर शुक्रबार (घडीले २४ तारिख देखाइसकेको थियो) देखि बाहिर जान हुने कि नहुने अन्योलमा थियौं । हुन त हामीले वसन्त चाड नजिकिएसँगै हप्ता दिनका लागि खाद्य सामग्रीको जोहो केही दिन अगाडि नै गरिसकेका थियौं । अब के त बाहिर जान नहुने? के हावामा पनि भाइरस हुन्छ? सार्सको भाइरसजस्तै स्टिल, फलाम, प्लास्टिकलगायतका विविध सामानहरूमा कति दिनसम्म रहने हो? यस्तै यस्तै प्रश्नहरू तेर्सिरह्यो । यस्तै यस्तै सपनामा पनि बरबराइयो ।

बिहिबारको दिन मनमा डरको आँधी चलेको थियो भने शुक्रबार त्यसपछिको शुन्यता । ऊहानबाट झण्डै १२०० किलोमिटर टाढाको बेइजिङमा केही हुने छैन भन्दै ढाडस दिँदै थियो, मन ।

चिनियाँ नववर्षको पूर्वसन्ध्याको दिननै ऊहानमा दश दिनमा हजार शैय्याको अस्पताल सञ्चालनमा आउने गरी कार्य आरम्भ भएको थियो । ऊहानसँगै आमचिनियाँले मुसा वर्ष खुशीपूर्वक मनाउन सकेनन् । भाइरस आतंकले वसन्त चाड र नयाँ वर्ष खल्लो र निरश बन्नपुग्यो । (उहानपछि हुपै प्रान्त र चीनका विभिन्न शहर तथा प्रान्तसँगसँगै बेइजिङले पनि शनिबार २५ तारिख सार्वजनिक स्वास्थ्यका लागि पहिलो स्तरको सङ्कटकाल घोषणा गरेको थियो । जनवरी ३० तारिख, विश्व स्वास्थ्य संगठनले चीनबाहेक अन्य १८ मुलुकमा पनि कोरोना भाइरस फैलिएपछि "विश्वव्यापी स्वास्थ्य सङ्कटकाल" घोषणा गर्यो ।)

आज चीनले यस भाइरसमाथि जित हासिल गरिसकेको छ । भाइरसको केन्द्रबिन्दु मानिएको ऊहान पनि अप्रिल ८ बाट पूर्वस्थिति रूपमा फर्किसकेको छ । पछिल्लो तथ्याङ्क अनुसार, चीनमा ८७ हजार सङ्क्रमितमा ८२ हजार बढीको सफल उपचार र ४६ सय ३४को मृत्यु भएको छ ।

विश्वभरि महामारीको रूपमा फैलिएको यस भाइरसमाथि चीनले सहजै विजय पाएको होइन । एक अर्ब चालिस करोड चिनियाँ जनताको साथ र नेतृत्ववर्गको दूरदर्शिताले सम्भव भएको हो । चिनियाँले २०२० मा आफ्नो परम्परागत नयाँ वर्ष मनाउन पाएनन् । आशा गरौं, यस पटक भने बिना सन्त्रास खुशीका साथ मनाउन पाउने छन् । तापनि सचेत र सतर्क रहन आग्रह गर्दै चीनले यस पटकको चाड र विदामा पनि भिडभाड नगर्न तथा बाह्य भ्रमण नगर्न आग्रह गरेको छ ।

सन् २०२१ मा सम्पूर्ण विश्वले प्रभावकारी खोप रूपी अस्त्र होस् या अरू कुनै उपायबाट यस कोभिड-१९ माथि जित हासिल गर्न सकुन्, यही छ शुभकामना !


Author

थप समाचार
x